ज्यान मार्ने धम्कीपछि एनटीभी अध्यक्षको राजिनामा

571 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ntvकाठमाडौ-नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाँईको दवावमा टेलिभिजन सञ्चालक समितिका अध्यक्ष सीताराम अग्रवालले आफ्नो जीउ ज्यानको सुरक्षा नभएको कारण देखाउँदै सञ्चारमन्त्री मिनेन्द्र रिजाल समक्ष राजिनामा दिएका छन् । उनको राजिनामा मन्त्रीपरिषद्ले स्वीकृत पनि गरेको छ ।
डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले अग्रवाललाई नेपाल टेलिभिजन सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो । तर, काँग्रेस नेतृत्वको सरकार गठन हुने वित्तिकै मन्त्रालय र टेलिभिजनका कार्यकारी महाप्रबन्धक हुमागाँईले अग्रवाललाई राजिनामा दिन दवाव दिँदै आएका थिए । अग्रवालले जेठ १९ गते तीन पृष्ठ लामो राजिनामा पत्र मन्त्री रिजाल समक्ष बुझाएका छन् ।
उनले नेपाल टेलिभिनभित्र हुने गरेको अनियमिताताको बारेमा पनि खुलासा गरेका छन् साथै कार्यकारी महाप्रबन्धक हुमागाँईले आफूलाई हटाउन कतिसम्मको षड्यन्त्र गरेको भनि आठ बुँदामा आफ्नो कुरा उल्लेख गरेका छन् । उनले नेपाल टेलिभिजनको सञ्चालक समितिबाट गरिने निर्णयमा संस्थागतहित प्रवद्धन तथा कानून र प्रकृया सम्मतकार्य गर्ने कतव्र्य आफूले निर्वाह गर्ने अधिकतम पहल गरें तर कार्यकारी भुमिकामा रहेका महाप्रवन्धकबाट स्पष्ट, पारदर्शी र जवाफदेही ढंगको भुमिका विपरित असहयोग र अकर्मण्यपूर्ण कार्य व्यवहारका कारण राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरेका छन् । हुमागाँईले आफूलाई रबर स्टाम्पको रुपमा प्रयोग गरेर समितिको बैठकबाट जवर्जस्ती निर्णयहरु गराउन दवाव दिने गरेको समेत उल्लेख गरेका छन् ।
टेलिभिजनको वजेट तयारी गर्दा पनि आफूलाई कुनै जानकारी नदिने, सञ्चालक समितिबाट हुने निर्णयहरु पनि महाप्रबन्धकले आफूखुशी गर्ने जस्ता आरोप उनले राजिनामापत्रमार्फत लगाएका छन् । नेपाल सरकार शान्ति कोष सचिवालयबाट नेपाल टेलिभिजनलाई प्राप्तभएको बाह्र करोड एक लाख पाँचहजार रुपियाँबारे सञ्चाालक समितिको जानकारीबिना एकल रुपमा सम्झौता गरेको, रकमप्राप्त गरी सोको खर्च समेत आफ्ना हितैसी कर्मचारीहरुको मिलेमतोमा नियम प्रतिकुल र संस्थाको हित प्रतिकुल कनिका छरे जस्तो गरी रकम वितरण गरी कर्मचारीको अन्ध समर्थन प्राप्तगर्ने उदेश्यबाट प्रेरित भई अनुचितकार्य गर्ने कार्य महाप्रवन्धकबाट भएको आरोप लगाइएको छ ।
आफूले शान्ति कोषबाट प्राप्त रकम बारे असहमति जनाएपछि समितिको बैठकलाई घेराउगर्ने, बैठक कक्षभित्र प्रवेश गरी अभद्र शब्दप्रयोग गरी गालीगलौज गर्ने, कालोमोसो दल्ने जस्ता धम्की दिने जस्ता कार्य भएको अग्रवालले आफ्नो राजिनामा पत्रमा उल्लेख गरेका छन् । जेष्ठ १२ गतेभित्र शान्ति कोषको रकम खर्च सम्बन्धमा निर्णय गर्नेछौँ भनि कागज लेखि दवावमा हस्ताक्षर समेत गर्न लगाएको पत्रमा उल्लेख छ । यसरी कानूनविपरित कर्मचारीलाई उक्साएर श्रम ऐन, नेपाल टेलिभिजन कर्मचारी सेवा शर्त विनियम समेतको प्रतिकुल जोर जवरर्जस्ती गरी धाकधम्की र बेइज्जती गर्ने कार्य गरेको र गर्ने अवस्थामा जीउ ज्यानको शान्तिसुरक्षाको प्रत्याभुती समेत नपाएको र पाउने अवस्था नदेखिएकाले राजिनामा दिएको उल्लेख गरेका छन् ।
महाप्रवन्धकबाट गरिएका अकर्मण्यता र अनियमिततापूर्ण गतिविधि र समस्याकाबारेमा आफूले सञ्चार मन्त्रालयमा पटक पटक जानकारी गराएको तर कुनै सुनुवाई तथा कारवाही नभएको दावी अग्रवालले गरेका छन् । उनले आफूले अध्यक्ष पदमा रहँदा पाउँदै आएको सुविधाबाट पनि बन्चित रहेको उल्लेख गर्दै पाउनु पर्ने सुविधा समेत उपलब्ध गराउन माग गरेको छ ।

राजिनामापत्रको पूर्णपाठ

श्रीमाननीयमन्त्री ज्यू, मिति ः– २०७१।०२।१९गते
सूचनातथा सञ्चार मन्त्रालय,
सिँह दरवार, काठमाण्डौ ।
विषय ः– सञ्चालक समितिको अध्यक्ष पदबाट राजिनामा गरेको ।
माननीयमन्त्री ज्यू,
मलाई नेपाल सरकारको निर्णय बमोजिम नेपाल टेलिभिजनको सञ्चालक समितिको अध्यक्षपदको जिम्मेवारी दिएको थियो । मेरो कार्यकालमा यथासक्य नेपाल टेलिभिजन संस्थाको हितमा कार्य गर्ने भरमज्दुर प्रयत्न गरिआएको व्यहोरा निवेदन गर्दछु । नेपाल टेलिभिजनको सञ्चालक समितिबाट गरिने निर्णयमा संस्थागतहित प्रवद्धन तथा कानून र प्रकृया सम्मतकार्य गर्ने कतव्र्य मैले निर्वाह गर्ने अधिकतम पहल प्रयत्न गरें तर कार्यकारी भुमिकामा रहेका महाप्रवन्धकबाट स्पष्ट, पारदर्शी र जवाफदेही ढंगको भुमिका विपरित असहयोग र अकर्मण्यपुर्ण कार्यव्यवहारका कारण निम्न उल्लेखित गलत कार्यहरु हुने र परिणाम देखिने अवस्था उत्पन्न हुन पुगे ।
१) सञ्चालक समितिको बैठकमा निर्णयार्थ पेश भएका एजेण्डाहरुको सम्बन्धमा विस्तृत नियमसँगत विवरण उपलब्ध गराउने अथवा बैठकलाई सूचित गराई छलफल तथा निर्णय गराउने कर्तव्य विपरित केवल निर्णय गर्न दवाव मात्र दिने, सूचना जानकारी विना रवर स्ट्याम्पको रुपमा सञ्चालक समितिलाई उपयोग गर्ने नियोजित गलत कार्य निरन्तर हुँदा आ.व.२
०७०÷२०७१ को बार्षिक बजेट पारित गर्ने कार्य समेत ७महिना पछाडी धकेलियो र दवावमाबुझ्न समेत नपाई पारित गर्नुपर्ने अवस्थामहाप्रवन्धकबाट र्सिजना गराइयो ।
२) कर्मचारी तथा अन्य सम्बद्ध निकायमा अध्यक्षको उदासिनताको कारण निर्णय नभएको र कार्य गर्न नसकेको भन्ने भ्रमपुर्ण प्रचार गराउने कार्य महाप्रवन्धकबाट भयो । जवकी निर्णयार्थ प्रस्तुत प्रस्तावउपर छलफल र विषद अध्ययन गर्ने सञ्चालक समितिको अधिकारलाई कार्यकारी महाप्रवन्धकले संस्था चलाउने मैले हो भन्दै दम्भ प्रस्तुत गरेर कुण्ठित गर्ने कार्य गरियो । आगामी आर्थिक वर्षको विकास योजना सञ्चालनका निम्ती नेपाल सरकारसँग बजेट माग गर्नको लागि संचालक समितिमा छलफल निर्णय समेत गरी विधिसम्मत रुपमा पठाउनुपर्नेमा एकल रुपमा कुनै जानकारी र सहमति वेगरको आगामी वर्षको बजेट महाप्रवन्धकबाट माग गरी पठाइएको र उक्त माग के कस्तो रहेको भन्ने विषय संचालक समितिलाई जानकारी छैन । गत सालको बजेटमा जलेश्वर क्षेत्रिय प्रशारणका लागि बजेट माग भएकोमा चालु आर्थिक वर्षमा मात्र बजेट प्राप्त हुने प्रवल संभावना विपरित यो वर्ष महाप्रवन्धकले एकल रुपमा माग गरेको बजेटमा सो योजना नै समावेश नगरेको समेत बुझिएको छ । नितिगत निर्णय गराउनुपर्नेमाएकल निर्णय गर्ने र जहाँ कार्यकारी प्रमुखले गर्न सक्ने निर्णयहरु सञ्चालक समितिमा पठाएर बखेडा मच्चाउने सम्मको हर्कतहरु महाप्रवन्धकले गर्ने गरेका छन् ।
३) नेपाल सरकार शान्ति कोष सचिवालयबाट नेपाल टेलिभिजनलाई प्राप्तभएको बजेट रु १२,०१,०५,०००÷– बाह्र करोड एक लाख पाँचहजार रुपयाँ बारे संचालक समितिको जानकारी, सहमति स्वीकृति निर्णय समेत नगराई एकल रुपमा सम्झौता गरेको, रकम प्राप्त गरी सोको खर्च समेत आफ्ना हितैसी कर्मचारीहरुको मिलोमतोमा नियम प्रतिकुल र संस्थाको हित प्रतिकुल कनिका छरे जस्तो गरी रकमवितरण गरी कर्मचारीको अन्ध समर्थन प्राप्तगर्ने उदेश्यबाट प्रेरित भई अनुचितकार्य गर्ने काम महाप्रवन्धकबाट भयो । सोको अनुमोदन निर्णय गर्न मात्र मिति २०७०।१०।१९ गते सञ्चालक समितिमा प्रस्ताव ल्याए पश्यात मेरो फरक मत निर्णयमा लेखाउन बाध्य भएँ तर अहिले सो को बारेमा विस्तृत जानकारी माग्ने काम भएकोमा जानकारी दिनुको सट्टा कार्यक्रमको नाममा सुविधा लिएका कर्मचारीहरुलाई निर्णय गर्न दवाव दिन मिति २०७१।०२।०८ गतेको सञ्चालक समितिको बैठक धर्ना घेराउगर्ने, बैठक कक्षभित्रप्रवेश गरी अभद्र शब्द प्रयोग गरी गाली गलौज गर्ने, कर्मचारीले लिए खाएको रकमको बारेमा ठीक भनेर निर्णय नगरेमा कालो मोसो दल्ने तथा जे पनि गर्ने जस्ता धाक धम्की गाली गलौज र अशिष्ट कार्य गर्ने कार्य भयो । जेष्ठ १२ गतेभित्र शान्ति कोषको रकमखर्च सम्बन्धमा निर्णय गर्नेछौँ भनी कागज लेखी दवावमा हस्ताक्षर समेत गर्न बाध्य पारियो । यसरी कानूनविपरित कर्मचारीलाई उक्साएर श्रम ऐन, नेपाल टेलिभिजन कर्मचारी सेवाशर्त विनियम समेतको प्रतिकुल जोर जवरजस्ती गरी धाकधम्की र बेइज्जेती गर्ने कार्य गरेको र गर्ने अवस्थामा जीउ ज्यानको शान्तिसुरक्षाको प्रत्याभुती समेत पाएको र पाउने अवस्था विद्यमान देखिएन ।
४) शान्तिकोषबाट आएको रकमखर्च गर्दा टेलिभिजनका कर्मचारीहरुले आफ्नो सेवाको सिमाभित्र गर्नुपर्ने कर्तव्य बमोजिमकार्य गरेको अवस्थामा समेत अनुचिततवरले बाहिरका मानिस प्रयोग गर्दा गरिने खर्च भन्दापनि बढी खर्च तथा सूविधा कर्मचारीलाई बाँडेर एक किसिमको भ्रष्ट्राचारजन्य कार्य भएका छन् । (जस्तो किकार्यक्रमनिर्माताको पदमा सेवा गरेका कर्मचारीलाई कार्यक्रमनिर्माण गरे बापतभनी एक भागको १० हजार रुपयाँ सम्मवितरण गरेको बुझिएको छ तर विवरण उपलब्ध गराएको छैन ।)
५) नेपाल टेलिभिजनको विकास र विस्तार गर्न क्षेत्रीय प्रसारण केन्द्र कोहलपूर र ईटहरीका लागि आवश्यक बजेट चालु आ.व.मा विनियोजित गराएको तर महाप्रबन्धकले पटक पटक अवरोध उत्पन्न गरि चालु आ.व. ०७०÷०७१ समेत समाप्त हुन लागेको अवस्थामा समेत केही बोलपत्रहरु मत्र गरि क्षेत्रीय प्रशारण केन्द्रको काम कारवाही अगाडी बढ्न सकेको छैन । उक्त केन्द्र तत्काल सुचारु गर्ने उदेश्यविपरित महाप्रवन्धकबाट कार्यान्वयनमा उदासिनता देखाएको अवस्था छ ।
६) नेपाल टेलिभिजन र भारतीय दुरदर्शनबिच समाचार, कार्यक्रम एवं अनुभव समेतको आदानप्रदान गर्ने सम्बन्धमा आपसी सहमति गर्न, भारतीय दुरदर्शन र भारतीय राजदुतावाशसँग मेरो व्यक्तिगत पहल प्रयत्न भएबाट कार्य उल्लेख्य मात्रामा अगाडी बढेकोमा त्यस्तो मनासिव कार्य समेत अगाडी बढाउन उदासिन तथा अवरोध उत्पन्न गर्ने कार्य महाप्रवन्धकबाट हुनगएको छ ।
७) महाप्रवन्धकबाट गरिएका अकर्मण्यता र अनियमिततापुर्ण गतिविधि र समस्याका बारेमा मैले सूचना तथा सञ्चार मन्त्रालयमा द.नं.४९४७ मिति २०७०।०९।०१ गते र २०७०।०९।२३ गते समेत स्पष्ट गरेको र पटक पटक अनुरोध गर्दा पनि उचित सुनवाई तथा कारवाही भएन । मैले अध्यक्षपदमा रहँदा नियमानुसार प्राप्तगर्ने सेवा सुविधा समेत रोक लगाउने नदिने कार्य महाप्रवन्धकबाट भएकोले मैले पाउने सेवा सुविधाको हिसावगर्न लगाई उपलब्ध गराईपाँऊ ।
८) नेपाल टेलिभिजनको हित र यसको विकासका लािग उचित र विधिसम्मत पहल प्रयत्न गर्दा गलत कार्य गर्ने पक्ष साधु र सही कार्य गर्ने पक्ष चोर देखिने देखाउने अवस्था सिर्जना गर्नमा भुमिका निर्वाह गर्ने गलततत्वहरुको उचित छानविन तथा कारवाही गरि नेपाल टेलिभिजनलाई जोगाउने कार्य तालुक निकाय र मन्त्रालयबाट होस् भन्ने निवेदन समेत गर्दछ । साथै टेलिभिजनमा अनुचितकार्य गर्नेहरुको बोलवाला र दवावमा कार्य गर्नुपर्ने अवस्था तथा जीउज्यान र इज्जत प्रतिष्ठामा आँच आउने अवस्था रहेको छ । यस्तो अवस्थामा कार्य गर्न सकिने अवस्था नभएको र सोका लागि कार्यकारी पदमा रहेका महाप्रवन्धकबाटै उल्लेखित कार्य भएको सन्दर्भमा कार्य गर्न असमर्थ रहेको व्यहोरा जानकारी गराउँदै सचालक समितिको अध्यक्ष पदबाट राजिनामा पेश गरेको छु । आगामीदिनमा नेपाल टेलिभिजनको सुन्दर भविष्यकालागि संस्था बुझेको, नियम कानून र प्रक्रिया बमोजिम कार्य गर्ने सक्षम व्यक्तिहरुलाई पदस्थापन तथा प्रोत्साहन गर्ने वातावरण बनोस भन्ने शुभकामना समेत व्यक्तगर्दछु ।

भवदीय,
सीतारामअग्रवाल
अध्यक्ष, सञ्चालक समिति, नेपाल टेलिभिजन

-रातोपाटी डट कमवाट