रेशमखेतीले उकास्यो अधिकारी परिवारलाई

1239 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

रेशमको धागो उत्पादन गरिंदै । रेशमको धागोवाट बुनेको सल,पछ्यौरा लगायतका कपडाहरुको वजारमा निकै माग रहेको छ ।  तस्बिर : केशव अधिकारी /धादिङ न्युज
रेशमको धागो उत्पादन गरिंदै । रेशमको धागोवाट बुनेको सल,पछ्यौरा लगायतका कपडाहरुको वजारमा निकै माग रहेको छ ।
तस्बिर : केशव अधिकारी /धादिङ न्युज

भल्टार ( बैरेनी) ःएक दशक अघि परम्परागत खेतीवाली छाडेर खेतवारीमा किम्बुघांस रोप्दा धादिङको  बैरेनी गाविस वडा नम्बर ८ भल्टारका रामनाथ अधिकारी धेरैको हांसोको पात्र बन्नपुगेका थिए । मकै र धान खेतीलाई मात्र महत्वदिंदा आर्थिक अवस्थामा सुधार नहुने देखेर आफ्नो खेतवारीमा व्यवसायिक रुपमा किम्वुको विरुवा रोपेर रेशमपालन थाल्दा अधिकारीका छरछिमेकीले त्यतिखेर  यो परिवारले खान नपाउने भयो भन्ने सोचेका थिए । छिमेकीले भनेको कुरालाई वेवास्ता गर्दै लगनशिलताका साथ व्यवसायिक रुपमा रेशमखेती तर्फ लागेको कारण  अधिकारी परिवारले  अहिले घरमै वसि बसि वार्षिक १९ लाख रुपैया सम्म कमाउन सफल भएका छन ।
परम्परागत खेतीवालीलाई छाडेर धान फल्ने खेतमा किम्बुको बिरुवा लगाउंदै घरमा रेशम पाल्न थालेपछि रेशमखेतीका वारेमा धेरै कुरा सिक्ने अवसर पाएको अधिकारी परिवारको लागि अहिले यो व्यवसायले  निकै साथ दिएको छ । बाबु रामनाथले शुरु गरेको व्यवसायिक रेशमखेतीलाई उनका छोरा नारायणले पनि निरन्तरता दिंदै आईरहेका छन । रेशमखेतीलाई मुख्य पेशाको रुपमा लिएर रेशम प्रशोधन तथा स्रोत केन्द्र नामक व्यवसायिक कम्पनि स्थापना गरेका नारायणले हिजो आज यहि कम्पनिवाट रेशमको कपडा पनि उत्पादन गर्न थालेका छन ।
पृथ्वीराजमार्गको किनारमै पर्ने अधिकारीको घरमा रेशम किरापालन,रेशम प्रशोधन प्रविधि ,कोया उत्पादन,भण्डार,खरिद,विक्रि,रेशम धागो र रेशमजन्य सामाग्री उत्पादन तथा विक्रिका साथै घांस श्रोत केन्द्र समेत रहेको छ ।  धादिङ जिल्लामा बढ्दै गएको व्यवसायिक रेशमपालनलाई प्रोत्साहन गर्न पनि निजी क्षेत्रवाट जिल्लाकै पहिलो रेशम प्रशोधन तथा स्रोत केन्द्र स्थापना गरेको नारायण बताउंछन ।    जिल्लाका विभिन्न स्थानमा र आफ्नै घरमा उत्पादित कोकुन प्रशोधन गरेर त्यसवाट रेशमजन्य कपडा उत्पादन शुरु गरेका अधिकारीले यहि व्यवसयावाट हिजो आज बार्षिक १९ लाख रुपैया कमाउन सफल भएका छन । अधिकारीको उद्योगले महिला र पुरुष दुवैका लागि हुने कपडाहरु उत्पादन गर्ने गरेको छ । रेशमवाट उत्पादित महिलाले ओढ्ने सलको न्युनतम मुल्य ५ सय देखि ७ सय रुपैया पर्दछ छ भने रोल कपडा प्रतिमिटर ८ सय देखि १ हजार ५ सय रुपैया सम्ममा घरवाटै विक्रि हुने गरेको अधिकारीले बताए । धादिङ जिल्लामा व्यवसायकि रुपमा रेशमखेती गर्ने किसानको संख्या बढ्दै गएपनि जिल्लाभरिको उत्पादनले एक महिनाका  लागि मात्र धान्ने भएपछि चितवन लगायतका जिल्लावाट रेशमधागो खरिद गरेर ल्याउने गरेको अधिकारीले बताए । रेशमपालनलाई व्यवसायिक वनाउंदै रेशमधागो उत्पादनका लागि सरकारी स्तरवाट पहल गरिनुका साथै किसानहरुलाई प्रोत्साहन दिने कार्यक्रमहरुको आवश्यकता रहेको उनको सुझाव छ । धादिङ जिल्लाको सलाङ,नलाङ,बैरेनी,भुमेस्थान र नौविसे लगायतका गाविसका १ सय ५० कृषक  परिवारले व्यवसायिक रुपमा रेशमखेती गर्दै  आईरहेका छन ।  रेशमखेतीको प्रवर्धनका लागि किसानहरुलाई  प्राविधिक सहयोग पुर्याउंदै आएको प्रजनन पिढि तथा विज कोया श्रोत केन्द्रका अनुसार धादिङ जिल्लामा बार्षिक रुपमा ७ मेट्रिक टन कोकुन उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित कोकुन स्थानीय स्तरमानै विक्रि हुने भएपछि रेशमखेती तर्फ किसानहरुको आकर्षण बढेको कृषि प्राविधिकहरको भनाई छ  ।
छोराले आफ्नो सोचलाई निरन्तरता दिएकोमा रामनाथ अधिकारी पनि निकै खुसी देखिन्छन । एक दशक अघि आंफुले जुन सोच राखेर यो व्यवसायमा हात हालेको थिएं त्यो सोचलाई  अहिले छोराले पुरा गरेर परम्परागत खेतीवालीको विकल्पको पुष्टि गरेको उनि बताउंछन । अधिकारी परिवारको सफलतापछि  अहिले उनका छरछिमेकी र आसपासका गाउंलेहरुले समेत व्यवसायिक रुपमा रेशमखेती गर्न थालेका छन । अधिकारी परिवारले रेशमखेती संगै व्यवसायिक रुपमा भैसीपालन पनि गर्दै आईरहेका छन । रेशमखेतीका लागि किम्बु चाहिने र सवै किम्वुघांस किराले मात्र खाएर नभ्याउने भएकाले पनि भैसीपालनको लागि सजिलो भएको उनिहरुको भनाई छ ।
धादिङ जिल्लामा रेशमखेतीका लानगि अगुवा किसान वनेका अधिकारी परिवारले जिल्ला र जिल्ला वाहिर गएर किसानलाई रेशमखेती सम्वन्धी तालिम दिनुका साथै विभिन्न स्थानमा हुने गरेको मेला महोत्सवमा आफ्नो उत्पादन प्रदर्शनीमा राख्ने गरेका कारण रेशमजन्य उत्पादन खरिदका  लागि ग्राहकहरु घरमै आउने गरेका छन ।