लाख खर्च गर्दा पनि भेटिएनन् ईश्वर

474 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, १२,जेठ – आफन्तले काममा लगाइदिने भनेर काठमाडौं लगेको चार दिनपछि हराएका एक किशोर डेढ बर्षसम्म पनि फेला परेका छैनन् । उनको खोजीमा धाउँदैमा ७९ बर्षका वाबु समेत थलिन पुगेका छन् ।

बैरेनी गाविस ९ सिम्लेगाउँका १९ बर्षका ईश्वर अधिकारी २०६९ पुस १५ गते भतिजी नाता पर्ने लक्ष्मी अधिकारीको साथमा काठमाडौंको नरदेवी पुगेका थिए । नरदेवी नजिकै भतिजा भतिजीहरुसँगै बसेका ईश्वर नरदेवी चोक जाने क्रममा २०६९ पुस १८ गते एकाएक हराएको भनी आफुलाई खबर दिइएको ईश्वरका बाबु केदारनाथ अधिकारीले बताउनुभयो ।

डेराबाट वाहिर निस्किएको दिनभरी कोठामा नफर्किएपछि ईश्वरका दाजु नारायणले पुस १९ गते महानगरीय प्रहरी परिसर हनुमान ढोकामा खोजतलास गरिपाउँ भनी निवेदन दिनुभयो । प्रहरीले विभिन्न प्रहरी इकाइहरुमा पत्राचार गरी खोजतलासका लागि पहल गरेको बताएपनि अहिलेसम्म भाइ नभेटिएको नारायणले बताउनुभयो ।

सुस्त मनस्थितिका ईश्वरलाई आफन्तले काठमाडौं गएपछि पैसा कमाउन सकिन्छ भनेर फकाएर लगेको र दुई दिनसम्म नरदेवीको एक चियापसलमा काममा लगाएको दाजु नारायणको भनाई छ ।

ईश्वरको खोजीका लागि वाबु केदारनाथ र दाजु नारायणले काठमाडौंका गल्लिदेखि देशका विभिन्न शहर र जिल्ला सदरमुकामहरुमा पुगेर खोजी गर्दै आइरहेका छन् । ईश्वरको खोजीका लागि डेढ लाख भन्दा बढी खर्च गरिसकेको अधिकारी परिवारले बताएको छ । काम लगाइदिन भनेर घरबाट भगाएर लैजानेहरुले भने खोजीका लागि कुनै चासो नदेखाएको केदारनाथ बताउनुहुन्छ ।

बुढेसकालमा आफुले छोरालाई भेट्न नसकेको भन्दै केदारनाथले छोराको खोजीका लागि सहयोगको याचना गर्नुभएको छ । ईश्वरलाई घरबाट फकाएर काठमाडौं पु¥याउने मध्येका एक लक्ष्मीले ईश्वर हराउनुमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । आफुहरुले घरबाट ल्याएपछि मिठाई पसलमा काममा लगाइदिएको र दुई दिनसम्म होटलबाट डेरामा आवत जावत गरेपनि तेश्रो दिन हराएको उहाँले बताउनुभयो ।