गुणस्तरहीन केपी सिमेन्ट धमाधम बजारमा

850 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


kp cymentकाठमाडौं, –
धादिङको नौबीसेमा रहेको केपी सिमेन्ट उद्योगद्वारा उत्पादित गुणस्तरमा समस्यायुक्त ओपीसी सिमेन्ट धमाधम बजारमा बिक्रीवितरण भइरहेको छ । बलिया र महत्वपूर्ण संरचना निर्माणमा प्रयोग हुने ओपीसी सिमेन्टको गुणस्तरमा समस्या रहेको प्रयोगकर्ताहरुले बताएका छन् । उक्त सिमेन्टबाट उत्पादित केपी ओपीसी सिमेन्ट फुट्ने र चर्किने समस्या रहेको उक्त सिमेन्ट प्रयोग गरेर भवन बनाइरहेका व्यक्तिहरुले बताएका छन् । दुई साताअघि सतुङ्गलको एक डिपोबाट केपी सिमेन्ट खरिद गरेका स्थानीय महर्जन थरका प्रयोगकर्ताले ‘ट्वाइलेट’ मर्मत गर्दा कामै नलागेको कारण अर्को सिमेन्ट खरिद गर्न बाध्य भएको गुनासो गरे । उनले भने, ‘ट्वाइलेट बनाउन प्लाष्टर गर्दा नै फुट्ने सिमेन्टले भवनहरुको ढलान कसरी बलियो हुन्छ ?’ ओपीसी सिमेन्टमा म्याग्नेसियमको मात्रा सन्तुलन मिलाउन नसक्दा यस्तो समस्या उत्पन्न हुने सिमेन्ट प्राविधिकहरु बताउँछन् । ओपिसी सिमेन्टमा म्याग्नेसियम अक्साइडको मात्रा दुई प्रतिशतमा सीमित हुनुपर्नेमा केपी सिमेन्टको म्याग्नेसियमको मात्रा पाँच प्रतिशतसम्म हुने गरेको सोही कम्पनीमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

सानो परिमाणमा सिमेन्ट उत्पादन गर्ने उपकरणजडित केपी सिमेन्ट उद्योगबाट एउटै भट्टीबाट दुईथरि सिमेन्ट उत्पादन गरिएका कारण यसको गुणस्तरमा समस्या भएको उद्योगमा कार्यरत मजदुर स्रोत बताउँछ । ‘भर्टिकल सफ्ट किल्म’ मेसिनबाट उत्पादन गर्दै आएको केपी सिमेन्टको केही समयदेखि गुणस्तर खस्किएको उद्योगमै कार्यरत कर्मचारीहरु बताउँछन् । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा आर्थिक दैनिकसँग त्यहाँ कार्यरत एक कर्मचारीले भने, ‘एउटै भट्टीमा दुवैथरि सिमेन्ट उत्पादन हुन्छ, त्यसैमा केही थपथाप गरेर ओपीसी बनाइन्छ भने अर्कोतिर केही खरानीलगायतका पदार्थ मिसाएर पीपीसी सिमेन्ट बनाइन्छ ।’ स्रोतका अनुसार केपी सिमेन्टको गुणस्तरमा समस्या भएका कारण ठूला भवन तथा सडक निर्माण लगायतमा यसको प्रयोग गर्नुहुँदैन । केपी सिमेन्ट राजधानीको थानकोट, गुर्जुधारा, सतुङ्गल, नैकाप तथा दहचोक क्षेत्रमा बढी प्रयोग भएको पाइएको छ । साथै धादिङका विभिन्न क्षेत्रमा पनि केपी सिमेन्ट प्रयोग भएको पाइएको छ । साथै राजधानीका केही ठूला हाउजिङमा समेत उक्त सिमेन्ट प्रयोग भएको छ ।

केपी सिमेन्टको गुणस्तरको सम्बन्धमा पटक–पटक समस्या आइरहेको भेटिए पनि उद्योगले गुणस्तर सुधार्नभन्दा पनि नियमनकारी निकायको आँखामा छारो मात्रै हाल्ने काम गरिरहेको फेला परेको छ । गत वर्ष केपी सिमेन्टको ओपीसी समेन्टको गुणस्तर माटोजस्तै भएका कारण नापतौल तथा गुणस्तर विभागले उत्पादन तथा बिक्रीवितरणमा प्रतिबन्ध नै लगाउनुपरेको थियो । अहिले पनि केपी सिमेन्टको गुणस्तरमा गम्भीर समस्या आएको हो । केपी सिमेन्टको गुणस्तरमा समस्या हुँदा पनि सम्बन्धित निकायले कारबाही गर्न नसकेको देखिएको छ । गत वर्ष पनि केपी सिमेन्टको गुणस्तरमा समस्या भएका कारण गुणस्तर तथा नापतौल विभागले ओपीसी सिमेन्टको उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको थियो । विभागको प्रतिबन्धलाई बेवास्ता गर्दै अवैध रुपमा सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको केपी सिमेन्टका कारण थुप्रै भौतिक संरचनाहरु जोखिमपूर्ण बन्नपुगेका र गुणस्तरहीन सिमेन्टको बिक्रीलाई निर्बाध खुल्ला राख्दा नयाँ बन्ने भौतिक पूर्वाधारमा समेत जोखिम बढ्ने देखिएको छ ।

-आर्थिक दैनिकवाट