कण्डम छाडेर चक्की खान थालेपछि एचआईभीको जोखिम बढ्यो

1201 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

diet-pill_328001193
गोरखा : कण्डमको प्रयोग गर्न छाडेर गर्भ निरोधको औषधि खाने क्रम बढेपछि जिल्लामा एचआईभी सर्ने जोखिम बढेको छ। औषधिले अवान्छित गर्भ रोके पनि एचआईभी तथा यौन रोगको जोखिम भने नरोकिने भएकाले संक्रमितको संख्या बढ्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । ।
अहिले गोरखामा एचआईभी संक्रमित व्यक्ति को संख्या एकसय ५३ छ। कण्डमको प्रयोग गर्न छाडेर औषधितिर लाग्नेको संख्या बढेसँंगै संक्रमितको संख्या पनि निश्चित बढ्ने सरोकारवालाहरूको तर्क छ।
बिगत एक बर्षयता कण्डम छाडेर ईकोन, आइपील, अनवाण्टेड लगायतका औषधि किन्नेको संख्या ५० प्रतिशतले बढेको यहाँका औषधि व्यवसायीहरू बताउँछन्।
‘अहिले त कण्डोम बिक्न स्वाट्टै घट्यो’ हरमटारीमा औषधि ब्यबसायी श्रवण जोशी भन्छन् ‘कण्डम छाडेर औषधि किन्नेको संख्या ५० प्रतिशतले बढेको छ।’ यस्तो औषधि किन्नेमा टीनएजरहरु धेरै हुने गरेको उनले बताए। ‘कहिले त इकोन किन्नेहरु एकाबिहानै ढोका ढक्ढक्याउन आउँछन्’ जोशी भन्छन् ‘विशेषगरी अबिबाहितहरू दिउसोको समयमा यस्तो औषधि किन्न आउँछन्।’
 आफूहरुले सकेसम्म यस्तो औषधिले एचआईभी र यौनरोग नरोक्ने भएकाले कण्डोम प्रयोग गर्न सम्झाउने गरेको उनले बताए। ‘तर कण्डोमभन्दा औषधि किन्न पनि सजिलो, प्रयोग गर्न पनि सजिलो र फ्याँक्न पनि सजिलो हुने भएकाले औषधिको उपभोक्ता बढेको हो’ उनले भने।
गोरखा बजारमा रहेका १० वटा औषधि पसलको तथ्यांक अनुसार दैनिक ८० भन्दा धेरै गर्भ निरोधको औषधि बिक्री हुने गरेको छ। विशेषगरी होटल, पार्क, आर्मी ब्यारेक नजिकका औषधि पसलबाट यस्ता औषधि बढि बिक्री हुने गरेका छन्।
इकोन, आइपील, अनवाण्टेड, ई ७२, म्याक्स ७२ नामका औषधिहरु गोरखाको बजारमा बढी प्रयोग हुने गर्भ निरोधका औषधि हुन्। त्यस्तै एमटीपी, प्रिग्नो, एमटीपील्स जस्ता औषधि पनि खपत हुने गरेको औषधि व्यवसायीहरु बताउँछन्। यी मध्य कतिपय औषधि व्यवस्था विभागमा दर्ता नभएका अवैध औषधि पनि छन्।
चिकित्सकको प्रेस्क्रिप्सन नभइ किनबेच हुने भएकाले यसको प्रयोगले ‘साइडइफेक्ट’ बढाउने औषधि व्यवसायीहरू बताउँछन्। ‘यस्ता औषधि औषधि पसलमा पनि पाइन्छ, किराना पसलमा पनि बेच्ने अनुमति छ’ औषधि व्यवसायी संगमबाबु श्रेष्ठ भन्छन् ‘प्रेस्क्रिप्सन चाहिँदैन।
दुई मात्रा खाएपछि औषधि हेरीहेरी ७२ घण्टा, ९० घण्टा, १२० घण्टा सम्मको गर्भ रहँदैन। तर ग्राहकहरुले भोलिपल्टै पनि औषधि किन्न आउँछन्। मात्रा नमिलाई खाँदा विभिन्न साइड इफेक्ट हुन्छ भन्ने उनीहरूलाई ज्ञान हुँदैन।’
पाका औषधि पसले बसेको पसलमा भन्दा अल्लि किशोर किशोरी पसले बसेको पसलबाट यस्तो औषधि बिक्री हुने गर्छ। विशेष गरी एसएलसी तथा क्याम्पसको परीक्षा चलेका बेला सदरमुकामका औषधि पसलहरुमा यस्तो औषधिको व्यापार बढ्नेे गरेको औषधि व्यवसायीको अनुभव छ।
कम झण्झटिलो भएकाले किशोर किशोरीहरू कण्डम छाडेर औषधितिर लागे पनि औषधि प्रयोग जोखिमपूर्ण भएको गोरखा अस्पतालका स्वास्थ्यकर्मी कृष्ण ढकाल बताउँछन्। ‘कम झण्झटिलो भएकाले नयाँ पुस्ता यस्तो औषधितिर लागेका हुन्’ ढकाल भन्छन् ‘तर यसबाट धेरै नराम्रो असरहरु छन्।
एचआईभी तथा अन्य यौनरोगहरु औषधिले रोक्दैन। अनुहारमा चायाँ, पोतो बस्छ। रक्त श्राव बढ्छ। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, दीर्घकालसम्मका लागि बाँझोपन हुने गर्छ। सामाजिक बिकृतिको क्रम बढ्छ।’
जति नराम्रो असर गर्ने भए पनि युवाहरु कण्डोम छाडेर औषधितिर लागेकोमा उनले चिन्ता व्यक्त गरे। आर्थिक रुपमा कण्डोम भन्दा औषधि महंगो भए पनि किशोर किशोरीहरूले जथाभावी औषधि किन्ने गरेको अर्का औषधि व्यवसायी भाइकाजी आले बताउँछन्।
‘कण्डोम भन्दा औषधि कयौंगुना महंगो छ’ आले भन्छन् ‘तर पैसाको मतलबै गर्दैनन्। आउँछन् स्वाट्ट किन्छन् जान्छन्। पहिले ७० रूपैयाँ थियो। अहिले एकसय रुपियाँ पुग्यो। तर पैसाको मतलबै छैन किनिरहन्छन्।’
गर्भ निरोधका औषधिहरु आकस्मिक रुपमा शारीरिक संपर्क गर्नु परेका बेला प्रयोग गर्ने भनिएकोमा परिवार नियोजनको साधनको रुपमा प्रयोग भइरहेको प्रति औषधि ब्यबसायी श्रवण जोशीले चिन्ता ›यक्त गरेका छन्। ‘अकस्मात पर्यो भने खाने भनेर बजारमा ल्याएको हो।
तर बिकृति बढ्यो’ जोशी भन्छन् ‘परिवार नियोजनको साधनको रुपमा यसको प्रयोग गरेर गलत गरिरहेका छन्। अझै बिबाहित भन्दा पनि अबिबाहित किशोर किशोरीहरुमा बिकृति बढ्यो। एचआईभी तथा यौनरोगको जोखिम बढ्यो। हर्मोनै बिगार्ने, जीवनभरका लागि बाँझोपन हुने जस्ता जोखिम पनि बढ्यो।’
यो जोखिम घटाउनका लागि जनस्वास्थ्य कार्यालय, स्कूल, कलेज र परिवारले पनि प्रजनन शिक्षा दिनु पर्ने एचआईभीको क्षेत्रमा काम गर्ने हाम्रो पहुँच नामक संस्थाका अध्यक्ष अमीर बञ्जरा बताउँछन्।
गोरखा जिल्लामा गत असार मसान्तसम्मको तथ्यांक अनुसार १५३ जना एड्स रोगीहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ। असुरक्षित यौन सम्पर्कबाट हुने जोखिम न्यूनिकरणका लागि स्वास्थ्य कार्यालयले सचेतनामुलक कार्यक्रम संचालन गर्ने कार्यालयका एचआईभी एड्स सम्बन्धी शाखाका कर्मचारी नरजंग ठकुरीले बताए।