भैरवी सहकारीका असल ऋणीलाई उपहार करुवा

686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0064
धादिङ,२७ मंसिर – सहकारीवाट ऋण कारोवार गर्दा समयमै ऋण तिरेवापत सम्मानित भएका शेयर सदस्यहरुलाई संस्थाको सम्झना ताजा राख्न करुवा उपहार दिईएको छ ।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको भैरबी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ६१ जना शेयर सदस्यलाई ऋण कारोवारमा असल व्यवहार प्रदर्शन गरेको भन्दै एक एक थान करुवा उपहार दिएको हो । शनिवार धादिङबेसीमा सम्पन्न भएको संस्थाको १३ औं बार्षिक साधारण सभाको अवसर पारेर ६१ जना असल ऋणीलाई संस्थाले सम्मान गरेको हो । साधारण सभामा संस्थाले आफ्ना शेयरसदस्यका छोरा छोरी मध्येवाट २०७० सालको एसएलसी परीक्षामा उत्कृष्ठ अंक ल्याउन सफल पुजा वज्रचार्य र सुजन दनैलाई नगद ५ हजार र प्रशंसा पत्र दिएर सम्मान गरेको छ । त्यसै गरी २०७० सालमा एसएलसी उत्तीर्ण गर्ने शेयर सदस्यका ३० जना छोराछोरीलाई पनि सोही अवसरमा प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो ।
आर्थिक वर्ष ०७०÷ ०७१ मा सबै खर्च कटाई १५ लाख ५४ हजार १ सय ८३ रुपैंया नाफा भएको संस्थाका अध्यक्ष इश्वरकुमार श्रेष्ठले कार्यक्रममा वताउनु भयो । २०७१ कात्तिक मसान्त सम्ममा शेयर पुंजी ६२ लाख २३ हजार ६ सय पुगेको र शेयर सदस्यहरुका बिच ५ करोड ३३ लाख ५३ हजार ४ सय ८ रुपैया लगानीमा रहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । हाल ८ सय ६५ जना सेयर सदस्य र १ सय ९२ जना बाल बचतकर्ता रहेको सस्थालाई जिल्लाकै एक उत्कृष्ठ वित्तिय सहकारीको रुपमा स्थापना गर्ने परिकल्पना भएको श्रेष्ठले बताउनु भयो ।

संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णलाल उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । साधारण सभामा कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठले आर्थिक प्रतिवेदन, महासचिव रामलाल श्रेष्ठले चालु आर्थिक बर्षको प्रतिबेदन तथा प्रस्तावित कार्यक्रम,लेखा सुपरिबेक्षण समितिका संयोजक कृष्णकुमार श्रेष्ठले सुपरिवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक शिवकुमार श्रेष्ठले ऋण उपसमितिको प्रतिवेदन,शिक्षा उप समितिका संयोजक विनोदमान श्रेष्ठले शिक्षा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुका साथै नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।