भलवाढीले ग्रामीण सडकहरु जताततै जिर्ण

748 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

पृथ्वीराजमार्गको सुत्केरीढुङ्गावाट बैरेनी गाविसको पाल्चोक जोड्ने ग्रामीण सडकमा जताततै यस्ता खाल्डा देखिन्छन ।  तस्बिर : केशव अधिकारी /धादिङ न्युज
पृथ्वीराजमार्गको सुत्केरीढुङ्गावाट बैरेनी गाविसको पाल्चोक जोड्ने ग्रामीण सडकमा जताततै यस्ता खाल्डा देखिन्छन ।
तस्बिर : केशव अधिकारी /धादिङ न्युज

धादिङ,- वर्षासँगै आएको बाढी र पहिरोका कारण धादिङ जिल्लाको अधिकांश ग्रामीण सडक जिर्ण बन्दै गएपछि यात्रुहरु दिनहुं सस्ती भोग्न वाध्य भएका छन । जिल्लाका अधिकांश सडक बर्षाका कारण भत्किंदै गएको भएपनि समयमै मर्मत र स्तरउन्नती हुन नसक्दा सवारी आवागमनमा समस्या आउने गरेका यातायात मजदुरहरु बताउंछन ।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीवाट उत्तरी भेगका गाविसहरु जोड्ने मुख्य दुई वटा सडकमा यो बर्ष बर्षायाममा समेत मोटर चलिरहेको भएपनि सडकको अवस्था निकै जिर्ण रहेका कारण यात्रु र सवारी साधनले सास्ती भोग्न वाध्य हुनुपरेको धादिङ यातायात व्यवसायी संघका अध्यक्ष अर्जुन गोर्खाली बताउनुहुन्छ ।
कतिपय सडकको पुर्ननिर्माण तथा स्तरोन्नति कार्य राम्रोसंग हुन नसक्दा बर्षेनी धादिङ जिल्लामा सडक निर्माण तथा मर्मतका लागि करोडौं रुपैया खर्च हुंदै आईरहेको स्थानीयवासी बताउंछन । सडक मर्मत र स्तर उन्नतीका नाममा न्यून गुणस्तरका कच्चा पदार्थको प्रयोगका कारण सडक भत्किएको सर्वसाधरणको गुनासो छ । जिल्लाको अधिकांश वस्ति ग्रामीण भेगमा पर्ने भएकाले अव समयमै सडक मर्मत नहुने हो भने दशैका लागि चाहिने अत्यावश्यक उपभोग्य सामाग्रीहरु गाउं पुर्याउन कठिनाई हुने अध्यक्ष गोर्खालीको भनाई छ ।
तीस बर्ष देखि निर्माण हुंदै आईरहेको धादिङबेसी–सल्यानटार सडक, धादिङबेसी–साङकोष, तिप्लिङ सडक निर्माण र मर्मतका नाममा बर्षेनी करोडौं रुपैया खर्च हुंदै आईरहेपनि सडकको अवस्था भने निकै जोखिमपूर्ण रहेको उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष वेदवहादुर खांड वताउनुहुन्छ ।
जिल्ला विकास समिति धादिङको अभिलेख अनुसार पचास गाउं विकास समिति रहेको धादिङ जिल्लाको ४५ वटा गाविसमा सडक सञ्जाल विस्तार भएको छ । जिल्लाभर धुले सडक १२९० किलोमिटर,ग्राभेल सडक ७० किलोमिटर, ओटासिल सडक धादिङबेसी सल्यानटार सडकको धादिङबेसी भकारे खण्डको १८ किलोमिटर र भिमढुङ्गा लामिडांडा सडकको भिमढुङ्गा जिवनपुरको १८ किलोमिटर खण्ड रहेको छ । त्यसैगरी सोप्याङ देखि नौविसे हुंदै काठमाण्डौको नागढुङ्गा सम्म २६ किलोमिटर त्रिभुवन राजपथ,नौविसे देखि मौवाखोला सम्म ६७ किलोमिटर पृथ्वीराजमार्ग र मलेखु धादिङवेसी १७.५ किलोमिटर कालुपाण्डे मार्ग धादिङ जिल्लामा रहेको छ । जिल्ला विकास समितिले चालु आर्थिक बर्षका लागि जिल्ला भित्रको सडक निर्माण मर्मतका लागि केन्द्रिय वजेटवाट एसटिएन परियोजना अन्र्तगत १० वटा सडकका लागि १ करोड ७१ लाख,जिविस अनुदान वाट ९ वटा सडकका लागि १ करोड ५० हजार रुपैया विनियोजन गरेको छ ।
राष्ट्रिय राजमार्गमा कुनै समस्या हुनासाथ राष्ट्रिय सरोकारको बिषय बनेपनि ग्रामीण सडकहरु महिनौ सम्म मर्मत नहुंदा समेत कसैले चासो नदिने गरेको यातायात मजदुर कृष्णवहादुर रेग्मी वताउनु हुन्छ । रेग्मीका अनुसार जिल्ला विकास समितिले ओटासिल गरिएको भनेर अभिलेख राखेको सडक खण्डनै सवैभन्दा जिर्ण र मर्मतमा धेरै खर्च हुने गरेको छ ।
सडक मर्मतका नाममा बर्षेनी हुने गरेको रकमलाई एकद्धार प्रणालीवाट खर्च गरी बर्षको एउटा सडकको स्तरउन्नती र गुणस्तर कायम गर्नुपर्ने उपभोक्ताहरुको सुझाव छ । सडक जिर्ण भएकै कारण ग्रामीण भेगवाट सदरमुकाम आउने र सदरमुकामवाट गाउं जाने मोटरको यात्रा सधैँ जोखिमपूर्ण हुने गरेको यात्रुहरुको गुनासो छ । बर्षाका कारण सडकको छेउछाउमा पहिरो र सडकमा पानी जमेर ठुला ठुला खाल्डा हुने गरेकाले धादिङबेसी सल्यानटार र धादिङबेसी किन्ताङफेदी सडकमा यात्रा निकै जोखिमपूर्ण हुने गरेको यात्रुहरु बताउंछन ।
धादिङ जिल्लाका विभिन्न ग्रामीण भेगमा निर्माण गरिएका कच्चि सडकहरुको उचित मर्मत सम्भारमा स्थानीयले चासो नदिंदा ति सडक जिर्ण बन्न पुगेको जिल्ला विकास समितिका एक प्राविधिकले बताए । चाडपर्वहरु नजिकिदै जाँदा सडकहरु जिर्ण बनेपछि ती सडकहरुमा सवारी साचालन गर्न निकै कठिनाई भएको छ । बर्षातका बेलामा गएको बाढी पहिरो र भेलका कारण अधिकांश कच्चि सडकहरु बिग्रिएका हुन । भल वाढीले खोलेको सडकमा सवारी साधन गसडि हालेपनि बाटोमा नै फस्ने गरेका कारण कतिपय यात्रुहरु गन्तव्यमा पुग्न नसकि विच बाटोमा नै अलपत्र पर्ने गरेका बताउंछन । ग्रामीण कच्चि सडकमा सवारी चालक र यात्रुहरु ज्यानको बाजी थापेर यात्रा गर्नुपरेको दुखेसो व्यक्त गर्छन । सडक जिर्ण भएपनि यात्रुहरु वस,ट्रक र जीपको छतमा बसेर कष्टकर यात्रा गर्न वाध्य हुने गरेका छन । जसका कारण दुर्घटनाको जोखिम निकै बढेको उनीहरुको गुनासो छ ।
ग्रामीण भेगमा थुप्रै कच्चि सडकहरु निर्माण भएता पनि ती सडकहरुको उचित मर्मत सम्भार र व्यवस्थित नहुँदा कच्चि सडकहरुको अवस्था निकै नाजुक बन्दै गइरहेका छन ।