बेइजिङमा सार्वजनिक स्थलमा धूमपान निषेध

1096 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

churotबेइजिङ, १२ मङ्सिर । चीनको राजधानीले शुक्रबार ‘इनडोर’ अर्थलाग्ने सबै सार्वजनिक स्थलमा धूमपान निषेध लागू गरेको छ । चीनमा ३० करोड जनता धूमपान व्यसनी रहेको र यसअघि उनीहरूको क्रियाकलापमा सार्वजनिक रूपमा प्रतिबन्ध लगाउने प्रयास असफल भएको बताइएको छ ।

यो नयाँ नियम जुन महिनामा लागू हुनेछ र यस नियमले सुर्तीजन्य वस्तुको सार्वजनिकस्थल वा यातायातमा विज्ञापनमा पनि प्रतिबन्ध लगाउनेछ । अब यस्ता विज्ञापन पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, समाचारपत्र तथा पुस्तकमा पनि प्रकाशन गर्न नपाइने व्यवस्था भएको आधिकारिक समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

चीनमा सुर्तीजन्य उत्पादनका कारण प्रति वर्ष १० लाखभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । यहाँ कुनै चुरोट तीन युआनमा पनि खरिद गर्न पाइन्छ । चिनियाँ तथा विदेशी विशेषज्ञहरूले चीनमा सन् २०३० मा हालको यो मृत्युसङ्ख्या तेब्बर हुने अनुमान गरेका छन् ।

विशेषज्ञहरूले राज्यले सुर्ती उद्योगमा एकाधिकार कायम गरेकोमा पनि औँला उठाएका छन् । चीनमा राष्ट्रिय राजश्वको १० प्रतिशत भाग यसै उद्योगबाट उठ्ने गर्छ । यो नै धूमपान निषेध गर्ने प्रयासमा सबैभन्दा ठूलो बाधा भएको ठानिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यस पाइलालाई प्रशंसा गरेको छ । उसले यसले चीनमा राष्ट्रिय स्तरमा धूमपान निषेध गर्ने कानुन बनाउन सहयोग गर्ने धारणा व्यक्त गरेको छ ।

चीनका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रतिनिधि बर्नहार्ड स्वार्टल्यान्डरले बेइजिङले आफूलाई १०० प्रतिशत धूमपान निषेध क्षेत्र बनाउने कानुन पारित गर्दा आफूहरू खुसी भएको बताउनभयो । उहाँले यसमा कुनै समस्या वा बाधा आउनु नहुने बताउनुभयो । उहाँले चीनले सुर्ती नियन्त्रणको क्षेत्रमा ठूलो पाइला लिन लागेको बताउनुभयो ।

सन् २०११ मा स्वास्थ्य मन्त्रालयको निर्देशनमा ‘इनडोर’ अर्थलाग्ने सार्वजनिक स्थलमा धूमपानमा प्रतिबन्ध लगाउने उल्लेख गरिएको थियो । उक्त निर्देशन व्यापक अर्थ लाग्ने भएको र लागू गर्न नसकिने भएको भनी आलोचित भएको थियो । यसपछि पनि बार, रेस्टुराँ तथा क्लबहरूले धूमपान गर्न अनुमति दिएका थिए ।

चीनमा भेटघाटमा चुरोट उपलब्ध गराउने सामान्य सत्कारको रूपमा लिइन्छ । यसैले लिफ्ट, बस तथा अस्पतालका पर्खाइ कक्षमा धूमपान भइरहेको देखिन्छ । अर्कोतिर त्यस्ता कक्षमा ‘धूमपान स्वास्थ्यका लागि हानिकारक हुन्छ’ भन्ने सूचना पनि टाँसिएको हुन्छ । एएफपी