काव्यिक पुरस्कार पहाडी, शुक्राचार्य र प्राञ्जललाई

695 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ६ कात्तिक । नेपाल साँस्कृतिक सङ्घले नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्याएवापत् तीन साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

लक्ष्मीजयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा यस वर्षको ‘देवकोटा काव्यिक पुरस्कार’ गद्य कवितातर्फ सन्ध्या पहाडी, पद्यकवितातर्फ रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ र गीत–गजलतर्फ रवि प्राञ्जललाई प्रदान गरिएको हो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकूलपति डा विष्णुविभू घिमिरेले जनही रु पाँच हजार राशीको सा् पुरस्कार प्रदान गर्नुभएको हो ।

सोही अवसरमा धर्तीचन्द्र यात्री, रमेश खकुरेल, भुवनहरि सिग्देल, प्रभा भट्टराई, दीर्घराज प्रसाई, अच्युतरमण अधिकारी, अच्युत पौडेल र उषा शिवाकोटीलगायतले कवितावाचन गर्नुभयो ।

कार्यक्रममा लेखनाथ साहित्य सदनकी अध्यक्ष रमा शर्माले देवकोटाका अप्रकाशित कृतिको बारेमा प्रज्ञा प्रतिष्ठानले खोजीनिति गर्नुपर्नेमा जोड दिनुभयो ।

लक्ष्मीजन्मजयन्तीकै अवसरमा त्रिचन्द्र क्याम्पस घण्टाघर साहित्य सङ्गमले आज कवितावाचन तथा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा कवि मणि लोहनी, निशान निष्कर्ष, मणीराज सिंह, नरनाथ लुइँटेल, विप्लव ढकाल र देवी नेपाललगायतले कवितावाचन गर्नुभएको थियो ।

यसैगरी, देवकोटा जयन्तीका अवसरमा आज नागार्जुन साहित्यिक प्रतिष्ठानले पनि ‘शुभप्रभात काव्यगोष्ठी’ को आयोजना गरेको थियो ।