‘सेभ दि हिमालय फर रिगार्डिङ’ भन्ने नारा अघि सारेर संसारभर पैदल यात्रा

734 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
SAM_4684धादिङ,- विश्वका प्रत्येक व्यक्तिले एउटा विरुवा रोपे संसारलाई हरियाली वनाउन सकिन्छ भन्ने सन्देशका साथ विश्व पैदलयात्रामा निस्किएका भारतीय नागरिक धादिङ आईपुगेका छन ।
‘सेभ दि हिमालय फर रिगार्डिङ’ भन्ने नारा अघि सारेर सन १९९१ मा पैदलै विश्व भ्रमणमा निस्किएका भारतको कोलकत्ताका स्थायीवासी देवाशिष डे (DEBASIS  DE ) भ्रमणमा निस्किएको २२ बर्षमा विश्वका १ सय ५१ देश पुगिसकेको वताउंछन । आंफु संसारका जुनसुकै ठाउंमा पुगेपनि त्यहांका सरकारी कर्मचारी देखि शिक्षक, बिद्यार्थी,वाताबरण संरक्षणकर्मी ,सवसाधरण नागरिक र संचारकर्मीलाई भेटेर भ्रमणको उद्धेश्यको वारेमा जानकारी गराउने गरेको डेले वताए ।
विश्व भ्रमणका क्रममा कंगो, लाईवेरिया,सिरिया जस्ता युद्धग्रस्त मुलुकमा पुग्दा त्यहांका नागरिकले भोग्नु परेको पिडालाई नजिकवाट देखेको पनि उनी बताउंछन । संसारभरका मानिस शान्ति चाहन्छन तर प्राकृतिक श्रोत, नेत्तृत्वको फरक लक्ष्य र अस्थिर राजनैतिक व्यवस्था जस्ता कारणले फरक फरक देशमा द्धन्द्ध मच्चिन गई मानिसहरु अशान्ति भोग्न वाध्य हुनु परेको उनको भनाई छ । भ्रमणका क्रममा संसारका हरेक देशको समस्या फरक फरक पाईएपनि औद्योगिकिकरण र बढ्दो वन विनाशले विश्वभरीको वाताबरण प्रदुषित वन्दै गरीवी र जलवायु परिवर्तनको असर बढ्न गएको उनले वताए ।
बढ्दो वन तथा हरीयाली विनाश रोक्न संसारभरका हरेक व्यक्तिले एउटा बिरुवा रोप्न सके विश्वमा शान्ति र हरीयाली एकैसाथ आउने डेको विश्वास छ । चिनको भ्रमण पछि रसुवा हुंदै नेपाल प्रवेश गरेका डेले धादिङ र रसुवा जिल्लाको हिमाली भेगको भ्रमण पछि आंफु धादिङ आईपुगेको र केही दिनको वसाई पछि गोरखा जिल्ला जाने उनले वताएका छन । २० बर्ष वेलायतमा वसे पनि आंफुले त्यहांको विकासवाट विश्वमा परिवर्तन भन्दा पनि वाताबरण विनासको चरण बढेको देखि पछि संसारभर शान्ति र वाताबरण संरक्षणको सन्देश दिन पैदल यात्रामा निस्किएको उनले वताए । नि सन्तान डे की श्रीमती भने अहिले पनि वेलायतमै बसेर ह्याण्डीक्राप्टको व्यापार गर्दै आईरहेको पनि डेले वताएका छन ।
आंफु वौद्धमार्गी भएकाले भ्रमणका क्रममा संसारको जुनसुकै स्थानमा पुगेपनि भ्रमणका लागि भनेर कसैसंग चन्दा सहयोग नमागेको र पैसा नहुंदा कयौं दिन पानीमात्र खाएर पनि यात्रालाई अगाडी बढाएको उनले वताए । गौतम बुद्धको जन्मभुमी नेपालका धेरै गाउं वस्तिमा पुगेर यात्राको औचित्य पुरा गर्न लागि पर्ने डे ले वताएका छन ।