४८ बर्ष देखि सघाए, मैले के पाए ?

712 पटक पढिएको

सम्पादक: Dhadingnews.com

४८ बर्ष  देखि सघाए, मैले के पाए ?

केपी शर्मा ओली । 

माधव नेपालजी लचकता अपनाउन सक्नुहुन्छ । तर विचार र उद्देश्य छोडदिनुहुन्छ । म विचार छोडेर, उद्देश्य छोडेर राजनीकि गर्नुको कुनै अर्थ देख्दिन ।

हाम्रो पार्टी महाधिशेनको संघारमा छ । यस क्रममा नेतृत्व र नीतिसँग सम्बन्धित बिभिन्न किशिमको तर्क बितर्कहरु चल्नु स्वभाविक हुन् । नेपालमा एक पटक सशस्त्र संघर्षका नाममा एउटा हिंसा मच्चियो । त्यसको अर्धविरामताका एउटा भनाई आयो । त्यो अहिले पनि छँदैछ, सेनाको लोकतान्त्रिककरण, प्रहरीको लोकतान्त्रिककरण अनि पार्टीको सैनिकिकरण । यी उल्टा कुरा हुन् । पार्टीको लोकतान्त्रिककरण हुनुपर्छ । सेना, प्रहरी जंगी निकायको आधुनिकीकरण हुनुपर्छ । आधुनिक सेना भनेको अलोकतान्त्रिक हुँदैन ।

तर राजनीतिक पार्टीहरु भनेका लोकतान्त्रिक हुनु पर्छ । सामन्ती जहानीया, राजतन्त्रबाट गुज्रिएर आएको हाम्रो मुलुक हो । जहाँ कम्युनिष्ट पार्टीभित्र पनि भन्नु मात्रै हो, लामो समय सम्म लोकतान्त्रिक अभ्यास हुन सकेन । अरु पार्टीमा पनि त्यस्तै हो । तर लोकतान्त्रिक परिपार्टीको सुरुवात नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ग¥यो । त्यसैले अहिले त्यहि प्रकृया अनुसार नै यो भइरहेको छ । तर, लोकतन्त्रको जनवादको उपयोग मैले गर्न नपाउने, मेरो एकदम ठिक छ भन्ने दाबीका साथ म सभ्यता, शालीनताभित्र सिमाभित्र छु । सक्दो सराप गर्ने तहमा पनि गएको छैन । केही तत्वहरु त जानी बुझिकन लागेका छन् । केही चाँही नबुझिकन पनि लागेका छन् । प्रतिश्पर्धामा यस्ता चीज मिसिनु हुदैन ।

भोली हामी एउटा उद्देश्यकालागि एउटै ठाउँमा बसेर लड्नु पर्ने हुन्छ । त्यसैले ज्यादै दुश्मन जस्तो गरेर नलडौं ।

लामो समय म त पार्टी जीवनमा प्रतिपक्षमा रहेँ । मैले आफ्ना कुरा भनिरहेँ । समयक्रममा मैले भनेका सबै कुरा सही सावित भए । तर, नेतृत्वले कहिले पनि मेरा सही कुरालाई सही र आफ्ना गलत विचारलाई लगत भन्न सकेन् । त्यसक्रममा सही कुरालाई गलत सावित गर्न र गलत कुरालाई सही सावित गर्नको लागि केही मानिसको झुण्डको त्यसमा सक्रिय रह्यो । त्यस्ता मानिसमा केही पुर्वाग्रहका कुरा पनि होलान् ।

म के भन्छु भने नवौं महाधिवेशनलाई हामीले नेकपा एमालेको इतिहासमा, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा र लोकतन्त्रकै इतिहासमा एउटा कोशेढुंगा सावित हुनेछ । त्यसमा पार्टीलाई सामुहिक नेतृत्वमा लैजान सबैको प्रयास आवश्यक छ । यो कुनै हनुमानले पुच्छरमा आगो लगाएर लंका जलाएको कथा जस्तो होेइन् । यो देश निर्माण गर्ने कुरा हो । यहाँ पहिला पार्टी पंक्तिलाई एक जुट बनाएर लानुप¥यो । पार्टीले जनतालाई एकताबद्ध बनाएर राष्ट्र निर्माणमा एक जुट बनाएर लैजानुपर्छ ।
महाधिबेशनमा र त्यस पछि पनि सबैलाई मान्य गरि नै सहमति हुन्छ । हामीलाई जिम्मेवारी दिँदैनन् । हाम्रो अनादर हुन्छ भन्ने किसिमका धारणा पनि आएका छन । त्यो नचाखेको फल टर्रो भनेजस्तो हो । बैचारिक हिसावले जता भएपनि काम लगाउने कुरा जिम्मेवारी दिने कुरामा कही कतै भेदभाव भएको छैन् हुदैन पनि ।

आन्तरिक समिकरण

पार्टी भित्रको समिकरण भने पनि बिचारको अधारमा हुने हो । अहिले बामदेव र मेरो सम्बन्धलाई बिचारसँग पनि जोडिन्छ । बामदेब विचारको आधारमा विरोधी होइनन् । उहाँ जवजको सन्र्दभमा चौथो, पाँचौ महाविधेशदेखि सँगै हो । एउटा आठौं महाधिवेशनमा भने बामदेवजी अलग हुनुभयो बाँकी सबैमा सँगै थियौं । छैटौं महाधिवेशनमा तत्कालीन नेतृत्वसँगको लामो संघर्षपछि उहाँहरु अलग हुनुभयो । आठौं महाधिवेशनमा मैले सम्झाउने प्रयास पनि गरिन,उहाँले पनि सम्झने चाहनु भएन की के हो । विचारको प्रश्नमा धेरै लडाई भएन । विचारलाई स्वीकार गरे साथीहरुले भनेर उहाँ उताबाट उपाध्यक्ष लड्न जानु भयो । तर पनि हामी बैचारिक हिसावले निकट नै हो । मसँग भएका साथीहरु जनताको बहुदलीय जनवादका विरोधी कोही पनि छैनन् । ईश्वर पोखरेल, विद्या भण्डारी,शंकर पोखरेल नै भन्नुहोस सबै जवजका समर्थक नै हुनुहुन्छ ।

माधव नेपालजीका विषयमा म धेरै भन्न चाहन्न । उहाँ लचकता अपनाउन सक्नुहुन्छ । तर विचार र उद्देश्य छोडदिनुहुन्छ । म विचार छोडेर, उद्देश्य छोडेर राजनीकि गर्नुको कुनै अर्थ देख्दिन । म कुनै पद दिएर जिम्मेवारी दिएर ओहोदा दिएर कुनै समिकरणमा विश्वास गर्दिन् । म वैचारिक रुप र राजनीतिक रुपमा टुंगो हुनुपर्छ भन्ने ठान्छु ।

सहमती बारे

मैले १०-१२ वर्ष पहिला पनि भनेको थिए, म पिर्कामा बस्न तयार छु । गुन्द्रीमा बस्न तयार छु, खाली भुईमा बस्न तयार छु । कुनै पद ओहोदा चाहियो भन्ने होइन् । तर, ४८ वर्षदेखि मैले संघर्ष गरेको छु । मैले कस कसलाई सघाइन ? जसलाई सघाउँदा पनि मैले कहिले पनि कुनै शर्त राखिन ।

नबौँ महाधिबेशनमा सहमतीका साथ अगाडि बढ्नु पर्छ भन्ने मान्यता राख्छु । आज पनि औचित्य न्याय र तर्कमा जाने वित्तिकै र आजिवन पदमा टाँसिने कुरा छोड्ने बित्तिकै सहमती हुन्छ । तर विग्रिने गरी उल्टो गंगा बगाउने गरी, तथ्यहीन र औचित्यहीन ढंगले र न्याय विपरित कुनै सहमति हुँदैन । चुनावमा जान्छ परिणाम आउछ । यसमा म एकदम खुल्ला छु ।

ओएनएस न्युज सँगको कुराकानीमा आधारित