नौबिसे नागढुङ्गा सडक मर्मत रोकियो

497 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 नागढुङ्गा- निर्माण सामग्री आयातमा समस्या भएको भन्दै नौबिसे नागढुङ्गा सडक मर्मतको काम स्थगित भएको छ ।

विगत लामो समयदेखि सो सडकखण्डको मर्मत सुरु भएको भए पनि ठेकेदारको लापरबाहीका कारण समयमै काम सम्पन्न हुन नसकिरहेको सन्दर्भमा पछिल्लो पटक निर्माण सामग्रीको अभावमा मर्मतको काम रोकिएको हो ।

सो सडकखण्डको धेरैजसो स्थानमा ढलान गर्नुपर्ने भए पनि पछिल्लो दिनमा सरकारले रोडा गिट्टी, ढुङ्गा आयातमा कडाइ गरेपछि सडक मर्मतमा समस्या भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पटक–पटक अनुगमन गरी समयमै मर्मतको काम सम्पन्न गर्न निर्देशन दिए पनि काम पूरा हुन सकेको छैन ।

सो सडकखण्डको याक घर खण्डमा सबैभन्दा बढी समस्या रहेको छ । सो स्थानमा करिब ७०० मिटर सडकखण्डमा ढलान गर्नुपर्नेछ ।

यस्तै झ्याप्लेखोलामा २७० मिटर ढलान गर्नुपर्नेमा हालसम्म काम आरम्भ भएको छैन । सिस्नेखोलामा करिब सय ढलान गर्नुपर्नेछ ।

सो स्थानमा छेउपट्टि ढलान सकिएकाले भित्तापट्टि ढलान गर्नुपर्ने भए पनि निर्माण सामग्रीको अभावमा काम अगाडि बढ्न सकेको छैन । सो  स्थानमा पर्याप्त डाइभर्सन भएकाले ढलान गर्दा जाम नहुने देखिन्छ तर सोही स्थानमा ढलान गरिएको छैन ।

यस्तै खत्रीपौवा खोलामा करिब सय मिटर ढलान गर्नुपर्ने भए पनि सो स्थानमा काम अगाडि बढ्न नसक्दा धुलोले सवारीसाधन चलाउन समस्या भएको छ । सो स्थानमा दमकबाट बेलीब्रिज ल्याई जडान गरिएको भए पनि अरू काम अगाडि बढ्न सकेको छैन ।

सो आयोजनालाई नजिकबाट अनुगमन गरिरहनुभएका डिभिजन इन्जिनियर हरिप्रसाद पोखरेलले निर्माण सामग्रीको अभावमा ढलानको काम प्रभावित भएको जानकारी दिए ।

सो सडकखण्डअन्तर्गत एक हजार ५०० मिटर सडक मर्मतको क्रममा रहेको छ । निर्माण सामग्रीको अभाव हुन नदिन पहल गरिरहेको जानकारी दिँदै उनले  मर्मतको काम अगाडि बढ्ने विश्वास दिलाए ।

सरकारले सो सडकखण्ड मर्मतको काम वर्षा सुरु हुनुलगत्तै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । तर निर्माण सामग्रीको अभाव देखाएर मर्मतको काम रोकियो भने तोकिएको लक्ष्यभित्र पनि मर्मत सम्पन्न नहुने देखिएको छ सेतोपाटी डट कमले खबर लेखेको छ ।