दुई दिनको फरकमा धादिङबेसीमा दुई महोत्सव हुने

824 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Small copyधादिङ– अवको एक महिना पछि दुई दिनको फरकमा धादिङ सदरमुकाम धादिङबेसीमा दुई वटा महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघले आगामी पुस ९ गते देखि २१ गते सम्म धादिङबेसीमा चौथो धादिङ महोत्सव आयोजना गर्ने घोषणा गरेको छ । यस अघि उद्योग वाणिज्य संघ धादिङले आगामी पुस ७ गते देखि १७ गते सम्म मध्यमाञ्चल क्षेत्रीय महोत्सवको आयोजना गर्ने भन्दै तयारीलाई तिव्र पारेको छ । उद्योग वाणिज्य संघले अघिल्लो बर्ष कृषि, पर्यटन औद्योगिक व्यापार मेला सम्पन्न गरेको धादिङबेसीको खुल्लामञ्चमानै यस वर्षको महोत्सवको आयोजना गर्ने भएपछि अर्को महोत्सव कुन स्थानमा हुने भन्ने अन्यौल छाएको छ । स्थानको छनौट नभएपनि महोत्सवको आयोजना गर्ने प्रस्ताव साधारण सभाले पारित गरेपछि सर्वसाधारणमा समेत थप अन्यौलता बढेको छ ।
dcciएउटा संघको तर्फवाट महोत्सवको घोषणा भई तयारी अघि बढाईसकेपछि अर्को संघले पनि एउटै समयमा पारेर महोत्सवको घोषणा गरेपछि दुई बर्ष अघि विभाजित हुन पुगेका धादिङका उद्यमी व्यवसायीहरु यति वेला थप संकटको घडीमा आईपुगेका छन । धादिङ उद्योग वाणिज्य संघलेएकीकृत नेकपा माओवादी, नेकपा माओवादी र राप्रपाको साथै नेपाली कांग्रेसका असन्तुष्ट केही नेता कार्यकर्ताको समर्थन पाएको छ । संघका सचिव समेत रहेका नेपाली कांग्रेस का कार्यकर्ता शरद अधिकारीले साधारण सभाको उदघाटन कार्यक्रममा आंफुहरु नेपाली कांग्रेस समर्थित व्यवसायी भएको स्पष्ट पार्दै संघलाई एमाओवादीको मात्र समर्थन रहेको नभन्न संचारकर्मीलाई चेतावनी दिएका थिए ।
शनिवार धादिङबेसीमा सम्पन्न भएको धादिङ उद्योग वाणिज्य संघको २१ औं बार्षिक साधारण सभाले आगामी पुस ९ गते देखि २१ गते सम्म धादिङबेसीमा चौथो धादिङ महोत्सव आयोजना गर्ने प्रस्ताव पारित गरेको हो । संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको अध्यक्षतामा भएको साधारण सभाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम कृषि उद्यम केन्द्रका संयोजक भवानी राणले उदघाटन गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसको तर्फवाट समानुपातिक सभासद दिलमान पाख्रिन,एकीकृत नेकपा माओवादीका तर्फवाट समानुपातिक सभासद रविन्द्रप्रताप शाहको बिशेष आतिथ्य रहेको थियो ।
यसै गरी एकीकृत नेकपा मओवादीका केन्द्रिय सदस्य एवम पुर्व सभासद पुष्पबिक्रम मल्ल,नेपाली कांग्रेस धादिङका नेता शिवराज अधिकारी,तिलक रुवाली, राप्रपाका भिमवहादुर दर्लामी,मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुण सुमार्गी,महासंघका केन्द्रिय सदस्य दिलसुन्दर श्रेष्ठ,एमाओवादी धादिङका अध्यक्ष रामवहादुर भण्डारी, नेकपा–माओवादीका अध्यक्ष शेर वहादुर भण्डारी लगायतको आतिथ्य रहेको थियो ।
यसैगरी कार्यक्रममा संघका पुर्व अध्यक्षहरु कृष्णकुमार श्रेष्ठ, तेजवहादुर भण्डारी,ध्रुववहादुर थापा र प्रभातकिरण सुवेदीको पनि आतिथ्य रहेको थियो । साधारण सभाको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै महासंघका मध्यमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष सुमार्गीले धादिङ उद्योग वाणिज्य संघ विभाजन हुनु र अहिलेको अवस्था आउनुमा तत्कालिन नेत्तृत्व दोषि रहेको वताउनु भएको थियो । तत्कालिन नेत्तृत्व सदस्यता बितरण देखि अन्य विवादित विषयमा केही लचिलो हुन सकेको भए दुईवाट संघ नवन्ने उहांको धारणा थियो । समस्या जहांवाट निस्किएको हो समाधान पनि त्यहिँवाट खोज्नु पर्ने र व्यवसायीहरु विभाजित हुंदै चिराचिरा भएर बस्नु जिल्लाको आर्थिक विकासको लागि चुनौति भएकाले विवाद गराउनेहरुले समाधान खोज्नु पर्ने अध्यक्ष सुमार्गीको सुझाव थियो ।