हिमपातमा परी हराइरहेकाको उद्धारका लागि हेलिकप्टर परिचालन

509 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

8wfea9काठमाडौँ, ३० असोज । हिमपातमा परी मृत्यु भएकामध्ये तीन विदेशी तथा एक नेपाली नागरिकको पहिचान भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यले  दिनुभएको जानकारीअनुसार सनाखत भएकामा रोबर्ट डुरस्केज र लुम्मानटोनाज (पोल्यान्ड), नाडब (इजरायल) र पासाङ (नेपाल) छन् ।

यही असोज २६– २९ गते अकस्मात् रुपमा मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा हिमआँधी तथा हिमपात भएको थियो । मन्त्रालय तथा ट्रेकिङ एजेन्ट एसोसिएसनको प्रारम्भिक अनुमानअनुसार सो घटनामा परी करिब एक सय विदेशी तथा स्वदेशी हराइरहेका छन् ।

मन्त्री अमात्यले थोराङ भन्ज्याङ, तिलिचो ताल, नार र फु, धौलागिरि आधार शिविर, लार्केला भन्ज्याङ, मनास्लु क्षेत्र र मेरापिक क्षेत्रमा खोजी र उद्धार तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार उद्धारका लागि नेपाली सेना र सिम्रिक एयरका दुई दुई तथा श्री एयरलाइन्सको एक हेलिकप्टर परिचालन भइरहेको छ । साथै उद्धारका लागि थप पाँच हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन पर्यटन विभागबाट एक निर्देशक, टान र हानका प्रतिनिधि समावेश टोली सो क्षेत्रमा परिचालन गरिएको छ । मन्त्री अमात्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै आपत्कालीन नियन्त्रण केन्द्र स्थापना गरी बिहान ६ बजेदेखि काम सुरु भएको जानकारी दिनुभयो ।

हालसम्म उद्धार गरिएका घाइतेमध्ये १९ जनाको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । उहाँले भन्नुभयो, “हामीले खोज उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ ।” काठमाडौँ ल्याइएका चार शवलाई सैनिक अस्पतालमा राखिएको छ । मन्त्रालयले घटनाका बारेमा सम्बन्धित देशका दूतावासलाई समेत जानकारी दिइसकेको छ ।