गजल- दलवीर सिंह बराइली ‘घायल’

1199 पटक पढिएको

सम्पादक: Dhadingnews.com

10383584_10204110870035736_7535346889766411076_n

जागौं उठौं सङ्घर्षमा पिडित भै बस्नु हुन्न

यो समाजमा हामी सधैँ दलित भै बस्नु हुन्न

 

छुवाछुत भेदभाव कलंक हो मानवतामा

भाग्य सम्झी भित्रभित्रै कुण्ठित भै बस्नु हुन्न

 

चिनारी हो सिप हाम्रो कर्म गर्ने जाँगर छ

संकुचित घेराभित्र सीमित भै बस्नु हुन्न

 

शिक्षा स्वस्थ समानता नैसर्गिक हक हाम्रो

अस्तित्वको लडाइँमा थकित भै बस्नु हुन्न

 

मित्र शक्ति शत्रु को हो ? चिनौं युग बदल्नुछ

रुढिवादी व्यवस्थामा हर्षित भै बस्नु हुन्न

 

दलवीर सिंह बराइली ‘घायल’

गुप्तेश्वर-३,रामेछाप

हाल:अबुधाबी,युएई