भानुभक्तलाई विवादमा तान्नु जोखिमपूर्ण

519 पटक पढिएको

सम्पादक: Dhadingnews.com

माधव अधिकारी
imagesकाठमाण्डौ – आदिकवि भानुभक्त आचार्यलाई विवादमा तान्नु नेपाली साहित्यका लागि जोखिमपूर्ण भएको धारणा चितवनमा आयोजित एक कार्यक्रमको सहभागीले व्यक्त गरेका छन् ।
भानुभक्त द्वितशतवार्षिकी समारोह नारायणी अञ्चल समितिले शनिवार आयोजना गरेको कविता वाचन तथा विचार विर्मश कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै कवि तीर्थ श्रेष्ठले साम्प्रदायिकताका नाममा विखण्डनमा देश फसिरहेको बेला भानुलाई विवादित बनाउनु खतरापूर्ण भएको बताए । युवा समालोचक महेश पौड्यालले भानुभक्त आदिकवि हुन् या होइनन् भन्ने विवाद निरर्थक भएको बताउँदै भानु नेपाली संस्कृतिका साझा संयोजक भएकोमा जोड दिए । राष्ट्रिय एकताका प्रतीकलाई विवादमा ल्याउने क्रममा भानुभत्तलाई पनि प्रहार गर्न खोजिएको भन्दै समालोचक पौड्यालले वधुशिक्षा लगायतका कृतिलाई तत्कालीन परिस्थिति र चेतनाका आधारमा मुल्याङ्कन गरिनुपर्ने आबश्यकता औल्याए । कवि सुमन पोखरेलले भानुभक्त पहिलो लोकप्रिय कवि भएकाले उनीनै आदिकवि भएको धारणा राखे । समारोहमा चितवन, पोखरा, हेटौंडा, रौतहट, विराटनगर, बारा, तनहुँ, गोर्खा, पर्सा, लगायतका स्थानबाट आएका ३० जना कविहरुले कविता वाचन गरेका थिए । सरस्वती प्रतीक्षा, सरिता तिवारी, वेनन नेपाल, तेजविक्रम देबकोटा, अनिल श्रेष्ठ, लालबहादुर क्षेत्री, पुरुषोत्तम, ढकाल, प्रतिभा पाठक लगायतका कविले देशको समसामायिक वेतिथिमाथि गुनासो गर्दै कविता वाचन गरेका थिए ।
भानुभक्त द्वितशतवार्षिकी समारोह नारायणी अञ्चल संयोजक भूपिनको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठ रहका थिए । कवि किसान प्रेमीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रको सञ्चालन कवि निमेष निखिलले गरेका थिए ।