हाइकिङको उपयुक्त गन्तव्य छत्रेदेउराली-भीमढुङ्गा

769 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Walking-trailग्रामीण पर्यटकीय आकर्षामा रमाउनका लागि काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य हो- छत्रेदेउराली-भीमढुङगा हाइकिङ । राजधानीबाट पश्चिम ६ किलोमिटरको दूरीमा रहेको यस गन्तव्यलाई नेपाल पर्यटन वर्ष२०११ सँगै पर्यटकीय प्याकेजको रूपमा विकास गर्न अहिले भीमढुङ्गावासी सक्रिय भएर लागेका छन् । शहरनजिकको गन्तव्य, प्रशस्त मात्रामा पर्यटकीय पूवाधारको सम्भावना, आन्तरिक तथा बा⋲य पर्यटक आकर्षाका विविध विशेषता हुँदाहुँदै पनि ओझेलमा परेको गाउँ छत्रेदेउराली-भीमढुङ्गाले अब भने पर्यटकीय गन्तव्यको पहिचान खोज्न थालेको छ ।

धादिङको छत्रेदेउराली र काठमाडौंस्थित भीमढुङ्गाको करीब ३ किलोमिटर क्षेत्रलाई हाइकिङको रूटका रूपमा विकास गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पूवाधार विकास आयोजनाले प्रारम्भिक सवेक्षण गरिसकेको छ । सवेक्षणपछि भीमढुङ्गालाई पर्यापर्यटन क्षेत्रका रूपमा प्रवर्द्धन गर्न विभिन्न पर्यटनविद्सहित सम्भाव्यता अध्ययन गरिनुका साथै हाइकिङको एकदिने परीक्षणसमेत सम्पन्न गरिएको छ । प्राकृतिक पर्यटकीय महत्त्वका स्थानहरू, महेश-नारायण नामक गुफा, स्थानीय कलासंस्कृति तथा विस्तार हुँदै गरेको होम स्टे पर्यटनले सो क्षेत्रको पर्यटकीय विशेषतालाई स्पष्ट पार्न सहयोग पुर्याएको छ । सूर्योदय र सूर्यास्त एकै ठाउँबाट देख्न सकिने थाप्लेडाँडाले पनि सो क्षेत्रलाई पर्यटकीय आकर्षाको केन्द्र बनाउन सहयोग गरेको छ ।

चारैतिरबाट आकर्षक फाँटसहितको बस्तीले घेरिएको फाप्लेसँगैको छत्रेदेउरालीको गुप्तेश्वर महादेवस्थान, वामनडाँडा हुँदै नागार्जुन राष्ट्रिय निकुञ्जको छेउबाटै गरिने हाइकिङले यस क्षेत्रको पर्यटकीय गन्तव्य उजागर गर्न सहयोग पुर्याउको भीमढुङ्गा पर्यापर्यटनका अध्यक्ष श्यामबाबु कुँवरले बताए । सो स्थान काठमाडौं उपत्यका प्रवेश गर्ने पश्चिमतिरको एक प्रसिद्ध भञ्ज्याङ पनि हो । सो क्षेत्रको उचाइ समुद्र सतहबाट १ हजार ८ सय ३५ मिटर रहेको छ ।

धार्मिक तथा ऐतिहासिक गुप्तेश्वर गुफा, कृष्ण मन्दिर, जालपादेवी मन्दिर, लक्ष्मेश्वर महादेव, कालिकादेवी, सेतीदेवीलगायतका धार्मिक आस्थाका मठमन्दिरसँगै पुरातात्त्विक शिलालेख पर्यटन आकर्षणका विशेषता हुन् । कुँवरका अनुसार छोटो पदयात्रा, रक क्लाइम्बिङ, पाराग्लाइडिङ, पिकनिक स्थल, चिल्डे्रन पार्क, योगध्यान केन्द्र र हिमाल अवलोकनका लागि उपयुक्त भ्यू प्वाइण्टलगायतका विशेषताका कारण सो क्षेत्र पर्यटकका लागि नमूना गाउँ बन्न सक्छ । उनले भने, ‘यस स्थानबाट गणेश हिमाल, मनास्लु, लाङटाङ, दोर्जेलाक्पा, अन्नपूर्ण, धवलागिरिलगायतका २३ ओटा हिमालको दृश्यावलोकन गर्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटक कुनै पनि समयमा पुग्न सक्छन् ।’ साथै नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेका विभिन्न वन्यजन्तुको समेत जानकारी लिन सकिने भएकाले पर्यटक आकर्षणको केन्द्रविन्दु नै बन्न सक्ने उनको भनाइ छ ।

सो स्थानको पर्यटकीय विशेषताका कारण थाप्लेका पाँच घरमा होम स्टे शुरुआत गर्न लागिएको पनि थाप्ले पर्यटकीय होम स्टेका अध्यक्ष सानुकान्छा लामाले जानकारी दिएका छन् । उनका अनुसार वैशाख पूणिर्मादेखि होम स्टे पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सो भेगमा रहेका ५२ ओटा घर सबैले होम स्टे सञ्चालन गर्न सक्ने क्षमता राखेको उनको भनाइ छ ।

कसरी जाने

काठमाडौं सीतापाईलाबाट ५ किलोमिटर दक्षिणतर्फ सार्वजनिक यातायातमा जान सकिन्छ । नजिकको गन्तव्य भएकोले गाडि भाडा भिमढुङ्गा वसपार्कसम्म १५ रुपैयाँ लाग्छ । त्यहाबाट नै प्रकृतिको रमाइलो अवलोकन गर्दै हाइकिङ गर्न सकिन्छ । छोटो विदामा वा शनिवारसमेत घुम्न जान सकिने भएकोले मोटरसाइकलमा जानेका लागि पनि यात्रा सहज हुन सक्छ ।

बसोवासको सुविधा

गाँउघरको परिवेश भएकोले स्थानीय घरमा नै बस्न सकिन्छ । एक दिनमै काठमाडौं फर्किन सकिने भएकोले खासै बस्ने आवश्यकता पर्दैन् । बस्नै परेमा स्थानीय घरहरु तथा थाप्ले पर्यटकीय होम स्टेमा बस्न सकिन्छ । खानपिनको लागि नेपाली परम्पराका रेष्टुरेन्ट प्रशस्त मात्रामा रहेका छन् ।

-आर्थिक अभियान दैनिकवाट