यस्तो छ पत्रकार महासंघको निर्णय

536 पटक पढिएको

सम्पादक: Dhadingnews.com

FNJ

काठमाडौँ, १५ असार । नेपाल पत्रकार महासंघको बैठकले हालै संसद्मा दर्ता भएको ‘अदालतको अपहेलना’ सम्बन्धी विधेयकका केही बुँदाप्रति असहमति राख्दै विधेयकको प्रक्रिया तत्काल रोकी सरोकारवाला भएकाहरुसँगको परामर्शबाट मात्रै अघि बढाउन माग गरेको छ ।

उक्त विधेयकबारेमा यही असार मसान्तसम्म नेपाल बार एसोसिएसनलगायत सरोकार भएका सङ्घ÷संस्था र नागरिकसँग छलफल चलाउन बैठकले जिल्ला÷प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थालाई आग्रह गरेको छ ।

बैठकले श्रमजीवी पत्रकारका लागि गम्भीर चुनौतीका रूपमा रहेको ‘श्रमजीवी पत्रकार ऐन’ कार्यान्वयन गर्न सबै सरकारी स्वामित्व तथा निजी सञ्चार संस्थासँग माग गरेको छ ।

असार मसान्तभित्र सबै सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई ऐनअनुसार नियुक्तिपत्र, न्यूनतम पारिश्रमिकको व्यवस्था र विगतदेखि भुक्तानी बाँकी रहेको पारिश्रमिक भुक्तानी गरिसक्न महासङ्घले सञ्चार प्रतिष्ठान व्यवस्थापनको ध्यानाकर्षण गराउँदै सोका लागि आवश्यक पहलकदमी गर्न महासंघका सम्बन्धित शाखालाई आग्रह गरेको छ ।

असार मसान्तभित्र सञ्चार प्रतिष्ठानबाट सो सम्बन्धमा भएगरेका कामकारबाही मूल्याङ्कन गरी आगामी साउन महिनादेखि नयाँ चरणको अभियान सुरु गर्ने पनि बैठकले निर्णय गरेको छ ।

-दैनिक नेपाल