दर्ता भयो धादिङ न्यूज दैनिक

906 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dhadingnews Dailyधादिङको बैरेनी गाविस वडा नम्बर ९ मा कार्यालय रहने गरी धादिङ न्यूज दैनिक पत्रिका दर्ता भएको छ । धादिङ न्यूज समेत गरी जिल्लामा दर्ता भएको पत्रिकाको सख्या अव २७ पुगेको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अव्यवहारिक कार्यशैलीका कारण दर्ता हुनवाट रोकिएको दैनिक पत्रिकाले दर्ताका लागि आवेदन पेश गरेको चार महिना पछि कानूनी मान्यता पाएको हो ।
धादिङको बैरेनी गाविस वडा नम्बर ९ मा कार्यालय रहने गरी दर्ता भएको ‘धादिङ न्यूज’ दैनिक पत्रिकामा डेढ दशक देखि धादिङ जिल्लाको पत्रकारितामा सक्रिय केशव अधिकारी प्रकाशक रहनु भएको छ । धादिङ न्यूज दैनिक मंसिर २ गते सोमवार जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भएको हो । दर्ता नम्बर नम्बर २७ कायम रहेको धादिङ न्यूज दैनिक सदरमुकाम भन्दा वाहिर कार्यालय रहने गरी दर्ता भएको जिल्लाको पहिलो दैनिक पत्रिका हो । जिल्लावाट अहिले दुई वटा दैनिक पत्रिका प्रकाशित हुंदै आईरहेका छन ।
धादिङ न्यूज दैनिक पत्रिका दर्ताका लागि गएको साउन महिनामा कानूनले तोके वमोजिमका आवश्यक कागजपत्र साथमा राखि जिल्ला प्रशासन कार्यालयमा आवेदन पेश गरेकोमा प्रमुख जिल्ला अधिकारी नेपालको ठाडो निर्देशनमा पत्रिका दर्ता रोकिन पुगेको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पत्रिका दर्ता गर्न अस्विकार गरेर गैर कानूनी आचरण देखाएपछि प्रजिअ नेपालको गलत व्यवहारको सर्वत्र आलोचना भएको थियो । पत्र पत्रिका दर्ताका लागि कानूनमा तोकेका सवै प्रक्रिया पुरा गर्दा पनि पत्रिका दर्ताकार्य तीन महिना सम्म रोकिन पुगेको भएपनि पहिले पेश भएका तिनै कागजपत्रको आधारमा मंसिर २ गते जिल्ला प्रशासन कार्यालयमा पत्रिकाले अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरेको प्रकाशक अधिकारीले जानकारी दिनु भयो । प्रशासक जस्तो जिम्मेवार व्यक्तिको गैर जिम्मेवार व्यवहारका कारण पत्रिका प्रकाशनका लागि गरिएको पुर्व तयारीमा अवरोध आएपनि अव नयां सोचका साथ पत्रिका प्रकाशनको तयारी भईरहेको प्रकाशक अधिकारीले वताउनु भएको छ ।