बस जुधाएर १० यात्रुको ज्यान लिने चालक जेल चलान

439 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौंडा:  मालिकसँगको झगडामा बस ठोक्काएर १० जना यात्रुको ज्यान लिने चालकलार्इ मकवानपुर जिल्ला अदालतले जेल चलान गर्न शुक्रबार आदेश दिएको छ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

गत कात्तिक १५ गते पूर्वपश्चिम महेन्द्र राजमार्गको मकवानपुरको बसामाडी-२ मा  विराटनगर जाँदै गरेको शुभश्री यातायातको बस इलामबाट काठमाडैँ आउँदै गरेको मेट्रो बससँग जुधाएर १० जनाको ज्यान लिने चालक राकेशसिंह स्याङतानलार्इ अदालतले बिहीबार जेल पठाउने आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालयले स्याङतानबिरुद्द सवारी ज्यान सम्बन्धी अभियोगमा अदालतमा मुद्दा दायर गरेको थियो । सो ऐनमा उल्लेख भएअनुसार चालकलार्इ दुई देखि १० वर्षसम्म सजाय हुने प्राबधान छ ।

मालिकसँगको झगडामा राकेशले बस ठोक्काउँदा मेट्रोमा सवार ९ सहित १० जना यात्रुले ज्यान गुमाएका थिए भने ३२ जना गम्भीर घाइते भएका थिए ।

काठमाडौंबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्रीको बस इलामबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको बससँग राकेशले कात्तिक १५ गते बिहान २ बजे जुधाएका थिए ।

मकवानपुर जिल्ला अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको एकल इजालशले मेट्रो यातायातका चालक अरबिन्द तामाङलार्इ भने २० हजार धरैटी लिएर तारेखमा छाड्न आदेश दिएको छ । शुभश्रीको बस जुध्दा अरबिन्द पनि घाइते भएका थिए । घटनापछि फरार राकेशलार्इ भने प्रहरीले केही दिनपछी घरैबाट पक्राउ गरेका थियो ।