​महिला नै जान्छन् श्रीमानको यौन समस्याको उपचार गर्न

917 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : हालै मागी विवाह गरेकी काठमाडौंकी रुपा (नाम परिवर्तन) ले विवाहको पहिलो रात शारीरिक सम्पर्क गर्न खोज्दा पतिको लिंग नै उत्तेजित नभएपछि सुहागरात खल्लो भएको महसुुस गरिन् । विवाहको दुई सातासम्म पति रुप (नाम परिवर्तन) लाई यौन उत्तेजना नभएपछि नवदम्पतिमा तनाव र शंकाको वातावरण सिर्जना भयो ।

रुपलाई आफ्नो यौन लाचारीप्रति हिनताबोध हुन थाल्यो भने रुपालाई आफ्नो पहिलो यौन सुख नै लुटिएको पीडाले सताउन थाल्यो । उनलाई आफू अब आजीवन यौनसुखबाट बञ्चित पो हुने हुँ कि भन्ने डर पनि लाग्न थाल्यो । भर्खरै विवाह भएकाले एकले अर्कालाई चिन्न बाँकी रहेको अवस्थामै यी दम्पतिका अगाडि यो यौन समस्या ठूलो चुनौतीका रुपमा देखापर्‍यो ।

श्रीमानमा यौन उत्तेजना नहुने समस्या भएपछि नवदुलही रुपाकै आग्रह र सल्लाहमा उक्त जोडी परामर्श र उपचारका लागि पुतलीसडकस्थित आयुर्वेद क्लिनिक माता मनोकामना आरोग्य केन्द्रमा पुग्यो । क्लिनिकका यौन विशेषज्ञ डा. समन रुपाखेतीले उनीहरुको पृष्ठभूमि, पारिवारिक वातावरण र समस्यालाई बुझेर उचित यौन परामर्श दिएर पठाए । सोही रात यो जोडीले बल्ल यौनसन्तुष्टि प्राप्त गर्‍यो । अहिले उनीहरुमा यौन समस्या छैन ।

डा.रुपाखेतीका अनुसार भर्खरै बिहे गरेको यो जोडीलाई सांस्कृतिक उत्तरदायित्व र पारिवारिक निगरानीका कारण मानसिक र मनोवैज्ञानिक दवाव सिर्जना भएकाले यौन जीवनमा प्रभाव पारेको हो । नवविवाहित दम्पतिमा पुरुषलाई म आफ्नी पत्नीलाइ पूर्ण सन्तुष्टि दिन सक्दिन कि ? शीघ्र स्खलन पो हुने हो कि ? ओल्लोपल्लो कोठामा सुतेका परिवारका अन्य सदस्यले थाहा पाउने पो  हुन् कि भन्ने मानसिक तनावले यौन समस्या देखिन्छ भने महिलामा मेरा पतिले अरुसँग पनि यौन सम्बन्ध गरेका छन् कि ? यौन सम्पर्क गर्दा दुख्ने पो हो कि ? यौन रोग पो सर्ने हो कि भन्ने आशंकाले समस्या उत्पन्न हुन्छ ।

सात वर्षदेखि सबै किसिमका यौन समस्याको उपचार गर्दै आएका डा. रुपाखेतीका अनुसार अचेल महिला आफ्ना पतिमा देखिएका यौन समस्या लिएर परामर्श गर्न आउने क्रम बढेको छ । दैनिक यौन समस्या लिएर यसरी आउने महिलामा अधिकाशं २० वर्षदेखि ३५ वर्ष उमेर समूहका विवाहित छन् । तर कतिपय अविवाहित युवती पनि आफ्नो यौन समस्या लिएर उपचारका लागि आउने गरेका छन् । अविवाहित युवती गर्भवती भएपछि वा आफ्नो केटा साथीसँग सम्बन्ध बिग्रिएपछि परामर्शका लागि आउने गर्छन् । कतिपय पति विदेश भएका महिला पनि आफ्नो यौन चाहना कसरी पूरा गर्ने वा विवाहेत्तर सम्बन्ध बनाउँदा कसरी सुरक्षित रहने भन्ने परामर्श लिन आउँछन् ।

डा. रुपाखेतीका अनुसार परामर्श र उपचारका लागि केन्द्रमा आउनेमा धेरै जसो पुरुषलाई शीघ्र स्खलन र यौन उत्तेजना नहुने समस्या पाइन्छ भने महिलालाई पतिको त्यही समस्याले आफूमा यौन सन्तुष्टि नभएको पाइन्छ ।

उनले पतिमा यौन समस्या देखिएपछि पीडित पत्नी आफैं परामर्श र उपचारका लागि  चिकित्सककहाँ आउने गरेको बताए । यो क्रम विगत वर्षका क्रमश बढ्दो छ । डा. रुपाखेतीले भने, ‘यहाँ आउने विवाहित महिला स्वयं नै डाक्टर सा’व मेरो श्रीमान्को यौन उत्तेजना नै हुँदैन, यौन सन्तुष्टि नै हुँदैन, किन होला ? भनेर प्रश्न गर्छन् । उनीहरुले समाधानको उपायबारे पनि पूर्ण जानकारी माग्छन् ।’

बदलिँदो समय र यौन शिक्षाको प्रभावसँगै महिलामा पनि यौन अधिकार र सन्तुष्टिबारे चेतना वृद्धि भइरहेको डा. रुपाखेतीले बताए । विवाहितमध्ये एकजनालाई मात्र यौन रोगको लक्षण देखापरेमा पनि दुवैजनालाई उपचार गराउनु आवश्यक रहेको पनि उनी बताउँछन् । ‘महिलामा यौनांगबाट सेतोपानी बग्ने समस्या भएमा उसले मात्र औषधि सेवन गरेर हुँदैन, किनभने पत्नीको रोग पतिलाई पनि सरिसकेको हुनसक्छ । त्यसैले यस्तो अवस्थामा पतिपत्नी दुवैले औषधि सेवन गर्नुपर्छ,’ उनले भने ।

डा. रुपाखेतीका अनुसार पतिलाई अति यौनइच्छा हुने तर पत्नीलाई यौनइच्छा नै नहुने समस्याले पनि धेरैजसो विवाहित जोडी प्रभावित देखिन्छन् । यसमा पनि एकजनाले मात्र परामर्श वा उपचार गरेर यौन समस्या पूर्ण रुपमा समाधान हुन सक्दैन ।

५० वर्ष कटेका प्रौढ पनि यौन समस्या लिएर आउने गरेको उनले जानकारी दिए । यस्ता प्रौढमा शीघ्र स्खलन, लिंग उत्तेजित नहुने, थकान आदि समस्या देखिन्छ । कतिपय एकल महिला अति यौन चाहना हुने समस्या कसरी समाधान गर्ने भन्दै परामर्श लिन आउँछन् भने कतिपय एकल महिला यौन चाहना भएन भन्दै पनि परामर्श लिन आउने गरेका छन् ।

महिलामा प्रायजसो महिनावारी बन्द भएपछि यौन इच्छामा पनि परिवर्तन आउने विशेषज्ञले बताएका छन् । यस्तो अवस्थामा अति यौनइच्छा हुने वा यौन इच्छा नै मरेर जाने हुनसक्छ । यसले पतिको यौन चाहना र आवश्यकतामा प्रभाव पार्छ र कतिपय अवस्थामा वैवाहिक जीवन नै खल्लो हुन जान्छ ।

परामर्श र उपचारका लागि आउने व्यक्तिमा २५ प्रतिशत परामर्शवाटै निको हुने डा. रुपाखेतीले बताए । जसमा मानसिक  र मनोवैज्ञानिक कारणले यौन समस्या निम्तिएको हुन्छ । थकान, कामको तनाव आदिले पनि यौन जीवनमा असर गर्ने विशेषज्ञको भनाइ छ । यस्ता मनोवैज्ञानिक यौन समस्यालाई उचित परामर्शबाट समाधान गर्न सकिन्छ भने कतिपय शारीरिक रुपमै देखा पर्ने यौन समस्यालाई भने उपचार गर्नुपर्ने हुन्छ । शारीरिक कारणमा हर्मोनको गडबडी, नसामा समस्या, मुटुरोग, मधुमेह लगायतका रोगले हुने यौन समस्या उत्पन्न हुने गर्छ ।

डा. रुपाखेतीका अनुसार यौन समस्या बढ्दै जानुको प्रमुख कारण यौन शिक्षाको अभाव पनि हो । पश्चिमा देशको देखासिखीमा अपनाउने जीवनशैली, बूढोलाई भर्खरकी युवतीसँग र बूढीलाई भर्खरको युवकसँंग यौन सम्बन्ध कायम गर्न रहर लाग्नु, धेरैजनासँंग यौन सम्बन्ध बनाउन खोज्नु, अस्वस्थ्य यौन सम्बन्धलाई प्राथमिकता दिनु, यौनांगको सरसफाइ नगर्नु, जे पायो त्यही यौनबद्र्धक औषधि प्रयोग गर्नु लगायतका कारणले यौन समस्या निम्तिने गरेको यौन विशेषज्ञको भनाइ छ ।

-चक्रपथ डट कम अनलाइनवाट