चार दिनसम्म राजधानीमा गाडी नचढेकै जाति !

854 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सरकारले यसरी पुर्‍याउँदैछ काठमाडौंबासीलाई सास्ती

old-buspark, काठमाडौं । मंसिर ९ देखि १२ गतेसम्म तपाई मोफसलबाट काठमाडौंमा कुनै काम लिएर आउन लाग्नुभएको छ भने आफ्नो भ्रमण पछाडि सारे हुन्छ । राजधानीमै  रहनुहुने तपाईले सार्क सम्मेलनको अघिपछि चार दिनसम्म कुनै ठूलो योजना बनाउनुभएको छ भने घरैमा घाम तापेर बस्नु राम्रो हुनेछ ।

tinkune  Jam

सरकारले जनताको जीवन कष्टकर नहुने दाबी गरे पनि सार्क सम्मेलनका बेला काठमाडौं कम्तिमा तीन दिन ठप्पै हुनेछ । विद्यालयहरु चार दिनसम्म बन्द हुनेछन् भने सरकारी कार्यालयले दुई दिन सेवा प्रदान गर्ने छैनन् । यातायात व्यवस्था सरकारको नियन्त्रणमा जोर बिजोरका आधारमा मात्रै चल्नेछ । त्यही पनि अधिकांश समय जाम हुनेछ ।
ट्राफिक प्रहरी महाशाखाले मंसिर ८ देखि १२ गतेसम्म चार दिन सवारी साधनमा ‘जोर-बिजोर प्रणाली’को घोषणा गरिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सवारी साधन प्रयोग गर्नुभन्दा नजिकको गन्तव्यमा हिँड्नु नै श्रेयष्कर हुनेछ ।

जोर-बिजोर कसरी छुट्याउने ?
सोमवारदेखि नै दुई पांग्रे मोटरसाइकल, स्कुटरसहित सबै चारपांग्रे सवारी साधनमा जोर-बिजोर प्रणाली लागु हुनेछ । तर, जोर बिजोर कसरी छुट्याउने ? यो प्रश्नको जवाफमा ट्राफिक प्रहरी प्रमुख केशव अधिकारी भन्छन्-आफ्नो सवारी साधनको अन्तिम नम्बर जे छ, त्यही आधारमा छुट्याउने । VIP sawari jam  (3)
यदि तपाईको मोटरसाइकलको नम्बर प्लेट बा ६० प ९९३५ छ भने त्यो बिजोर नम्बर हो । त्यस्तै ९९३६ छ भने त्यो जोर नम्बर मानिन्छ । अन्य गाडीको हकमा पनि यही नियम लागु हुने डीआइजी केशव अधिकारीले बताए ।
राजधानीमा मंसिर ८, १० र १२ गते जोर नम्बरका सवारी साधन चलाउन पाइने छ भने ९ र ११ गते बिजोर नम्बरका मात्र सवारी साधन चल्न पाउनेछन् ।

रिङरोडभित्र पैदलै बेस
सार्क शिखर सम्मेलन अवधिभरका लागि बनाइएको ट्राफिक योजनाअनुसार बौद्ध जोरपाटीबाट माइक्रो बस चढेकाहरुको अन्तिम गन्तव्य सानो गौचरणसम्म मात्रै हुनेछ । त्यसपछि के चढ्ने ? त्यसबेला अर्को साधन पाउनु ठूलै युद्ध जितेसरह हुनेछ ।
यस्तै हालत चक्रपथ बाहिरका विभिन्न ठाउँबाट सार्वजनिक सवारी साधन प्रयोग गर्ने यात्रुहरुको पनि हुनेछ । बूढानीलकण्ठतिरबाट माइक्रो वा बस चढ्नेहरुले लैनचौचरमै ओर्लनुपर्नेछ । थानकोटबाट चढेकाहरु कलंकीबाट यता आउन पाउने छैनन् । दक्षिणकालीबाट बस चढेकाहरुले किर्तिपूरमै ओर्लनुपर्नेछ ।
भक्तपुरबाट आउनेहरुको जडिबुटीमै अन्तिम गन्तव्य हुनेछ । राजधानी काठमाडौं कम्तिमा तीन दिन लगभग ठप्पै हुनेछ ।
निजी सवारी साधन हुनेहरुले पनि जोर-बिजोर प्रणालीका कारण सबै दिन आफ्नो मोटरसाइकल वा गाडी चलाउन पाउने छैनन् । पाएकै दिन पनि आफ्नो गन्तव्य पुग्न कति घण्टा रोकिनुपर्ने हो भन्ने लेखाजोखा गर्न मुस्किल छ ।

एयरपोर्ट नछिरेकै जाति
सार्कका विशिष्ठ पाहुनाहरुको ओहोर-दोहोर हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिर्न लगभग असम्भव जस्तै हुनेछ । बैदेशिक रोजगारी वा अन्य आन्तरिक उडान गर्नेहरुले मिलेसम्म यात्रा स्थगित गर्नु राम्रो हुने देखिन्छ ।
भीभीआइपीहरुको उडान र अवतरणको केही घण्टाअघि र पछिसम्म आन्तरिक उडानहरु बन्द गरिनेछन् । सर्वसाधारणलाई विमानस्थल प्रवेश धेरै झन्झटिलो हुनेछ ।

एक लाख गाडी जाम

Jam-1
विमानस्थलबाट सोल्टी होटलसम्म पुग्ने मूल राजमार्ग लगभग चारै दिन बन्द हुनेछ । केहीबेरलाई खुले पनि अधिकांश समय पाहुनाहरुको ओहोर-दोहोरका कारण सिनामंगल, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी र सोल्टी होटलसम्म पुग्ने बाटोतिर सर्वसाधारणले सवारी साधन चलाएर नजानु नै जाति हुनेछ ।
भीभीआइपीको आवागमन चलिरहेका बेला कम्तिम आधा घण्टाअघि र आधा घण्टापछिसम्म सबै सवारी साधन ठाउा-ठाउामै रोकिनेछन् ।
यसरी एकघण्टाको अवधिमा करीव एक लाख सवारी साधन ठाउँको ठाउँ रोकिने ट्राफिक प्रहरी महाशाखाका अधिकारीहरुले पनि स्वीकार गरेका छन् ।
सरकारी विदा र शैक्षिक विदा दिएर जोर बिजोर प्रणाली लागु हुँदा पनि राजधानीमा करीव अढाइ लाख सवारी साधन एक दिनमा सडकमा निस्कने अनुमान प्रहरीको छ ।
मंसिर १० र ११ गते सार्वजनिक विदा र ९ देखि १२ सम्म शैक्षिक संस्था विदा घोषणा भइसकेको छ । जोर बिजोर प्रणाली मंसिर ८ देखि १२ सम्म लागु हनेछ ।

कुन-कुन गाडीलाई छुट ?
अस्पताल, एम्बुलेन्स, दमकल र शव वाहनमा भने जोर बिजोर लागु हुनेछैन । सरकारी सवारी साधानले गृहको पास लिएको हुनुपर्ने छ ।
कुटनीतिक नियोग, प्रेस र पास लिएका अन्य मिडियाका सवार साधन सुरक्षा पास र मिडिया हृयाण्डलिङ उपसमितिबाट पास लिनुपर्नेछ ।

पर्यटक बोक्ने हरियो नम्बर प्लेटका सवारी साधन, विवाहका लागि दुलाहा-दुलही चढेको सवारी साधनको हकमा जोर-बिजोर प्रणाली लागु हुने छैन । तर, जन्ती चढ्ने गाडीमा भने जोर बिजोर लागु हुनेछ । तर, भीभीआइपीहरुको आवागमनका बेलामा यी गाडीहरु पनि रोकिनेछन् । भीभीआइपी भन्नाले सार्क सम्मेलनका विशिष्ठ पाहुना र तीनका परिवारसमेत पर्नेछन् ।
सार्कका राष्ट्र तथा सरकार प्रमुखहरु बैठक र समारोहमा रहेका बेला तीनका परिवारजन मठ मन्दिर, चैत्य गुम्बा र पर्यटकीय केन्द्रहरुमा घुमफिर गर्न जानेछन् । त्योबेला पनि राजधानीको सवारी आवागमन रोकिनेछ ।
ग्यास, तेल, दूध, पानी, तरकारी, पेट्रोलियम पदार्थका अत्यावश्यक सेवाका सवारी साधनलाई समय मिलाएर चल्न दिने भनिएको छ । तर, त्यो समय रातिदेखि बिहान ६ बजेअघिसम्म मात्रै हुन सक्छ ।
लामो दूरीका रात्री बस र दिवा सेवाका यात्रुवाहक सवारी साधनहरुलाई भीभीआइपीको मुभमेन्ट हेरेर मात्रै चल्न दिइने छ ।

old buspark
राजधानीको पुरानो बसपार्क सोमवारदेखि नै खाली हुनेछ । सभागृहमा हुने सार्क शिखर सम्मेलनका बेला पुरानो बसपार्कमा सार्कका पाहुना र सहभागीहरुका सवारी साधन पार्किङ गरिनेछन् ।

सरकारको आलोचना
सरकारले दुई दिने सार्क सम्मेलनका बेलामा चार दिनसम्म सवारी साधनलाई नियन्त्रति गरेकोमा सामाजिक सञ्जालमा सरकारको आलोचना हुन थालेको छ । मंसिर १० गतेदेखि हुने सार्क सम्मेलनका क्रममा मंसिर ८ देखि नै सवारी साधनमा यिनन्त्रण गरिएकोमा सर्वसाधारणले गुनासो गरेका छन् ।
तर, ट्राफिक प्रहरी कार्यालयले भने सवारीको चापका कारण भीभीआइपीको आवागमन र सुरक्षामा असजिलो हुने भएकाले जोर-बिजोर प्रणाली अपनाउन बाध्यता भएको बताएको छ ।

-अनलाईन खबर वाट