प्रवासी नेपाली साहित्य पुरस्कार ‘बगर’ लाईः याङ्मालीलाई सम्मान र परदेशीलाई प्रशंसा

666 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं । नेपाली साहित्यको संरक्षण, संबर्द्धन र विकास गर्न क्रियाशील प्रवासी नेपाली साहित्य समाज, वेलयात/बु्रनाईंले वर्षेनी प्रदान गर्दै आएको यस वर्षको प्रवासी नेपाली साहित्य पुरस्कार राजकुमार ‘बगर’, सम्मान कुलबहादुर राई ‘याङ्माली’ र प्रशंसा सुरेन्द्र ‘परदेशी’लाई काठमाडौंमा एक कार्यक्रमबीच प्रदान गरेको छ ।
Bairagi Kainal Distributing Prize to Raj Kumar Bagarप्रवासी नेपाली साहित्य समाज, वेलायत/ब्रुनाईका उपाध्यक्ष मिलन चाम्सको अध्यक्षतामा आयोजित सो पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले पुरस्कृत, सम्मानित र प्रशंसित व्यक्तित्वहरुलाई नगद पुरस्कार तथा प्रमाण–पत्र, सम्मान–पत्र र प्रशंसा–पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष सागर श्रेष्ठले मन्तव्य राख्दै महासंघको एक सदस्य संस्था प्रवासी नेपाली साहित्य समाज, वेलायत/ब्रनाईले दिएको सो पुरस्कार तथा गरेको सम्मान सिङ्गो विश्व नेपाली साहित्य महासंघले गरे बराबर नै भएको बताए ।
अर्का अतिथि इण्डिजिनश फिल्म अर्काइभका सन्जोग लाफा मगरले राष्ट्रले गर्नुपर्ने यस्तो कार्य प्रवासमा रहेका प्रवासी नेपाली साहित्य समाजले गर्नु प्रशंसनीय कार्य भएको बताए । यस वर्षको प्रवासी नेपाली साहित्य पुरस्कार पाउने गीत–सङ्गीतकार तथा साहित्यकार राजकुमार ‘बगर’ ले कार्यत्रममा बोल्दै आफूलाई स्वदेश राष्ट्रकै नभई प्रवासमा क्रियाशील साहित्य समाजले देखेर–सम्झेर पुरस्कृत गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो थप जिम्मेवारी र दायित्व बढेको बताए ।
यसैगरी, सम्मानित व्यक्तित्व कुलबहादुर ‘याङ्माली’ राईले आफ्नो जीवनको पनि किनारामा पुगिरहेको बेलाको गोंधुलीमा यसरी सूर्यको किरण पर्छ भनेर आसा नगरेको बताए । यसरी अनायास प्रवासी नेपाली साहित्य समाजले सम्झेर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सम्मान गर्ने संस्थाप्रति हार्दिक आभार व्यक्त गरे । उनले यसरी ओझेल परिरहेका साहित्यकारहरुको खोजी–पहिचान गरेर सम्मान गर्नु महान कार्य भएको समेत धारणा राखे ।
प्रवासी नेपाली साहित्य समाजद्वारा प्रशंसा–पत्रले प्रशंसित साहित्यकार सुरेन्द्र परदेशीको अनुपस्थितिमा वहाँको प्रतिनिनिध्व गर्ने बहिनी एन्जेल लिम्बूले परदेशीलाई सम्मान गरेकोमा वहाँको तर्फबाट आभार प्रकट गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले अहिलेको विश्व परिवेशमा विभिन्न परिस्थितिले आफ्नो मातृभूमिबाट पराई मुलुकमा गएर रहँदा बौद्धिक र साँस्कृतिक चेतनामा भिन्नता आउँदै जाने र सोही भिन्न चेतनाले नै यस्तो समाज तथा साहित्य सेवाको कर्म गर्न प्रेरित गर्ने बताउनु भयो । वहाँले प्रवासमा क्रियाशील प्रवासी नेपाली समाज, बेलायत/बु्रनाईले गरेको कार्यको प्रशंसा गर्दै पुरस्कृत, सम्मानित र प्रशंसित सबै व्यक्तित्वहरुलाई हार्दिक बधाइ दिनुभयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा प्रवासी नेपाली साहित्य समाजका उपाध्यक्ष मिलन चाम्सले मुलुक भित्र र बाहिर रहेर यसरी आफ्नो मुलुक, समाज र समुदायको हितमा विभिन्न कलाकर्म र साहित्य सिर्जना गर्ने
व्यक्तित्वहरुलाई राष्ट्रले समेत सम्मान गर्नुपर्ने बताए ।