पद्मश्री साहित्य सम्मान अन्नपूर्णाको भोजलाई प्रदान गरिने

555 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रत्ननगर -खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रत्येक वर्ष नेपाली साहित्यका वर्षभरि प्रकाशित उत्कृष्ट कृतिलाई अर्पण गर्दै आएको पद्मश्री साहित्य सम्मान यस वर्ष कथाकार मनु ब्राजकीको कथासङ्ग्रह ‘अन्नपूर्णाको भोज’ लाई प्रदान गर्ने भएको छ ।

              पुरस्कारको राशी रु. दुई लाख रहेको छ । सो कथासङ्ग्रहका कथाहरूमा जीवनको भित्री तहसम्म पुगेर जीवनका विसङ्गत पक्षहरूलाई अत्यन्त सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ । आञ्चलिकता, प्रयोग, बहुलता र व्यङ्ग्यचेत र मनोवैज्ञानिक पक्ष गहिरो रूपमा प्रस्तुत भएको छ । साथै यस पुस्तकमा जीवनका निर्मम पक्षहरूलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै पद्मश्री साधना सम्मान साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । सो सम्मानको राशी रु एक लाख रहेको छ । उहाँले झन्डै पाँच दशकदेखि कथा, उपन्यास, नाटक र संस्मरणका माध्यमबाट नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

               उहाँका कृतिहरूमा आञ्चलिकता र प्रयोगका विभिन्न आयामहरू पाइन्छन् । विशेष गरी तराई र मधेशको जीवनशैली उहाँको आख्यानमा पाइन्छ । श्यामव्यङ्ग्य र सहज तरिकाले कथा भन्ने उहाँको आफ्नै विशिष्ट प्रकारको शैली छ । दुवै सम्मान असोज २१ गते पर्ने कोजाग्रत पूर्णिमाको दिनमा प्रदान गरिने छ ।