ऋण खोजेर नेपालमा स्मार्टबोर्ड ल्याउने तयारी

771 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, – गाउँका विद्यालयमा कम्प्युटर शिक्षा पुर्‍याउने अभियान चलाइरहेका युवाहरुले आधुनिक प्रविधिको स्मार्ट बोर्ड र स्मार्ट प्रोजेक्टर ल्याउने तयारी गरेका छन् । गाउँमा कम्प्युटर शिक्षा अभियानमा सहभागी युवाहरुले सार्वजनिक विद्यालयमा आधुनिक प्रविधिबाट पढाई सञ्चालन गर्न छिट्टै ५६ वटा स्मार्ट इन्टर्याक्टिभ बोर्ड र १३ वटा स्मार्ट प्रोजेक्टर ल्याउँदैछन् ।

कम्प्युटरबाट नियन्त्रण गर्न सकिने यस्तो बोर्ड विद्यालयको कक्षाकोठामा कालोपाटी वा ह्वाइट बोर्डको सट्टामा प्रयोग गर्न सकिन्छ । बोर्डमा कलम, सिसाकलम वा औलाले छोएर लेख्न र तुरुन्तै मेटाउन पनि सकिन्छ । बिभिन्न चित्र, ग्राफहरु पनि बनाउन सकिने बोर्डमा विद्यार्थीहरुले क्लासवर्क र समूहकार्य पनि गर्न सक्नेछन् । हाल युरोपेली मुलुकहरुमा प्रचलनमा रहेको बोर्डमा क्याल्कुलेटर जस्तो हिसाब गर्न र पावर प्वाइन्ट प्रेजेन्ट गर्न पनि मिल्ने गाउँमा कम्प्युटर शिक्षा अभियानका अध्यक्ष भुवन गुरुङले जानकारी दिए ।
smart board
नेपालका स्कुलहरुमा आधुनिक शिक्षण प्रविधि भित्र्याउन हामीले स्मार्ट इन्टर्याक्टिभ बोर्ड र स्मार्ट प्रोजेक्टर ल्याउने तयारी गरिरहेका छौं’ गुरुङले भने ‘त्यसका लागि हामीसँग पर्याप्त रकम छैन, अहिले रकम जुटाउने प्रयासमा नै छौं ।’ वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका भुवनले विदेशमा र स्वदेशमा रहेका आफ्ना साथीहरु मार्फत सहयोग खोजी भइरहेको जानकारी दिए । ‘यति धेरै संख्यामा यो प्रविधि नेपाल ल्याउन लागेको पहिलो पटक हामीले नै हो, यस्तो प्रविधि सायद नेपालका सार्वजनिक विद्यालयमा प्रयोग नै भएको छैन’ भुवनले भने ।

५६ वटा बोर्ड र १३ प्रोजेक्टरका लागि करिब १० हजार अमेरिकी डलर अर्थात झण्डै १० लाख रुपैयाँको खाँचो छ । ‘हामीसँग अहिले जम्मा २ लाख रुपैयाँमात्र छ, बाँकी रकम सहयोग खोज्नुपर्छ, हाम्रो उद्देश्य पवित्र भएकाले सहयोग जुट्छ भन्ने विश्वासमा छौं’ भुवनले भने । अहिले युएई भिजन एयर कम्पनीले यो बोर्ड सस्तोमा दिन लागेकाले तत्काल किन्न लागेको उनले बताए ।

यी बोर्डहरु नेपाल ल्याएपछि इच्छुक र सदुपयोग गर्न सक्ने विद्यालयलाई हस्तान्तरण गर्ने उनीहरुको योजना छ । अहिले ऋण गरेर भएपनि बोर्ड नेपाल ल्याउने र यसको उपयोग गर्न सक्ने विद्यालयसँग केही रकम लिएर हस्तान्तरण गर्ने योजना बनाएको संस्थाका महासचिव कुमार धमलाले बताए । गाउँमा कम्प्युटर शिक्षा अभियानले हालसम्म धादिङका बिभिन्न ६ वटा विद्यालयमा कम्प्युटर शिक्षा सुरु गराउन सहयोग गरेको छ ।

-चक्रपथ डट कम अनलाईनवाट