‘जस्ट स्लो… मोसनमा’ राति १२ बजेसम्म कपाल कन्याउने काम हुन्छ -(कक्रोच)

1457 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

harii

हास्यटेलिशृंखला भद्रगोलमा कक्रोचको भूमिका गर्दै आएका हरि निरौला (कक्रोच) आफ्नो अभिनयभन्दा बढी कपालका कारण चर्चित छन् । भद्रगोलमा ‘जस्ट स्लो… मोसनमा’ भन्ने थेगो बोल्ने कक्रोचसित कपालको विषयमा केन्द्रित रहेर 
गरिएको कुराकानी :

कपाल लामो पाल्न थाल्नुभएको कहिलेदेखि हो ?
तीन वर्षजति भयो ।

कसरी उत्पन्न भयो जस्ट स्लो… मोसनमा जोगीको जस्तो कपाल बनाउने सोख ?
खासमा सुरुमा यो जोगीको जस्तो थिएन । मेरो घर सोलुखुम्बुमा छँदा कपाल सलक्क परेको दामी थियो । ०६२ मा काठमाडौं आएपछि कपाल कर्ली (घुम्रे) हुन थाल्यो । त्यसपछि पाल्ने विचार गरेँ । जब पाल्दै गएँ, काठमाडौंको पानीले हो कि केले हो, कपाल लट्टा पर्दै जान थाल्यो । हुँदा–हुँदा जोगीकै जस्तो भइदियो ।

किन काट्नुभएन त ?
काट्ने सोचचाहिँ कहिल्यै आएन । खासमा यस्तो ‘डेडलक’ कपाल त बहुमूल्य हुँदो रहेछ । मानिसहरू थुप्रो पैसा खर्च गरेर यस्तो लट्टा बनाउँदा रहेछन् । मेरो दैवीशक्तिले यस्तो भइदियो । यसलाई भगवान्को उपहार नै ठानेको छु नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

कपाल पाल्दा परिवारमा कसैले विरोध गर्दैन ?
पहिले–पहिले विरोधका स्वरहरू खुबै सुनिन्थे । विशेष गरी आमाले कपाल काट्न कडा अल्टिमेटम नै दिनुभएको थियो । हप्तैपिच्छे तँलाई सेम्पु किन्न सकिँदैन, खुरुक्क काटिहाल् भन्नुहुन्थ्यो । तर, मैले जस्ट स्लो… मोसनमा अटेर गर्दै आएँ । अब त आमाले काट् भन्नुहुन्न । बरु उल्टै काट्लास् नि पो भन्नुहुन्छ ।

कसरी यस्तो ‘यू टर्न’ हुनुभयो त ?
पहिले कमाइ खासै थिएन । भएको पैसा पनि कपाल स्याहार्दै सकिन्थ्यो । सेम्पु कति चाहिने कति † पछि बिस्तारै हल्काफुल्का कमाइ हुन थाल्यो । सिरियल, विज्ञापन, महोत्सवहरूबाट पैसा कमाउन थालेपछि मेरो पनि कन्फिडेन्स बढ्यो । वेलाबखत आमालाई पनि दुई–चार पैसा हातमा राखिदिन थालें । अनि त आमा खुस †

लामो कपालका फाइदाहरू के–के छन् ?
अहिले त कपाल नै मेरो पहिचान भएको छ । कक्रोचको कपालचाहिँ हो के भन्नेहरू धेरै छन् । मान्छेहरूले विभिन्न केमिकल प्रयोग गरेर, पैसा खर्च गरेर बनाउँदा रहेछन् । यसो बजार बुझ्दा मेरो कपाल अहिलेकै अवस्थामा ५० हजारमा बिक्ने रहेछ । पछि गएर कलाकारितामा केही चलेन भने बैकल्पिक पेसाका रूपमा कपाल खेती गर्ने योजना बनाएको छु । कपाल पाल्छु बेच्छु, फेरि पाल्छु, फेरि बेच्छु । एकातिर मैले कपाल पाल्ने अर्कोतिर कपालले मलाई पाल्ने दोहोरो सम्बन्ध स्थापित हुनेछ ।

पानी परेका वेला छाताको काम पनि त गर्दो हो नि, होइन ?
हो, यो फाइदा त भन्नै बिर्सेंछु । पानी परेका वेलामा रबर खोलेर कपाल फिँजायो भने छाताकै काम पनि गर्छ ।

स्याहार्न झ्याउ हुँदैन ? कत्तिको चिलाउँछ ?
कहाँबाट नचिलाउनु ! चिलाउँछ । बिहान घन्टौँ लगाएर नुहाएर घरबाट हिँड्यो, बेलुका घर पुग्दा मारी चिलाउन थाल्छ । त्यसपछि त घरमा पुगेर जस्ट स्लो… मोसनमा कपाल कन्यायो बस्यो । राति १२ बजेसम्म कपाल कन्याउने काम हुन्छ ।

सुत्दा कपालले असजिलो हुँदैन ?
कहाँबाट असजिलो हुनु ? बरु कपालले त सिरानीको काम गर्छ । जुरो खोल्यो, कपाल फिँजायो, ल्याम्म सुत्यो ।

नुहाउन कति समय खर्चिनुहुन्छ ?
नुहाउन त गाह्रो छ नि हो ! सानोतिनो धारोले हुँदैन, सानोतिनो छाँगो नै चाहिन्छ । जाडोमा त झन् काल नै आएजस्तो हुन्छ । तातो पानीले नुहायो भने कपाल झरिहाल्छ, चिसै पानीले नुहाउने हो । धारोमा टाउको थापेर मिच्दा–मिच्दा गर्‍यो । फेरि पखाल्न त्यत्तिकै बेर । टाउको फुटिहाल्ला कि जस्तो हुन्छ ।

हप्तामा कतिचोटि नुहाउनुहुन्छ ?
म एक दिन बिराएर नुहाउँछु । दुई दिन कट्यो भने त टाउको कन्याउने काम मात्रै हुन्छ ।

पहिले त बाँध्ने गर्नुभएको थिएन नि ?
हो, पहिले खुल्लै छाड्थें । तर, सिरियलमा मेरो कपालले अनुहार छोपिएर मान्छेले नचिन्ने स्थिति आयो । त्यसैले अनुहार प्रस्ट देखियोस् भनेर बाँध्न थालेको हुँ ।

बाटोमा तपाईंलाई देख्ने–चिन्नेहरूले कस्तो प्रतिक्रिया जनाउँछन् ?
मलाई मान्छेहरूले कपालबाटै चिन्छन् । भद्रगोलका जिग्री, पाँडे, बलेहरूसित हिँड्दा सबैभन्दा पहिले मलाई पछाडिबाटै चिन्छन् । अनि, कुद्दै अगाडि आएर अनुहार हेर्छन् । त्यसपछि आपसमा कानेखुसी गर्छन्, ‘हो त, कक्रोच नै त रहेछ नि ! ’ म केही थाहा नपाएझैँ गरिदिन्छु ।

काट्ने योजना छैन ?
काट्ने योजना त मरिगए छैन ।

बिहे गर्नै बाँकी छ । बेहुला हुँदा त काट्नुपर्ला नि ?
काट्दिनँ । बिहेमा पनि लट्टा लिएरै जाने हो । बेहुली दिएनन् भने ठिकै छ । मेरो लट्टाकै फ्यान छन् धेरै केटीहरू । लट्टाले गर्दा केटी नपाइएला भन्ने डर छैन ।

कपालका फ्यान कस्ता–कस्ता छन् ?
एउटा सानो बच्चाले कक्रोचको जस्तो कपाल बनाउने भनेर जिद्दी गरेछ । अनि, बुबाआमाले पनि पार्लरमा लगेर मेरैजस्तो डेडलक बनाइदिएछन् । एकजना केटी पनि हुनुहुन्छ, जसले मेरै सिको गरेर कपाल डेडलक बनाउनुभएछ । मलाई फेसबुकमा फोटो पठाउनुभएको थियो । भद्रगोल सिरियलमा मलाई देखाउँदा उहाँको मम्मीले ऊ तेरो बुढो आयो भनेर जिस्क्याउनुहुन्छ रे । मम्मीले तपाईंलाई भेट्नुभयो भने त बिहे नै गराइदिनुहुन्छ पो भन्दै थिइन् ।

त्यस्तो सुन्दा काउकुति लाग्दैन ?
पहिले–पहिले लाग्थ्यो । अहिले सामान्य भइसक्यो ।

तर बिहेपछि श्रीमतीले कपाल काट्नुपर्ने अडान लिइन् भने के गर्नुहुन्छ ? कपाल वा श्रीमतीमा एक रोज्नुपर्ने अवस्था आयो रे ल?
म त कपाल नै रोज्छु होला, किनकि यो मेरो करिअरसित जोडिएको छ । बरु धेरै कडा बुढी परी भने मेरो जगल्टामा समाएर तीन फन्का घुमाउने हो कि भन्ने डरचाहिँ छ ।

कपाल काट्नुपर्ने सर्तमा कुनै फिल्ममा हिरोको अफर आयो भने ?
गर्दिनँ । बरु भद्रगोलकै कथाले मागेर काट्नुपर्ने अवस्था आयो भनेचैँ काट्न सक्छु ।

तपाईंको परिवारमा अरूको कपाल पनि यस्तै छ कि ?
मेरी बहिनीको कपाल लगभग मेरैजस्तो छ । बहिनी र म सँगै हिँड्यौँ भने मान्छेहरू ‘जस्ट स्लो… मोसनमा’ हामीलाई नै हेरेर बस्छन् ।

-नयाँ पत्रिका दैनिकबाट