धादिङबेसीमा खुल्यो कृषि उपज बजार स्थल

636 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC00241धादिङ÷ सदरमुकाम धादिङबेसी क्षेत्रमा बढ्दै गएको तरकारीको मागलाई पुरा गर्न नीलकण्ठ नगरपालिका ३ धादिङबेसीमा कृषि उपज बजार स्थलको उद्घाटन गरिएको छ ।
कृषकहरुले उत्पादन गरेको तरकारी विक्रि वितरण गर्न सदरमुकाममा निश्चित ठाउँको अभाव बढ्दै गएपछि कृषि उत्पादनलाई निश्चित ठाउँवाट बिक्री बितरण गर्ने लक्ष्यका साथ कृषि उपज बजारको सुरुवात गरिएको हो । कृषकहरुले उत्पादन गरेको स्वच्छ, सफा र ताजा तरकारी फलफुल विक्रि वितरण गर्नको लागि कृषि उपज बजारको स्थापना गरिएको कृषि उपज बजार संचालक समितिका अध्यक्ष विष्णु प्रसाद पोखरेलले बताउनु भयो ।
किसानले वजार क्षेत्रमा बसेर तरकारी विक्रि वितरण गर्न नपाउने भएका कारण सदरमुकाम र आसपासका किसानहरुले उत्पादन गरेको तरकारीहरु बिक्री बितरणमा सहज वाताबरण बजाउन वजारको अवधारणा ल्याएको पोखरेलले जानकारी दिनु भयो । कृषि उपज वजारवाट ग्राहकहरुलाई सस्तोमुल्यमा ताजा तरकारी उपलब्ध गराईने वजार संचालक समितिले जनाएको छ ।
बैदेशिक रोजगारमा जान लागेको युवाहरुलाई लक्षित गरी कृषि क्षेत्रमा लगानी गर्न चाहने ६० जना युवाहरुलाई यो बर्ष ४० हजारका दरले अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले कार्यक्रममा बताउनु भयो । कृषि उपज बजार उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका कौडालले कृषिलाई व्यवसायिक वनाउन सके विदेशको भुमिमा वगाउने पसिनाले गाउंघरमै सुन फालाउन सकिनेमा जोड दिनुभयो । व्यवसायिक रुपमा कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई आवश्यक परेका सामग्रीहरु कृषि सहकारी मार्फत उपलब्ध गराउने पनि उहांले वताउनु भयो । सार्वजनिक आवागमननै अवरोध पारेर बिक्री वितरणगर्ने गरिएको वजारको चोक चोकको अव्यवस्थित तरकारी वजारलाई व्यवस्थित गर्न कृषि उपज वजार संचालनमा ल्याईएको समितिले जनाएको छ ।
सदरमुकाममा पहिलो पटक स्थापना गरिएको कृषि उपज बजारबाट किसानहरुका साथै उपभोक्ताहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्नु हुँदै नेपाली काङग्रेस धादिङका सभापति रामनाथ अधिकारीले धादिङ जिल्लामा उत्पादन भएको ९८ प्रतिशत तरकारीमा किसानहरुले विषादी प्रयोग गर्ने गरेको बताउनु भयो । तरकारीमा घातक विषादी प्रयोग सँगै जिल्लामा विरामीहरुको चाप पनि बढेको अधिकारीको भनाई थियो । जति सक्दो छिटो किसानहरुले तरकारी बालीमा विषादीको प्रयोग न्यूनिकरण गर्नु पर्नेमा अधिकारीको जोड थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्द्रलाल शर्मा, एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, एक्सन नेपाल धादिङका हरि उप्रेती लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, विभिन्न गाविसका किसानहरु लगायत सञ्चारकर्मीहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो