पुस ७ देखि धादिङमा मध्यमाञ्चल महोत्सव

617 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
10425125_372142106295824_1765085439257514424_nधादिङ,७ मंसिर ः आगामी पुस ७ गते देखि १७ गते सम्म धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा मध्यमाञ्चाल क्षेत्रीय महोत्सवको आयोजना हुने भएको छ । धादिङबेसीमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवका बारेमा जानकारी गराइएको हो । महोत्सवको मूल आयोजकमा उद्योग वाणिज्य संघ धादिङ रहेको छ भने सह आयोजकमा घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय काठमाण्डौं रहेको छ । अन्य सह आयोजक र प्रायोजकहरुको केही दिनमा टुङ्गो लाग्ने वताईएको छ ।
कृषि, उद्योग, व्यापार, पर्यटन तथा जिल्लाको आर्थिक एवम सामाजिक विकासमा समर्पित विभिन्न निकायहरुको सहकार्यमा महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ धादिङले जनाएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरूको प्रचार–प्रसार गर्नुका साथै क्रेता र विक्रेताबीचमा सम्बन्ध विस्तार गर्नका लागि सो महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक एवम धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष कल्पना अधिकारीले वताउनु भयो । धादिङमा प्राकृतिक सम्पदा प्रशस्त रहेको तर तिनको समुचित विकासको र प्रचार प्रसारको अभावले गर्दा ओझेलमा पर्दै गइरहेकोले मध्यमाञ्चल क्षेत्रीय महोत्सव मार्फत सम्पदाको संरक्षणका लागि सहयोग पु¥याईने संयोजक अधिकारीको भनाई छ ।
धादिङमा उत्पादन हुने खाद्य वस्तु, स्थानीय कला, संस्कृति, कृषि, सूचना, पर्यटन,धार्मिक तथा औद्यौगिक प्रदर्शनीका साथै मध्यमाञ्चल विकास क्षेत्र भित्रका १९ वटै जिल्लासंग सम्वन्धित यस क्षेत्रसँग सम्बद्ध वस्तुहरू महोत्सवको मुख्य आकर्षण हुने पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवमा कृषि तथा फलफुल,पशुजन्य उत्पादन,तयारी पोशाक, पर्यटन प्रवद्र्धन, धार्मिक सम्पदा, विद्युतीय मेशिन औजार, कला संस्कृति,जडिबुटी,लोपोन्मुख वस्तुहरु, रुवी ढुंगा, स्लेट, गन्धकका साथै बिज्ञान प्रविधि लगायतका सामानहरुको प्रदर्शनीकक्ष राखिने बताइएको छ ।
महोत्सव अवधिभर करीब २ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको र महोत्सवमा करीब रू १० करोडको कारोबार हुने आयोजक संस्थाको अपेक्षा रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । महोत्सवमा प्रवेश गर्नका लागि न्यूनतम शुल्क राखिने र,जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,बिद्यार्थीहरुका लागि विशेष छूटको व्यवस्था हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा हेलिकप्टर मार्फत जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलको दृष्यावलोकन,पर्यटकीय क्षेत्रहरुमा होमस्टे,सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरिने वताईएको छ ।