कालो बादल देखे मन तर्सिन्छ

725 पटक पढिएको

सम्पादक: Dhadingnews.com

dhading chepang homeकेशव अधिकारी

धादिङ – जब आकाशमा कालो बादल मडारिन्छ र हावाहुरी चल्न थाल्छ, सानुकान्छा चेपाङको परिवार अब के बिपत्ति आइपर्ने हो भन्ने चिन्ताले तर्सिन थाल्छ ।

सानुकान्छाको परिवार पाँच वर्षदेखि आफ्नै घरले थिचिएर मरिन्छ कि बाँचिन्छ भन्ने चिन्तामा छ । घर जुनसुकै बेला भत्किन सक्छ तैपनि उनीहरुले घर छाड्न सकेका छैनन् ।

सानुकान्छाको परिवार दिनभरी मजदुरी गर्न निस्कन्छ र राति आश्रय लिन उही घरमा आईपुग्छ । पानी पर्न थालेपछि भगवान पुकार्दै रात काट्ने गरेको सानुकान्छीकी श्रीमती सरस्वती बताउनुहुन्छ ।

घरको गारो चारैतिरबाट चर्किएर जीर्ण बनेको छ । ढोकाबाट भित्र पस्नासाथ घर थरर थर्किन्छ । देख्दै डर लाग्दो घरभित्र सानुकान्छा चेपाङको ६ जनाको परिवार बस्छ । आर्थिक अभावका कारण उनीहरुले नयाँ घर बनाउन त परै जाओस  जीर्ण भएको घर समेत मर्मत गर्न सकेका छैनन् । ‘नयाँ घर बनाउन पैसा चाहिन्छ । हामी ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नेले के गरी घर बनाउनू ?’ सरस्वती चेपाङ भन्नुहुन्छ ।

पृथ्वीराजमार्ग सुरु हुने नौविस बजारबाट त्रिभुवन राजपथ हुँदै एक किलोमिटर दक्षिण लागेपछि नौविसेको चेपाङ गाउँ पुगिन्छ । त्रिभुवनराजपथको एक सय मिटरमा रहेको भएपनि चेपाङ गाउँले आँफु सडकको छेउमै रहेको अनुभव गर्न सकेको छैन । गाउँका प्राय सबै सुकुम्वासी छन् । सुकुम्वासी भएकै कारण उनीहरुको नाममा जग्गा छैन र धेरैसँग नेपाली नागरिकता छैन ।