साहित्यकार र समाजसेवीलाई बुद्धि खगि दान स्मृति प्रतिष्ठानले सम्मान गर्ने 

642 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बुद्धि खगि दान स्मृतिचितवन,-बुद्धि खगि दान स्मृति प्रतिष्ठानले आउदो शनिबार गितानगरमा एक कार्यक्रम गरि साहित्यकार उषा शेरचन र समाजसेवी मिना खरेललाई सम्मान गर्ने भएको छ । समाजसेवी बुद्धि सागर बास्तोला र उहाँका धर्मपत्निहरु खगी कुमारी र दान कुमारीको स्मृतिमा उहाँकी छोरी साहित्यकार सुमित्रा पौडेल आँचलले स्थापना गर्नु भएको सो प्रतिष्ठानले शेरचनलाई तीन दशक लामो साहित्य साधानको उच्च कदर गर्दै सम्मान गर्न लागेको हो । २०१२ साल भाद्र ६ गते गणेश टोल, नालामुख पोखरामा जन्मनु भएकी साहित्यकार शेरचन हाल काठमाण्डौं बस्दै आउनु भएको छ । स्नातक तह उत्तिर्ण शेरचनका नजन्मेका आस्थाहरु कविता संग्रह, अक्षरहरुका शिविरबाट मुक्तक संग्रह, सर्वकालिन पीडा र जागृतिका शङ्खघोष कविता संग्रह, तेस्रो रङ्ग कथा संग्रह प्रकाशित छन् । २०३५ साल देखी साहित्य सृजनामा लाग्नु भएकी शेरचनका “अभीप्सा” , “सञ्चयन” , “मेरो माटो मेरो गीत” , “संवेदन” र “आकाश छुने रहर” नामक गिति एल्बम पनि निस्कीएका छन् । शेरचनलाई यस अघि पनि दर्जनबढि सम्मान, पदक तथा पुरस्कारले सम्मान गरि सकीएको छ । प्रतिष्ठानले स्थापना गरेको बुद्धि खगि दान स्मृति साहित्य सम्मान २०७१ बाट उहाँलाई सम्मान गर्न लागिएको हो ।
यस्तै खरेलले हिंसा पिडित असहाय महिलाको पुर्नस्थापना तथा सडक बालबालिकाको पुर्नस्थापनाका लागि आफ्नो जिवनको प्रवाह नगरी खेलेको भुमिकाको कदर गर्दै सम्मान गर्न लागेको हो । दुई दशक देखी समाजसेवामा कृयाशिल खरेल असहाय महिलाको पुर्नस्थापना केन्द्रका रुपमा रहेको आदर्श गृह, सडक बालबालिकाको क्षेत्रमा काम गर्ने हाम्रो घर लगायतका संस्थाको संस्थापक हुनु हुन्छ । आदर्श नारी बचत तथा ऋण सहकारी संस्था, आदर्श नारी क्लिनिक तथा स्वास्थ्य परामर्श केन्द्र, नारायणगढ सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका संस्थाको स्थापना तथा संचालन समेत गर्नु भएको छ । उहाँलाई प्रतिष्ठानले स्थापना गरेको बुद्धि खगि दान स्मृति परोपकार सम्मान २०७१ ले सम्मान गर्न लागिएको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा बुद्धि खगि दान स्मृति प्रतिष्ठानकी अध्यक्ष ईन्दिरादेवी शर्माले सो अवसरमा संस्थाकी संस्थापक तथा संरक्षक साहित्यकार सुमित्रा पौडेलका दुई कृतिहरु बिमोचन समेत गरिने जानकारी दिनु भयो । शर्माका अनुसार गजल संग्रह प्रवासीका कोशेली र मुक्तक संग्रह औकातको विमोचन गर्न लागिएको हो ।
 विविसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा अन्य विभिन्न विशिष्ट पाहुनालाई समेत आमन्त्रण गरिएको संस्थाका महासचिव मोहन बस्यालले जानकारी दिनु भयो । उहाँले सो अवसरमा बुद्धि सागर बास्तोलाले स्थापना गरेको देवनगरको देवज्योति निमाबीका दलित, जनजाति तथा विपन्न समुदायका दुई सय पचास जना विद्यार्थीलाई झोला वितरण गरिने पनि जानकारी दिनु भयो ।
कार्यक्रममा बुद्धि खगिदान स्मृति राष्ट्रिय प्रतिष्ठानका सल्लाहकार एवं परोपकार सम्मान छनौट समितिका संयोजक प्रेम रिमाल र संस्थाका उपाध्यक्ष बाबुराम न्यौपानेले  बुद्धि सागर बास्तोलाको जिवनी तथा योगदानबारे प्रकाश पार्नु भएको थियो ।
बुद्धि खगिदान स्मृति राष्ट्रिय प्रतिष्ठानका सल्लाहकार तथा साहित्य सम्मान छनौट समितिका संयोजक पुष्प अधिकारी अञ्जलीले संस्थाको पृष्ठभुमि, सम्मान गर्न लागिएका व्यक्तित्व बारे जानकारी गराउनु भएको थियो । कार्यक्रम भदौ २१ गते शनिबार गितानगर ४ देवनगरमा रहेको देवज्योति निमावीको परिसरमा दिउसो १२ बजे पछि शुरु हुने छ ।