डी सिने अवार्डमा पनि केकी र आर्यन सर्वोत्कृष्ट-नाईँ नभन्नू ल २ र ६ एकान ६ लाई बराबर

754 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 10846688_1519503584970848_974649894_nडी सिने अवार्डको छैठौ संस्करणमा पनि केकी अधिकारी र आर्यन सिग्देल उत्कृष्ट अभिनेता एवं अभिनेत्री बन्न सफल भएका छन् ।

२८ विद्यामा भएको प्रतिष्पर्धा अनुरुप केकी र आर्यनले महशुस फिल्मबाट उत्कृष्टता हासिल गरेका हुन । केकी र आर्यन गत सोमवार आयोजित सीजी कामना फिल्म अवार्डसमा पनि महशुस फिल्मबाटै सर्वोत्कृष्ट कलाकार ठहरिएका थिए । यसैगरी आजको अवार्डमा महसुश फिल्मबाटै पाश्र्व गायिका दुर्गा परियारको हातमा पनि अवार्ड परेको छ ।

डीजटल फिल्महरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित आज भन्दा ७ बर्ष अघिबाट हुँदै आएको यस संस्करणको अवार्डमा नाईँ नभन्नू ल २ले  र ६ एकान ६ फिल्मले पाँच -पाँच विद्यामा अवार्ड जित्न सफल भएको छ । नाईँ नभन्नू ल २ को एउटै गीत मर्ने कसैलाई रहर हुँदैन बाट गीतकार कृष्णहरी बराल र गायक प्रेम परियार सर्वोत्कृष्ट ठहरिए भने संगीतकार तर्फको अवार्ड यी आँखामा तिमि छेउ बाट बसन्त सापकोटाको हातमा पर्‍यो   ।

यसैगरी सह नायिका तर्फ प्रियंका कार्की र निर्देशक विद्याको अवार्ड विकास आचार्यको भागमा पर्यो । तर पिताको बार्षिक पुण्य तिथि नसकिएको हुँदा आजको अवार्डमा पनि निर्देशक विकास आचार्य अनुपस्थित रहदा उनको अवार्डलाई कलाकार एवं प्रोडक्सन म्यानेजर उत्तम केसीले बुझेका थिए ।

यस्तै ६ एकान ६बाट उत्कृष्ट लेखक दीपकराज गिरी, खलपात्र राजबल्लभ कोईराला, चरित्र अभिनेता शैलेश आचार्य, पाश्र्व संगीत एलिश कार्की र छाँयाकन तर्फको अवार्ड पुरुषोत्तम प्रधानले जितेका छन् ।

कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको भवनमा सम्मन्न अवार्डमा उत्कृष्ट फिल्म चाँहि सुनील मानन्धरको मोक्ष फिल्म भएको छ भने सोही फिल्मबाट प्रविण श्रेष्ठ सर्वोत्कृष्ट नव निर्देशक घोषित भएका छन् ।

यसैगरी नव अभिनेत्री तर्फको अवार्ड मधुमास फिल्मबाट पूजा शर्माले प्राप्त गरेकी छिन् भने नव अभिनेताको अवार्ड प्रोड्यूसर फिल्मबाट श्याम आर्यलले प्राप्त गरे । नृत्य निर्देशनमा भने वितेका पलबाट शंकर बिसीले अवार्ड पाए भने वितेका पलबाट सर्वोत्कृष्ट सम्पादन तर्फको अवार्ड विपिन मल्लले प्राप्त गर्न सफल भए ।

यसैगरी प्रोड्यूसर फिल्मबाट पाश्र्व ध्वनी तर्फको अवार्ड दीप तुलाधरले प्राप्त गरेका छन् भने प्रोड्यूसरबाट सहअभिनेता तर्फको अवार्ड वील्सन विक्रम राईले पाएका छन् ।
रिलिजको क्रममा रहेका विभिन्न गीतहरुको प्रस्तुती सहित दीपक दीपाको कमेडीलाई प्रस्तुत गरिएको अवार्डबाट क्रिटिक्स अवार्ड तर्फ नम्रता श्रेष्ठलाई मौन फिल्मबाट अवार्ड प्रदान गरिएको छ भने सोही फिल्मबाट अभिनेता अर्पण थापा र छाँयाकार संञ्जय लामा लाई अवार्ड प्रदान गरिएको छ ।

यस्तै प्रोत्साहन तर्फको अवार्ड फेसन डिजाईनर निलिमा शर्मालाई प्रदान गरिएको छ । जुरी तर्फको अवार्ड भने साईलेन्स फिल्म मौनबाट निर्देशक सुरज भुषाललाई प्रदान गरिएको छ । यसैगरी पूर्व घोषित निर्णय अनुसार आयोजकले अभिनेत्री मिथिला शर्मा र डिजाईनर सुन्दर श्रेष्ठलाई रजत सम्मानबाट सम्मान गरेको छ भने पत्रकार विदूर गिरीलाई ६ हजार ६ सय ६६ रुपैया सहित सम्मान प्रदान गरेको छ ।

-न्यूज फिल्मी डटकमवाट