महिलामैत्री संविधान बने मात्र प्रधानको सपना पूरा हुने

402 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sahana pकाठमाडौँ, – सभासद् तथा पूर्वसभासद्ले महिलामैत्री लोकतान्त्रिक संविधान निर्माण गरेर महिलामुक्ति आन्दोलन सफल बनाउन सके मात्र वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको सपना पूरा हुने बताउनुभएको छ ।

पूर्वमहिला सभासद् तथा राष्ट्रिय महिला आयोगले विहीवार संयुक्त रुपमा आयोजना गरेको ‘स्व सहाना प्रधानप्रति श्रद्धाञ्जलिसभा’ मा उहाँहरुले दक्षिण एसियामै तीन पुस्ताको आन्दोलनको नेतृत्व गर्ने र महिलाको इतिहास गौरव गर्नलायक प्रधानको आन्दोलनलाई निरन्तरता दिनुपर्ने विचार राख्नुभयो ।

नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राणाशासनविरुद्धको आन्दोलनदेखि पञ्चायती शासन र लोकतान्त्रिक आन्दोलनसम्म उहाँको उल्लेखनीय भूमिका रहेको बताउनुभयो । प्रधानको सपना पूरा गर्न सबै दलका महिला एक ढिक्का भई महिलामैत्री संविधान बनाउन लाग्नुपर्ने बताउँदै उहाँले संविधानमै कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सके मात्र उहाँको आन्दोलनको साकार हुने विचार राख्नुभयो ।

एकीकृत नेकपा(माओवादी)की नेत्री हिसिला यमीले प्रधान राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भन्ने आवाज उठाएर आन्दोनल गर्ने कुशल योद्धा भएको बताउनुभयो भने शशी श्रेष्ठले नीति बनाउने थलोमा महिला नपुगेसम्म तिनको अधिकारको संरक्षण हुन नसक्ने बताउनुभयो ।

नेपाल महिला सङ्घका सभापति डा डिला सङ्ग्रौलाले प्रधानले गरेको आन्दोलनलाई सार्थकता दिनका लागि महिला आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।