धादिङका अगुवा किसानलाई सम्मान

867 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kisaan sammaan धादिङबेसी–कृषि तथा पशुपालनको माध्यमवाट दिगो आयआर्जन तथा खाद्य सुरक्षामा उल्लेखनिय योगदान पुर्याउने धादिङ जिल्लाका अगुवा कृषकहरु सम्मानित भएका छन ।
सोमवार जिल्ला कृषि विकास कार्यालय तथा खाद्य सुरक्षाका क्षेत्रमा कार्यरत विभिन्न गैर सरकारी संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा किसानहरु सम्मानित भएका हुन । खेतीपाती र कृषि तथा पशुपालनमा नयां जात तथा प्रविधि अवलम्वन गरि दुगर्म क्षेत्रमा रहेर पनि कृषि उपज वस्तु विक्रीबाट मनग्य आम्दानी लिने कृषकहरु मध्येबाट १० जना कृषकलाई सम्मान गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालयका साथै खाद्य सुरक्षाका निम्ति काम गरिरहेको गैर सरकारी संस्थाहरु फियान नेपाल, खाद्य अधिकार सञ्जाल धादिङ सहितका संस्थाले संयुक्त कार्यक्रमको आयोजना गर्दै ३४ औ विश्व खाद्य दिवस मनाएका हुन ।
कार्यक्रममा धादिङ जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा अदुवा खेती शुरुवात गर्ने गर्ने केवलपुर ४ का अगुवा किसान कुलप्रसाद पौडेल, तरकारी ,पशुपालन तथा फलफुल खेतीवाट बार्षिक २० लाख वराबरको आम्दानी लिन सफल वेनिघाट ६ का शिव उप्रेती, नौविसे ४ का राजाराम पाण्डे, वेनिघाट २ का ध्रुव विकलाई सम्मान गरिएको थियो । यसैगरी मैदी २ का इश्वरी भट्ट, धुषा ९ का अमर चेपाङ, कल्लेरी २ का शर्मिला कार्की, त्रिपुरेश्वर २ का गोपाल गौली, झार्लाङ ९ का अस्मिता तामाङ र झार्लाङ १ दमै तामाङलाई पनि कृषि,पशुपालन तथा व्यवसायिक खेतीमा नमुना कार्य गरेको भन्दै प्रमाण पत्रका साथ दोसला ओढाएर सम्मान गरिएको थियो ।
सोही अवसरमा राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट धुषा १ का हेमनाथ थपलिया, जीवनपुर ९ का कृष्ण कुमार रेग्मी र कुम्पुर ३ का शंकर प्रसाद थपलियालाई नगद १० हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । यसै गरी समुह प्रतियोगिता, खाद्यन्न ( गहुँ र मैकै) वाली र निवन्ध प्रतियोगतामा ४÷४ जनालाई पनि पुरस्कृत गरिएको छ ।
पारिवारिक खेती वर्षः सवैलाई खुवाउ, पृथ्वीलाई जोगाउ भन्ने नारा सहित जिल्ला कृषि विकास समितिका अध्यक्ष एवम स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले किसानहरुलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा वोल्दै वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले खेतीयोग्य जमिनमा वस्ति बढ्दै जानुका साथै जिल्लाको राजमार्ग क्षेत्र आसपासमा ताजा तरकारी उत्पादन गर्ने कार्य बढ्दै गएकाले जिल्लालाई ८ हजार ३ सय ६२ मेट्रिकटन खाद्यन्न अपुग हुने गरेको बताउनु भयो ।