भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न

566 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ३ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत सबै जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम आज सम्पन्न भयो ।

जन्मेका छ महिनादेखि पाँच वर्षसम्मका करिब ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका २९ लाख २१ हजार बालबालिकालाई जुकाको औषधि हिजो र आज गरी खुवाउने कार्यक्रम सम्पन्न भएको बालस्वास्थ्य महाशाखाका निर्देशक डा श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।

आइतबार बिहानदेखि साँझसम्म सबै जिल्ला, नगरपालिका तथा गाउँ विकास समितिअन्तर्गतका प्रत्येक वडाका तोकिएका केन्द्रमा स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो । यसका लागि करिब ५३ हजार महिला स्वयंसेविका परिचालन भएका थिए ।

निर्देशक डा उप्रेतीले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । प्रारम्भिक अनुमानअनुसार करिव ९५ प्रतिशत बालबालिकाले सो औषधि खाएका जानकारी दिइयो । गत वर्ष पनि सोही सङ्ख्यामा बालबालिकाले औषधि खाएका थिए ।

नेपालमा भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएपछि बर्सेनि करिब १२ हजार बालबालिका अकालमा हुने मृत्युबाट जोगिएका छन् ।