बहुऔषधि भएपनि फापरको उत्पादन घट्दै

2609 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_0041धादिङ, – बहुऔषधिका रुपमा प्रयोग गर्न सकिने फापरको माग शहर वजारमा बढ्न थालेपनि फापर खेती तर्फ किसानहरुको आकर्षण घट्दै जान थालेको छ । लोप हुने अवस्थामा पुगेको फापर खेतीलाई दक्षिणी धादिङको बिकटका सिमित किसानले भने प्राथमिकता दिंदै आईरहेका छन ।
दक्षिणी धादिङको विकटमा रहेको महादेवस्थान गाविसका किसानले धान, मकै, गहुं, कोदो लगायतका अन्नबाली उत्पादन नहुने जग्गाहरूमा फापरखेती गर्ने गरेका छन । जिल्लाको सबै भुभागमा फापरखेतीको सम्भावना रहेपनि व्यवसायिक रुपमा बार्षिक कति उत्पादन हुन्छ भन्ने तथ्याङ भने नरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धादिङका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्र कौडालका अनुसार निर्वाहमुखी खेती प्रणालीका कारण किसानको जिवनस्तरमा सुधार आउन नसकेकोले अव व्यवसायिक खेती तर्फ किसानहरुको आकर्षण बढाउनु पर्दछ ।
छोटो समयमा उत्पादन दिने र नगदेबालीका रूपमा पनि प्रयोग गर्न सकिने भएकाले दक्षिणी धादिङको महादेवस्थानका साथै अन्य विभिन्न गाविसका कृषकले पनि फापरखेती गर्दै आएको अखिल नेपाल किसान संघ धादिङका अध्यक्ष शंकर तामाङ वताउनुहुन्छ । धादिङको उच्च पहाडी क्षेत्रहरूमा विशेषगरी मीठे, तीते र सेते जातका फापरको खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
फापरको माग सहर बजारमा बढ्दै गएकाले यस्को उत्पादनमा लाग्ने किसानले राम्रो आम्दानी लिन सक्ने तामाङले वताउनु भयो । सुगर र युरिक एसिडका विरामी बढ्दै जांदा तीते फापरको माग पनि बढ्दै गएको किसानहरुको भनाई छ । केही बर्ष अघि सम्म गाउँघरमा जताजतै फापरखेती हुने गरेकोमा पछिल्लो समयमा उत्पादन घट्दै गएपछि सिमित किसानहरुले मात्र व्यवसायिक रुपमा फापरखेती खेती गर्दै आईरहेका छन ।
गाउंघरमा भन्दा शहर वजारमा फापरको महत्व बढ्दै गएको र धेरै जग्गामा लगाएपनि थोरैमात्र उत्पादन हुने भएकाले परम्परागत रूपमा हुँदै आएको फापरखेतीको विकल्पका रूपमा किसानहरु अन्य खेती तर्फ आकर्षित हुन थालेको महादेवस्थानका हेमराज भुजेलले वताउनु भयो । फापर रुखो डाँडापाखा, पानी, र मलको अभावमा पनि सजिलै उत्पादन गर्न सकिने भुजेल बताउनुहुन्छ ।
फापरलाई विभिन्न औषधिका रूपमा समेत प्रयोग गर्न सकिने बिज्ञहरुको भनाई छ । प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्ट्रोरल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण रहेको जानकारहरुको भनाई छ । फापरको पिठोवाट वनेको परिकार नियमित सेवन गर्दा मोटोपन पनि कम हुने चिकित्सकको भनाइ रहेको पाईन्छ । फापरको महत्व बुझ्न नसक्दा अधिकांश किसानले फापर लगाउन छोडेको भएपनि पछिल्लो समयमा वदलिंदै गएको मौसम विउ विजनमा बिषादीको प्रयोगले उत्पादन हुनै छाडेपछि व्यवसायिक खेतीमा भने कमि आउन थालेको किसानहरुको भनाई छ ।