दश वर्षमा सबै विद्यालय सुरक्षित हुने

482 पटक पढिएको

सम्पादक: Dhadingnews.com

अहिले देशभरका झण्डै ६२ हजार विद्यालय भूकम्प र अन्य प्राकृतिक विपदाका हिसाबले असुरक्षित छन् । तिनमा अध्ययन गरिरहेका लाखौं विद्यार्थी जोखिममा रहेका बेला सरकारको ध्यान त्यसतर्फ गएको छ । अब ५० अर्ब रुपियाँ खर्च हुने योजनाको कार्यान्वयनतर्फ कदम चालिएको छ ।

school– शरद शर्मा
काठमाडौं, ३ असार । सरकारले अबको दश वर्षभित्र देशभरका सामुदायिक विद्यालयलाई सबैखाले विपत्तिबाट पूर्ण सुरक्षित बनाउने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न दातृ संघसंस्थाहरूको  सहयोगमा सबै विद्यालयलाई सन् २०२५ भित्र सबै खाले विपत्तिबाट पूर्ण सुरक्षित बनाउने भएको हो ।

मुलुकका नयाँ तथा पुराना विद्यालयका भवन संरचनालाई सुरक्षित बनाउन मन्त्रालयले विपद् न्यूनीकरण रणनीति तथा गुरुयोजनाको प्रारम्भिक मस्यौदासमेत तयार गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले मुलुकभरका सबै सामुदायिक विद्यालयलाई सन् २०२५ सम्ममा जोखिममुक्त र हरेक हिसावबाट सुरक्षित बनाइने बताए ।

‘विद्यालय भवन अहिले पूर्ण सुरक्षित छैनन्,’ उनले भने, ‘त्यसैले पुरानालाई मर्मत तथा पुनःनिर्माण गरेर सबै विद्यालयहरूलाई सुरक्षित बनाइने छ ।’ स्कुल भवनलाई भूकम्प प्रतिरोधात्मक, हावाहुरी तथा अन्य भवितब्यबाट सुरक्षित बनाइने भएको छ ।  आगामी १० वर्षभित्रमा सम्पूर्ण शैक्षिक निकायलाई सबैखाले विपत्तिबाट सुरक्षित बनाउने योजना बनाइएको छ । असुरक्षित विद्यालयहरूलाई प्रबलीकरण (रेक्ट्रोफिटिङ्ग ) र पुनःनिर्माण गरेर सुरक्षित बनाइने छ ।

मन्त्रालयले केही जिल्लाका सामुदायिक विद्यालयलाई सुरक्षित बनाउने कार्य सुरु गरिसकेको छ । मन्त्रालयले विद्यालयहरूलाई सुरक्षित बनाउन आवश्यक रकम जुटाउन विश्व बैंक, एशियाली विकास बैंक, जाइकालगायत दातृ निकायसँग छलफल गरिरहेको छ । मन्त्रालयले तयार पारेको मस्यौदामा आगामी १० वर्षभित्र सम्पूर्ण शैक्षिक निकायलाई भूकम्प, बाढीपहिरोलगायत सबैखाले जोखिमबाट सुरक्षित बनाइने उल्लेख छ ।

शिक्षाविभागका महानिर्देशक डा. लवदेव अवस्थीले विद्यालय भवन सुरक्षित नहुँदा विद्यार्थीहरू जोखिममा रहेका भन्दै सबैखाले जोखिमबाट सुरक्षित बनाउन थालिएको बताए । विभागले पुराना भवनलाई सुरक्षित बनाउने छ ।

विभागका भौतिक सेवा शाखाका वरिष्ठ इन्जिनियर झप्परसिंह विश्वकर्माले पुरानो विद्यालय भवनलाई  प्रबलीकरण गरेर सुरक्षित बनाउने जानकारी दिए । असुरक्षित पुराना भवनलाई पिलर, सरिया, सिमेन्टआदीले पुनःनिर्माण गरिने विश्वकर्माले बताए ।

भूकम्प प्रविधि राष्ट्रिय समाजले गरेको अध्ययनअनुसार नेपालका ६१ हजार ६ सय ३७ विद्यालय  सुरक्षित छैनन ।  अहिले ८३ हजार विद्यालय भवन रहेका छन् ।  जसमध्ये ४९ हजार ३ सय ११ विद्यालयहरूलाई प्रवलीकरण र १२ हजार ३ सय २६ विद्यालयहरूलाई भत्काएर पुनःनिर्माण गर्नुपर्ने इन्जिनियर विश्वकर्माले जानकारी गराए ।

उनका अनुसार सबै विद्यालय पूर्ण सुरक्षित बनाउन ५० अर्ब रुपियाँ आवश्यक पर्ने देखिन्छ । त्योमध्ये ४२ अर्ब ६४ करोड प्रवलिकरण र पुनःनिर्माण तथा सात अर्ब ४६ करोड रुपियाँ व्यवस्थापन खर्चमा लाग्ने छ ।

काठमाडौंलगायत २७ जिल्लामा अहिले प्रवलीकरणको कार्य सुरू भइसकेको छ । काठमाडौंका सबै र २६ जिल्लाका पाँच विद्यालयलाई प्रवलिकरण गर्ने कार्य भइरहेको उनले बताए । अहिले काठमाडौंका ९० विद्यालयलाई प्रवलीकरण गर्ने काम भइसकेको छ । आउँदो शैक्षिक सत्रमा दुई सय ६० विद्यालय पूर्ण सुरक्षित हुनेछन् ।  ती जिल्लामा अहिले एसियाली विकास बैंक र अष्ट्रेलियन सरकारले सहयोग गरिरहेको छ ।

-पुलेसो डट कमवाट