सामाजिक संघसंस्थामा भएको राजनीतिप्रति धादिङवासी चिन्तत

754 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हरि पन्त
पोखरा २४ जेठ ।
सामाजिक संघ–संस्थामा राजनीतिक विचारले प्रवेश पाउँदा समस्या निम्तिने गरेको भन्दै पोखरामा रहेका धादिङवासीहरुले चिन्ता व्यक्त गरेका छन् । धादिङ–पोखरा सम्पर्क समिति आगिन्चोक इकाइले शनिबार पोखरामा आयोजना गरेको धादिङ–पोखरा सम्पर्क समितिका लागि धादिङवासीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक संघ–संस्थाभित्र राजनीतिक आस्थाले प्रवेश पाउन नहुनेमा जोड दिएका थिए । नेपालको हरेक क्षेत्रमा राजनीतिकरण हुँदै गएको र यसबाट धादिङ पोखरा सम्पर्क समिति र धादिङ सहयोग संस्था अछुतो नरेहको भन्दै वक्ताहरूले समितिमा रहेका गाविस इकाइहरु पनि राजनीतिबाट प्रभावित हुने हो कि भन्ने आशंका व्यक्त गरेका थिए ।
कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समितिको विगत, वर्तमान र भविष्य विषयक कार्यपत्र प्रस्तुत गर्दै केदार धमलाले सामाजिक क्षेत्रमा सक्रिय हुने सामाजिक कार्यकर्ताहरु राजनीतिक दलका कार्यकर्ता बन्दा समस्या निम्तिएको भन्दै सामाजिक चिन्तनका लागि सबैले बिहान उठ्ने र बेलुका सुत्ने बेलामा सोच्नुपर्नेमा जोड दिए । उनले भने–‘सामाजिक कार्यकर्ताहरु राजनीतिक दलका कार्यकर्ता बनेर हिंड्नुले सम्पर्क समितिप्रति नकारात्मक भावना पैदा हुँदै गएको छ । जसका कारण समितिको आर्थिक स्थिति, सांगठनिक स्थिति एवं वैचारिक अवस्था पछाडि परेको अवस्था छ ।’
धादिङ र पोखरामा धादिङवासी विषयक कार्यपत्र प्रस्तुत गर्दै हरि पन्तले धादिङवासीका वौद्धिक र सामाजिक चेतनाको स्तर निकै कम रहेको बताए । पोखरामा धादिङवासीका लागि चुनौती नै चुनौती रहेको र सो चुनौती सामना गर्नेक्रममा विविध समस्या निम्तिने गरेको भन्दै उनले सबै धादिङवासी एक हुन सके धादिङको गरिमा उच्च रहने बताए । उनले भने–‘पोखराले सामाजिक क्षेत्रमा धादिङवासीलाई हेर्ने दृष्टिकोण फरक छ तर पनि धादिङवासीको सोचाइ सधैं साँगुरो रहेको अवस्था छ । यस सोचाइलाई धादिङवासीले त्याग्न सके धादिङ समेत संवृद्ध हुन सक्छ ।’
कार्यक्रमको उद्घाटन गर्दै धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष बलराम खतिवडाले धादिङवासीलाई परेको समस्यामा लाग्दा–लाग्दै नयाँ–नयाँ योजनाका साथ अघि बढ्न नसकेको स्पष्ट पारे । समाजिक क्षेत्रमा हुने राजनीतिले सामाजिक क्षेत्रलाई नै नकारात्मकतर्फ लगेको आरोप लगाउँदै उनले सामाजिक क्षेत्रमा बसेर राजनीति नगर्न आग्रह गरे । अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपालका संस्थापक अध्यक्ष एवं समितिका सल्लाहकार परिषद् संयोजक रुद्रप्रसाद खनालले विगतमा धादिङवासीलाई पोखरेली समुदायले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्टले सामाजिक संघसंस्थाभित्र राजनीतिक जुत्ता खोलेरमात्र पस्न आग्रह गरे । प्रमुख अनुसन्धान अधिकृत इन्द्रविक्रम शाहले नेपालका हरेक संघसंस्थामा राजनीतिक प्रभाव परेको भन्दै यसबाट धादिङ समितिलाई जोगाउन आग्रह गरे । धादिङ सहयोग संस्थाका अध्यक्ष वेनी पाठकले समाज नै राजनीतिबाट संचालन हुने भएकाले सामाजिक संस्थामा लाग्ने व्यक्ति राजनीतिक कार्यकर्ता बन्दैमा डराउन नपर्ने बताए । खरी इकाइका अध्यक्ष शेरबहादुर अधिकारीले समितिमा राजनीति नभएको भन्दै राजनीति भयो भन्ने मानसिकता त्याग्न आग्रह गरे ।
कार्यक्रम संयोजक सुदर्शन बसौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ पोखरा सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, समितिका सचिव गोकर्ण अधिकारी लगायतले समितिलाई राजनीतिबाट पर राख्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा छन्द धरेल, कुमार आचार्य, होमनाथ सिलवाल, कृष्णबहादुर लम्साल, समिर अर्याल, गुणराज सापकोटा, रामकृष्ण दवाडी, नवराज दवाडी, गुणराज थपलिया कमल, ईश्वर कुमार श्रेष्ठ, बलराम लम्साल लगायतले कार्यपत्रमाथि सुझाव एवं टिप्पणी गरेका थिए । समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्सालले स्वागत गरेको कार्यक्रमको संचालन आगिन्चोक इकाइका अध्यक्ष हरि पन्तले गरेका थिए ।
त्यस अवसरमा त्रिपुरा खाद्य स्टोर्स पोखराका प्रोपाइटर राजकुमार श्रेष्ठ, धादिङ आगिन्चोक वडा नं. ४ निवासी कृष्णबहादुर शाह र प्रमुख अनुसन्धान अधिकृत इन्द्रविक्रम शाहलाई सम्मान गरिएको थियो । कार्यक्रमका लागि पाठक बुक्स एण्ड एण्ड स्टेशनरीले कापी र कलम सहयोग गरेको आगिन्चोक इकाइका कार्यबाहक सचिव नविन थपलियाले जानकारी दिए ।