जय नेट, जय फेसबुक

1175 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दीपेन्द्र रिजाल
dipendra rijalरङ्गको दुनियाँमा अंङ्ग र ढङ्ग नहुनेहरु विलखवन्दमा पर्नु स्वभाविक नै भैसक्यो । हुन त उखानका वखान लाउनेहरु कानो देशमा गए एउटा आँखा चिम्लनु, खोरन्डोको देशमा गए एक खुट्टो खोच्याउनु भन्थे त्यसैले होला सुचना र प्रविधिले द्रुत गतीमा फड्को मारेपछि शैक्षिक निरक्षररुपी जोइटिङ्ग्रेका दिन पनि गए, मोइतिघ्रेका दिन पनि गए । आजको सुचना र संचारको युगमा जो प्रविधिको पुच्छर बन्न सक्यो त्यो तुच्छर हुनु परेन जो पविधिबाट टाढा रहयो त्यसको दिन गयो । ‘विद्याविहीन पशु’ भनेर रट्नेहरुले अव ‘फेसबुक विहीन पशु’ भनेर खट्ने प्रपञ्च मिलाइसके भने सबै कुरामा फेल भएपनि इमेलको खेलले रेल र सेल हात पार्ने धेरै छन् यहाँ । जिन्दगि नै चेट हुन लागेकाले इन्टरनेटमा भेट भएपछि युग नै फेरे झैँ सेट भै टोपल्छन् । हुँदा हुँदा आजभोली तरुनातन्नेरीले झोक्राउने, असन्तोकीले वगोव्र्याउने ठाउँ बनेको छ फेसबुक ।
विश्व इतिहाँसमा मार्क जुगरर्वाले अचम्मकै सञ्जाल विछ्याए । दनियाँलाई फेसबुकरुपी सञ्जालको जालमा फसाएर आहालमा माछो मार्ने यी मित्रलाई पनि जम्ले हातले जदौ गर्नै पर्छ किनकि उम्रेदेखि घुम्रेसम्म, खाइलाग्दा देखि जुम्रेसम्म घोत्लिन मिलेको छ फेसबुकमा । वावुले छोरालाई, कालाले गोरालाई, गुरुले चेलोलाई, भेट्नोले वेलोलाई, हजुरवादेखि नातीसम्म तलदेखि माथिसम्म, हाकिमदेखि नोकरसम्म लाटादेखि जोक्करसम्म सबैलाई साथीको अप्राकृतिक सम्बन्ध बढाउँछ फेसबुकले । कम्तिमा दिनमा २÷४ चोटी, २÷४ वटीसँग फेसबुकमा गोटीचाल्न र कसैका मन गाल्न नपाए फ्रेस नहुने जनशक्ति पनि अनगिन्ति भैसके भने फेसबुकलाई फ्रेसबुकका रुपमा लिँदा पनि हुने भो । ट्वाइलेटमा लेट हुनेगरी फेसबुकमा भेट हुने जनशक्तिलाई न दिनको १२ बजे न रातको १२ बजे के ठेगान ? एकजना मेरा पुरुष मित्र गतिली पोथीको चित्र राखेर फेसबुकमा ठेगाना खोल्नासाथ साथीको रिक्वेष्ट हान्नेको धुइरो लागेको देखेर म नै तीनछक खाएँ । गतिलो तस्बिरमा पोथीका शीर देखेपछि मन पराउने र कमेन्ट गर्ने पुरुष वीरको टाउकोमा गिर खेल्ने कति भए कति ?
हजुरबाले लवर भेट्ने यही फेसबुकमा, अलपत्रकारले खवर भेट्ने यही फेसबुकमा । दुःखीयाले सारङ्गी रेट्न मिल्ने, प्रेमी प्रेमीकाले तीर्खा मेट्न मिल्ने, ताली हाने पनि मिल्ने, गाली ठानेपनि मिल्ने, मनमिल्ने साली छानेपनि मिल्ने गजव कै छ है यो फेसबुक । त्रिशुलीमा गाडि झर्दा पनि लाइक अरे, भक्तपुरमा जहाज दुर्घटना यात्रु मर्दा पनि लाइक अरे, पृथ्वी राजमार्गमा घण्टौँ – घण्टा चक्काजाम पर्दा पनि लाइक अरे, आफ्नै प्रेमीले हसिनाको हत्या गर्दा पनि लाइक अरे, ध्रुवे हात्तीले हिंस्रक बनेर आतङ्क छर्दा पनि आइक अरे । शिवशंकर भोला लाइकको अर्थ कतिजना फेसबुक धारीलाई थाहा होला ? पेट अमिलो हुँदा डकार्न पनि मिल्ने, कसैलाई तथानाम हकार्न पनि मिल्ने, चित्त नबुझे सपार्न पनि मिल्ने जे होस् अजव गजवकै सुविधा छ है फेसबुकमा । कतै संस्कृति, कतै विकृति, कतै सुगमसंगीत, कतै दुर्गन्धित यस्तै यस्तै देखिदैछ फेसबुकका पानाहरु ।
कतिको पुरानो साथीसँग मेल भा’छ, कतिलाई कागलाई वेल भा’छ, कतिलाई नेल र समय गुजार्ने खेल भा’छ फेसबुक । प्रेममा घायल हुनेहरु फेसबुकका फायल पल्टाउनासाथ स्मायल पनि भए, मिसाइल पनि भए । करिव १ महिने फेसबुक मित्रताबाटै कञ्चनपुरकी मेरी एकजना साथीसँग झापाली केटो प्रणय सुत्रमा बाँधिने भएपछि भने फेसबुकको दम कम नभएको अड्कल काटेँ मैले । हुन पनि वेफ्वाँक्का गफ छाट्न नि मिलेकै छ, ४ बच्चिकी आमाले १७ वर्षे कुमारी बनेर ढाट्न पनि मिलेकै छ, निश्छल मनसँग कलुषित मन साट्न पनि मिलेकै छ । छाक टार्ने काउली बन्दा पनि फेसबुकमा, वेइमानको कालो धन्दा पनि फेसबुकमा । विहान उठेर हातमुख धुनु, ट्वाइलेट जानु पनि खबर जस्तै भा’छ फेसबुक समाचार र संदेष प्रवाह गर्न लहर आ’छ । छाडा संस्कृतिमा हुर्किएका पाडाहरुले झाडा गर्ने ठाउँ जस्तै भएको छ यो । टेलिकम टावरका पावरले नधाने पनि नेटमा झुण्डिएर वावुको कमाइ चेट बनाउने लम्पेटहरु बृद्धि हुँदैछन् दिनदिनै ।
गृहिणीको चुलोमा तरकारी डड्छ फेसबुकले, विद्यार्थीको परीक्षामा नम्बर घट्छ फेसबुकले, छाक टार्न धौ धौ पर्नेका रिचार्जरुपी मिटर चड्छ फेसबुकले, कसैको दम बढ्छ, कसैको प्रेसर घट्छ, कोही मानसिक रोगले धड्छ भने फेसबुकले प्रभाव नछोडेको ठाउँ कहाँ पो होला र ? स्टाटस छोड्नु र कमेन्ट हान्नुको दौरानमा व्यस्त जनशक्तिलाई ताजा र स्वस्थ्य बनाउन सक्ने खुवी छ फेसबुकमा । विचरो श्रीमतीभक्त नव श्रीमान आफ्नो श्रीमतीको फोटो पोष्ट गर्दा गर्व ठान्छ र सयौँ केटाले लाइक गर्दा धन्यवादरुपी कमेन्ट हान्छ । एकपटक मेरै स्कूलका एकजना मित्र नराम्ररी विरामी परेछन् र फेसबुक मार्फत स्टाटस छोडेछन् अनि उक्त साथी शक्त विरामी परेकोमा मन पराउने फेसबुकधारी मित्रहरुको चटारो । मेरो घर नजिकै एकजना वेहुलाले जग्गेमा वेहुलीको कौतुहलता विर्सिएर फेसबुकमा घोत्लिएको दृश्य पनि देखें, कलेजमा गुरुको लेक्चरको वास्ता नगरी कक्षाभित्रै फेसबुकमा व्यस्त शिष्य पनि देखें । वुक देख्नासाथ टाउको दुख्ने र निन्द्रा लाग्ने जनशक्तिलाई फेसबुकले तानेको, आमाको लाम्टा चुस्दैकाले पनि यो प्रविधी जानेको देख्दा लाग्छ आजको युगमा सर्वेसर्वा भनेकै फेसबुक हो । त्यसैले भनूँ भनूँ लागिरहन्छ जय नेट, जय फेसबुक ।