जागिर नहुनेलाई जताततै कामको अवसर !

559 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, मंसिर २३ – धेरै युवायुवती काम केही पाइएन भन्दै यताउता दौडधूप गर्छन् । सर्टिफिकेट र अनुभवको प्रमाणपत्र बोकेर चारतिर धाउँछन् । आवश्यकता लेखिएको ठाउँ खोज्दै आवेदन दिन्छन् ।

नाम निस्किएन भन्दै खुइय सुस्केरा हाल्छन् । अनि केही सीप नलागेपछि काम खोज्दै विदेश पुग्छन् । तर सीप र क्षमता अनुसारको काम स्वदेशमै पनि पाइन्छ भन्ने कुरा धेरैले प्रमाणित गरेर पनि देखाइदिएका छन् उज्यालो अनलाईनले खबर लेखेको छ ।

गरे आफ्नै ठाउँमा पनि हुँदोरहेछ भनेर धेरै युवायुवती हिजोआज खेतीपाती र पशुपालनको काममा लागेका छन् । गाउँमै बसेर पनि प्रशस्त आम्दानी गर्नेहरु धेरै ठाउँमा छन् । यसबाहेक केही गैरसरकारी संघसंस्थाले बेरोजगार युवाहरुलाई उनीहरुको क्षमता अनुसार काम उपलव्ध गराउने गरेका छन् ।

यस्तैमध्येको एउटा संस्था हो, वैकल्पिक समूह । तीन वर्षअघि खुलेको यो संस्थाले बेरोजगार युवालाई विदेशमा होइन, स्वदेशमै कामको अवसर छ भनेर बाटो देखाउने गरेको छ । ‘देशमै रहेका मानव संसाधन तथा उपयुक्त,शिक्षित,सिपयुक्त, तथा दक्षता हासिल जनशक्तिको सदुपयोग गर्दै उनिहरुका हित का लागि  सम्बन्धित विषयगत क्षेत्रमा रोजगारी दिलाउनको निमित्त यो समुहले सहयोग गर्छ ’समूहका अध्यक्ष रामजी लामिछानेले भन्नुभयो ।

यदि कुनै मानिससँग सीप छ र कुनै पनि विषयमा तालिमप्राप्त छ भने उसको सीपको कदर गर्दै उचित मूल्याँकन गर्दै रोजगारी दिने गरिएको उहाँले दावी गर्नुभयो । संस्थाले दिने कामको बारेमा थप जानकारी यहाँ हेर्न सकिन्छ ।

यस्तै रोजगारी पसल भन्ने अर्को संस्थाले पनि बेरोजगारलाई कामको बाटो देखाइदिने गरेको छ । कामदार खोज्ने रोजगारदाता र काम खोज्ने कामदार दुवैको लागि हुनेगरी सेवा दिने गरिएको संस्थाका व्यवस्थापन प्रमुख राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अशिक्षित तर दक्ष तथा सीप भएका व्यक्तिलाई काम उपलव्ध गराउने संस्थाको मुख्य उदेश्य हो । झण्डै ६ महिनादेखि काम थालेको यो संस्थाले दुईहजार जनालाई काम उपलव्ध गराइसकेको छ ।

कामदारको लागि सेवा निःशुल्क गरिएको पनि श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रोजगारदाताबाट भने कामदार खोजिदिएबापत केही शुल्क लिने गरिन्छ । यो संस्थाले दिने सेवाबारेको थप जानकारी यहाँ हेर्न सकिन्छ