बुधवारदेखि नयाँ नोट वितरण गरिने

765 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

naya noteकाठमाडौँ, – नेपालीहरूको महान् चाड बडादसैँका लागि नेपाल राष्ट्र बैंकले बुधवारदेखि नयाँ नोट वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म रु ४० अर्बदेखि रु ४५ अर्बसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् ।

पूजा तथा दक्षिणाका लागि सफा नोटको प्रयोग गर्नाले फल प्राप्ति हुने हिन्दू धर्मावलम्बीमा विश्वास रहिआएकाले बर्सेनि केन्द्रीय बैंकले अर्बौंको नयाँ नोट वितरण गर्दै आएको छ ।

यस वर्ष रु ५, १०, २०, ५० र १०० दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रतिव्यक्ति रु ५, १० र २० का दुई÷दुई प्याकेट र रु ५० र १०० दरका एक÷एक प्याकेट गरी रु २२ हजारसम्म नयाँ नोट उपलब्ध गराइने बताउनुभयो ।

विभिन्न बैंक तथा वित्तीय संस्था एवम् सरकारी कार्यालयका लागि भने केही दिनपछिबाट मात्र ती संस्थाको मागअनुसार राष्ट्र बैंकले पटक÷पटक गरेर नयाँ तथा सफा नोट वितरण गर्ने तयारी गरेको छ ।

यस वर्ष रु २० देखि २५ अर्बबराबरको नयाँ नोट र सोहीबराबरका सुकिला नोट गरी रु ४५ अर्ब बजारमा पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ । सबै जिल्लामा पुर्याउनका लागि ठूलो परिमाणमा नयाँ नोट वितरण गर्नुपर्ने अवस्था आएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

चाडपर्वको अवसरमा नयाँ नोट बढी फोहर हुने भएकाले सकेसम्म अबिर तथा अन्य रङको प्रयोग नगरिदिन सर्वसाधारण सबैमा राष्ट्र बैंकले अनुरोध गरेको छ । सबैभन्दा बढी प्रयोगमा आउने रु पाँच, १०, २० का नोटको आयु एक वर्षमात्र हुने भएकाले सुरक्षित प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी रु ५०, १००, ५०० र एक हजारको दुई वर्षसम्म प्रयोग गर्न सकिने भएकाले कम फोहर हुने गरेको छ ।

प्रवक्ता श्रेष्ठले नयाँ नोट छाप्न र पुराना नोट धुनका लागि राष्ट्र बैंकले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले त्यसतर्फ ध्यान दिनका लागि सर्वसाधारणमा अनुरोध गर्नुपरेको स्पष्ट पार्नुभयो ।