गाउँमै बन्छ चरेस- गाँजा फल्ने र चरेस बनाउने समयमा अपरिचितलाई गाउँ छिर्न प्रतिबन्ध

847 पटक पढिएको

सम्पादक: Dhadingnews.com

किरान्चोक (धादिङ), असार ६ – सहरमा यदाकदा बरामद हुने लागू औषध चरेस धादिङको दक्षिणी भू-भाग महाभारत शृंखला क्षेत्रमा गाँजाबाट गाउँमै खुलमखुल्ला बनाउने गरिएको छ ।

किरान्चोक, पीडा, भुमेस्थान, बैरनी, तर्सपु र महादेवस्थान गाविसमा चरेस बनाउन जंगलभित्र ढिकी राखिएका छन् । पाकेको गाँजाको थुँगालाई घरमै कुटेर मसिनो बनाई जंगलको ढिकीमा कुटेपछि चरेस बन्ने त्यस क्षेत्रका एक पूर्वगाविस सचिवले बताए । ‘बजारमा माग भएअनुसार बनाउँछौं,’ गाँजा खेती गर्दै आएका किरान्चोकका एक स्थानीयवासीले भने, ‘दुई-तीन गाउँलाई पायक पर्ने गरी जंगल र ओडारभित्र चरेस बनाउने ढिकी राखिएको छ ।’

उत्पादित गाँजा र चरेस किरान्चोक, पीडा गाविस र मकवानपुरको सीमामा पर्ने दामेचौर डाँडा हुँदै तराईबाट भारतसम्म पुग्ने गरेको स्रोतले बतायो । ती गाउँसम्म मकवानपुरतर्फबाट सडक विस्तार भएका छन् ।

‘स्थानीय कारोबारीले ठोहोरीसम्म पुर्‍याउँछन्, त्यसपछि उतैबाट आएका व्यापारीले लैजान्छन्,’ स्रोत भन्छ । पृथ्वीराजमार्गसँगै जोडिएका ती गाविसका उच्च भू-भागमा गाँजा खेती गरी चरेस उत्पादन गरिँदै आएको हो । त्यस क्षेत्रबाट बर्सेनि लाखौं रुपैयाँको गाँजा चरेस बिक्री हुने एक गैरसरकारी संस्थाका कर्मचारीले बताए । ‘माथिल्लो भागमा बासिन्दाको मुख्य आय नै गाँजा र चरेस बिक्री हो,’ उनले भने ।

गाँजा खेती, चरेस उत्पादन र बिक्री वितरण गर्न अधिकांश स्थानीयले अवैध हतियारको प्रयोगसमेत गर्ने गरेको स्रोतको दाबी छ । गाँजा फल्ने र चरेस बनाउने समयमा अपरिचितलाई गाउँमा छिर्न प्रतिबन्ध लगाउने गरिएको छ । हतियारसहित गाँजा र चरेस लिएर जाने स्थानीयवासी व्यापारीको जिम्मा लगाएर फर्कन्छन् ।

हरेक शनिबार दामेचौर डाँडामा दैनिक उपभोग्य सामग्री लिएर आउने सवारीसाधनसमेत गाँजा चरेस लिएर र्फकने स्रोतले बतायो ।

यतिखेर स्थानीयवासीको बारीभरि गाँजा लहलह छन् । ती गाँजालाई आवश्यक पर्ने मलसमेत व्यापारीहरूमार्फत तीनै सवारीले ल्याउने गरेका छन्् । ‘फोर हि्वल ट्रक र जिप लिएर आउँछन्,’ तामाङ थरका स्थानीयले भने, ‘गाँजा चरेस लिएर रातिराति र्फकन्छन्् ।’ कतिपय अवस्थामा पृथ्वीराजमार्गतर्फबाट पनि राजधानी, चितवनलगायत ठाउँमा गाँजा पठाउने गरिएको स्रोतको दाबी छ । ती क्षेत्रमा मकै र गाँजा खेतीबाहेक अरू उब्जनी हुँदैन । ‘गाँजा र मकै नभए हामी भोकभोकै मर्छौ,’ एक स्थानीयले भने । गाँजा चरेस बेचेर एकै व्यक्तिले वाषिर्क १० हजारदेखि ५ लाखसम्म आम्दानी गर्छन् । किरान्चोक-८ को मझुवाभन्दा माथिल्लो, पीडा गाविस-८ को धर्मेचौरभन्दा माथिल्लो, तर्सपु-९ को दामेचौर, भुमेस्थानको भुमीचुली, बैरनी गाविसको कार्कीडाँडाभन्दा माथिल्लो र कोली खर्कमा गाँजा खेती हुने स्रोतले बतायो । राजमार्गबाट ६ घन्टाभन्दा बढी हिँडेपछि मात्र गाँजा खेती हुने स्थलमा पुग्न सकिन्छ ।drug

-इ कान्तिपुर डट कमवाट