सभासद् हाजिरीकाे रामकहानी- हाजिर गर्न सभासद्को हतारो

509 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। शुक्रबार संसद् बैठक सकिँदा बाहिरिने भन्दा भित्र पस्न सभासद्को लर्काे लामो थियो। संसद्को आम दृष्य हो, बैठक सकिए पछि पनि सभासद् भित्रिने क्रम जारी रहन्छ। बैठक चलिरहँदा सभा भवन रित्तो हुने तर बैठक सकिएपछि सभासद् भित्रिने लर्काे लाग्नुको रहस्य के हो? कारण हो हाजिर गर्नु।

 शुक्रबार अपरान्ह तीन बजे संसद बैठक बोलाइएको थियो। तीन बजेर पाँच मिनेटमा बैठक शुरु भयो। तत्कालिन प्रतिनिधिसभा सदस्य सिद्धराज ओझाको निधनमा शोक प्रस्ताव पारित भयो, एक मिनेट मौन धारण गरेर बैठक आइतबार सम्मका लागि स्थगित भयो। त्यसैले आजको बैठक जम्मा तीन मिनेट बस्यो।

बैठक सकिएपछि सभासद्हरु बाहिरिन थाले। तर, बाहिरिने भन्दा बैठक सकिएपछि भित्रिने सभासद्को लर्को ठूलो थियो।

बाहिरिनेहरु आरामसँग निस्कदै थिए भने भित्रिनेहरु निक्कै हतारमा देखिन्थे। हाजिर गर्न नभ्याइएला कि भनेर उनीहरुले हतार गरेका हुन्।

संविधानसभा नियमावलीमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने प्रस्ताव गरिएको भए पनि अहिलेसम्म व्यवस्था गरिएको छैन। सभासद्हरुले परम्परागत शैलीमा हस्ताक्षर गरेर हाजिर गर्ने गरेका छन्।

शुक्रबार बैठक शुरु हुँदा दुई सय जनाको हाराहारीमा सभासद् उपस्थित थिए। बैठक सकिएपछि हाजिर गर्न आइपुगे पुगे करिब एक सय जना सभासद्। भित्रिनेहरु बाहिरिनेलाई सोध्दै थिए, ‘बैठक सकिसक्यो?’

बैठक सकिएपछि हाजिर गर्न जाने सभासद् मध्ये थिए, प्रदिप गिरी, आङदावा शेर्पा, अष्टलक्ष्मी शाक्य, किरण यादव, महेन्द्रबहादुर शाही, सीपी मैनाली, प्रेमबहादुर सिंह, उमेश श्रेष्ठ, प्रकाश ज्वाला, राम कार्की, सोमप्रसाद पाण्डे, सुशीला नेपाल, जितेन्द्र देव लगायतका।

किन बैठक सकिएपछि आउनुभयो भन्ने प्रश्नमा धेरै जसो सभासद्को एउटै जवाफ थियो, ‘यति छिटो बैठक सुरु होला भन्ने लागेकै थिएन।’

हुन पनि संसद्को बैठक सामान्यताय निर्धारित समयमा सुरु हुँदैन।

बैठक सकिँदा अर्थ समितिका सभापति प्रकाश ज्वाला संविधानसभा भवन नजिकैको अल्फाबिटा भवनको एक कार्यक्रममा थिए। बैठक सकियो भन्ने सन्देश पाएपछि उनी हस्याङफस्याङ गर्दै संविधानसभा भवनमा आए, हााजिर गरे।

संसद बैठकमा किन ढिला आउनुभयो भन्ने प्रश्नमा ज्वाला भन्दै थिए, ‘बैठक चल्नेवाला थिएन, पछि आए पनि हाजिर गर्न पाइन्छ।’

पछि आएर हाजिर गर्न पाइने चलन अहिले पनि छ तर अघिल्लो संविधानसभामा यो चलन विकृत रुपमा थियो। केही दिन अघिको बैठकको हाजिरी केही दिनसम्म गर्न पाइने अनौठो विकृति अघिल्लो संविधानसभा कालमा नभएको होइन। तर, अहिले यस्तो विकृति धेरै हदसम्म नियन्त्रण गरिएको छ। त्यसैले हतारहतार आएर हाजिर नगरी सुखै छैन।

संसद बैठक धेरै बेर नचलेकाले सभाासद्लाई हाजिर गर्न भ्याई नभ्याई भयो। बैठक चलिरहेको ढिला आएर हाजिर गरेर फुत्त निस्केर हिँड्न मिल्थ्यो।

शुक्रबार बैठक सकिएर सभा भवन रित्तो थियो, मर्यादा पालक र कर्मचारी पनि बाहिरिसकेका थिए । तर बैठक सकिएको डेढ घण्टासम्म पनि सभासद्ले हाजिर गरिरहे। न्युज भित्ता डट कमले खबर छापेको छ ।