ओलीका पक्षमा दुईतिहाई अञ्चल र जिल्ला अध्यक्षको अपिल

779 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

काठमाडौं । नेता माधवकुमार नेपालको समुहले आफ्ना पक्षमा धेरै प्रतिनिधि रहेको आँकडा सार्वजनिक गरिरहेका बेला नेकपा एमालेका अञ्चल, जिल्ला, जनसंगठन र विभागका पदाधिकारीले नेतृत्व हस्तान्तरणको पक्षमा  सामूहिक अपिल  गरेका छन् ।


उनीहरुले नेतृत्व हस्तान्तरणको मान्यतामा सहमत हुन र नवौं राष्ट्रिय महाधिवेशनवाट संसदीय दलका नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन संयुक्त अपिल गरेका हुन् । बुधबार बागबजारमा ११ अञ्चल ईन्चार्ज, ४५ जिल्ला अध्यक्ष, १९ जनसंगठनका अध्यक्ष र १३ वटा केन्द्रीय विभागका सचिवले संयुक्त अवधारणा र अपिल प्रकाशित गरी सहज नेतृत्व हस्तान्तरण पद्धतिलाई रोके नेतृत्वमा प्रदुषण बढ्ने र आन्दोलन संकटमा पर्ने भन्दै नेतृत्व हस्तान्तरणको पक्षमा उभिन सबै प्रतिनिधिलाई आव्हान गरेका हुन् ।

hardik1एमालेमा भूगोलको कमाण्ड सम्हालेका दुईतिहाई भन्दा बढी नेताहरुले पार्टीमा एउटै ब्यक्ति निरन्तर भइरहने र नेतृत्व हस्तान्तरणको कुरा आएपछि पार्टी पंक्तिमा कृतिम विभाजन गर्ने र डनवाद र धनवादका नाममा सिंगो पार्टीलाई लञ्छित गर्ने प्रयास भइरहेको भनी चिन्तासमेत ब्यक्त गरेका छन् । उनीहरुले महाधिवेशनका सार्वभौम प्रतिनिधिमाथि विक्री भएको जस्ता अराजनीतिक टिप्पणी गरी अपमान नगर्न समेत वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । एमालेका १७ अञ्चल मध्ये ११ वटा अञ्चल ईञ्चार्ज, भूगोलका ७५ जिल्ला अध्यक्षमध्ये ४९, अन्य विशेष जिल्ला कमिटीका ३ अध्यक्ष, २२ जनसङ्गठन मध्ये १९ अध्यक्षले नेता ओलीलाई विजयी गराउन अपिल गरेका हुन् । यसरी अपिल गर्ने अञ्चल ईञ्चार्जहरूमा गञ्डकीका खगराज अधिकारी, नारायणीका काशीनाथ अधिकारी, लुम्बिनीका छविलाल विश्वकर्मा, सगरमाथाका धर्मनाथ शाह, सेतीका भानुभक्त जोशी, भेरीका देवराज भार, भारत प्रवासका देवी ज्ञवाली, जनकपुरका केशव देवकोटा, कर्णालीका गोरखबहादुर बोगटी, कोशीका राजेन्द्र गौतम छन् । यस्तै उपत्यकाका सहईञ्चार्ज सानुकुमार श्रेष्ठ, धवलागिरीका सहइञ्चार्ज गणेश तिमल्सिनाले पनि नेतृत्व हस्तान्तरणका पक्षमा ऐक्यवद्धता जनाएका छन् ।

 

दाङ, कपिलबस्तु, बाँके, गोरखा, लम्जुङ, दोलखा, जाजरकोट, चितवन, मकवानपुर, पाल्पा, रुपन्देही, नवलपरासी, डोटी, सल्यान, सर्लाही, दार्चुला, धादिङ, कास्की, मुगु, डोल्पा, पर्वत, काठमाडौं, काभ्रे, उदयपुर, भोजपुर, म्याग्दी, भक्तपुर, ललितपुर, प्युठान, बैतडी, मुस्ताङ, गुल्मी, बारा, सुर्खेत, तेह्रथुम, तनहुँ, रसुवा, मनाङ, स्याङ्जा, बर्दिया, वाजुरा, ओखलढुंङ्गा, सिराहा, अर्घाखाँची, पाँचथर लगायत जिल्लाका अध्यक्षहरु रहेका छन् । यस्तै विशेष जिल्ला कमिटीहरुमा अमेरिका प्रवास, विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटीका अध्यक्षहरुले पनि ओलीलाई अध्यक्ष निर्वाचित गर्न आव्हान गरेका छन् । कार्यक्रम बाहिर रहेका ५ जिल्ला अध्यक्षहरुले आव्हानमा हस्ताक्षर गरेर पठाएका थिए भने संयुक्त पत्रकार सम्मेलनमै ४५ जिल्ला अध्यक्षहरु उपस्थित थिए ।

कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेत, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल, महासचिव नविना लामा, प्रचार विभागका सचिव सूर्य थापा, सम्पर्क विभागका सचिव डा। भीष्म अधिकारी, शिक्षा विभागका सचिव चैतन्य शर्मा, विदेश विभागका सचिव केशव पाण्डे, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याललगायतको पनि ऐक्यवद्धता थियो ।

पत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीलाई सही दिशामा लैजानका लागि नेता केपी ओलीको विकल्प नभएको बताउँदै उहाँलाई सहमतिका आधारमा अध्यक्ष बनाउन आफूहरुको प्रयास जारी रहेको वताइन् । उनले लामो समय नेतृत्वको अवसर पाएका नेता माधवकुमार नेपाललाई भन्दा नेता ओलीलाई अध्यक्ष बनाउनु न्यायिक, तार्किक र उपर्युृृक्त हुने भण्डारीको भनाई थियो । ओली समूहमाथि ‘धनवाद र डनवाद’को आरोप लगाइएकामा चिन्ता व्यक्त गर्दै उपाध्यक्ष भण्डारीले भनिन्, ‘वास्तवमा अहिले कागले आफ्नो नाम आफैले काट्छ भन्ने उखानको चरितार्थ भएको छ, विगतको नेतृत्वले पार्टीमा सङ्गठित सदस्यता वितरणमै के कति जालझेल र किर्ते गरेको छ भन्ने मलाई पनि थाहा छ ।’

एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले पार्टीको सातौं महाधिवेशनले गणतन्त्र र संविधानसभाको विकल्पमा जाने नीति लिन सकेको भए पार्टी र देश धेरै अघि बढिसक्ने भन्दै अब त्यस्ते गल्ती नगर्न आग्रह गरे । सातौं महाधिवेशनमा संविधानसभामा जानु पर्ने राजनीतिक कार्यदिशा शंकर पोखरेलले प्रस्तुत गरे पनि तत्कालीन महासचिव माधवकुमार नेपालले प्रस्तुत गरेको त्यस विपरितको राजनीतिक प्रतिवेदन पार्टीसत्तालाई प्रयोग गरी पारित गराइएको थियो । जसको एक वर्षपछि पार्टी महाधिवेशनले पारित गरेको नीति परिवर्तन गरी संविधानसभा र गणतन्त्रमा जानु पर्ने पोखरेलको प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेको थियो । गणतन्त्रको राजनीतिक लाइनको मुख्य जस एमालेले पाउने अवस्थावाट तत्कालीन महासचिव नेपालकै कारण एमाले बञ्चित हुन पुगेको थियो ।

कार्यक्रममा ओलीमाथि गरिएका तुच्छ गाली गलौज र प्रतिनिधिहरुको मित्थ्यांङ्क नगर्न जिल्लाका नेताहरुले आग्रह गरेका थिए । कार्यक्रममा लुम्बिनी ईञ्चार्ज विश्वकर्माले सहज नेतृत्व हस्तान्तरणको वाटो खोल्न र राजनीतिक नेतृत्वमाथि बढेको अविश्वास घटाउन आग्रह गरे । नारायणी ईञ्चार्ज अधिकारीले पार्टीलाई खास खास बेलामा विचारको नेतृत्व दिन सक्ने नेता भएकाले ओलीलाई अध्यक्ष बनाउन आग्रह गरे । सेतीका ईञ्चार्ज जोशीले नेता ओलीका पक्षमा ६५ प्रतिशत भन्दा बढी प्रतिनिधि रहेको जनाउँदै परिणामका धैर्य गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला अध्यक्षहरूका तर्फबाट वैतडीका अध्यक्ष दामोदर भण्डारीले अवधारणपत्र प्रस्तुत गर्दै ओलीलाई अध्यक्ष बनाउन वर्तमान अध्यक्ष झलनाथ खनालको प्रस्ताव र बरिष्ठ नेता माधवकुमार नेपालले समर्थन गर्नुपर्ने बताए । स्याङ्जा अध्यक्ष पद्मा अर्याल, दाङ् अध्यक्ष नरुलाल चौधरी, मुगु अध्यक्ष मोहन बानियाँ, अनेरास्ववियुकी महासचिव नविना लामा लगायतले नेतृत्व हस्तान्तरण गरी पार्टीका सहज नेतृत्व हस्तान्तरणको पद्दति स्थापित गर्न आग्रह गरे । उनीहरुले ओलीलाई अध्यक्ष बनाएर एमालेले पार्टीमा सहज नेतृत्व हस्तान्तरणको पद्दति बसेको सन्देश दिनु पर्ने पनि वताए । कार्यक्रममा नेपाल समुहले आफ्नो तर्फवाट सूची सार्वजनिक गरेका रुपन्देही, दाङ, स्याङ्जा लगायतका जिल्ला अध्यक्षहरु पनि उपस्थित थिए ।

-रातो सुर्य डट कमवाट