आप्रवासी कामदारलाई पत्तो छैन आफ्नै दिवस

729 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, पुस ३ – आप्रवासी कामदार बाहुल्य मुलुक कतारमा ६ वर्ष बिताएर २८ वर्षीय विन्देश्वर साह स्वदेश फिरेको पनि एक वर्ष पुगी सक्यो । तर, कतार होस् वा नेपाल बसाईको क्रम उनलाई कहिल्यै ‘अन्तराष्टिर्य आप्रवासी कामदार दिवस’ बारे थाह भएन ।

aaprabaasanसन् २००० देखि हरेक डिसेम्बर १८ को दिन ‘अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस’ मनाईदै आएको छ । यसपाली १५ औं संस्करण हो । नेपालमा साता व्यापी रुपमा दिवस मनाईदै छ ।

कतार र नेपालमा राजनीति र सामाजिक गतिविधीमा समेत खट्ने  धनुषाधाम-२ जनकपुर निवासी साह दिवसबारे आफुलाई मात्र होईन आफु जस्तै धेरै कामदारलाई पत्तै नपाएको सुनाउँछन् । ‘मलाई १८ डिसेम्बर कतारको राष्ट्रिय दिवस भन्ने थाह छ तर आप्रवासी कामदार दिवसबारे केही थाह छैन’ दुई पटकमा पनि एसएलसी पास गर्न नसकेर कतार हानिन परेको बाध्यता सुनाउँदै भने, ‘कतारको राष्ट्रिय दिवसमा रमझम र छुट्टी हुन्छ र यसमा के हुन्छ र थाह होस् ?’

हो पनि – आप्रवासी कामदार दिवस भनेर न राष्ट्र बैंक र मनी टान्सफर कम्पनीले पैसा पठाउँदा छुट दिन्छन्, न सरकारले कुनै विशेष कार्यक्रम ल्याउँछ । न टेलिकम कम्पनीहरुले कुनै अफरको घोषणा गर्छन् न गन्तब्य देशले विशेष सेवा र छुट दिन्छन् ।

यस पाली पनि विगत जस्तै साताव्यापी रुपमा आप्रवासी कामदार दिवस मनाईएको छ । दिवस मूल आयोजक समितिले रेमिट्यान्स साक्षरता सामाग्री विमोचन, विद्यार्थी अभिमुखीकरण, पीडित सुनुवाई, रक्तदान, मृतक कामदारको स्मृतिमा दिप प्रज्ज्लन, स्थानीय तथा राष्ट्रिय तहमा अन्र्तकृया, गोष्ठी, र्‍याली राखेको छ, जसमध्ये कतिपय कार्यक्रम भईसकेका छन् ।

साहले कतारमा काम गर्दा आफ्नो कम्पनीमा करीव ५ सय कामदार भए पनि कसैले पनि दिवसबारे कुरा नगरेको बताउँछन् । साउदी अरबमा ११ वर्ष बिताएका ताप्लेजुङ, खोक्लिङका कुलप्रसाद कार्कीको पनि उस्तै भनाई छ । ‘साउदीमा ८ वर्ष प्रवासी नेपालीलाई सहयोग, उद्धार गर्ने संस्थामा काम गरें तर पनि मलाई यो दिवसबारे केही थाह भएन’ कार्की भन्छन्, ‘फर्केर ५ वर्षदेखि आप्रवासी कामदारको अधिकार र उद्धारमा लाग्दा बल्ल थाह भो ।’ उनी प्रवासी नेपाली समन्वय समितिका उपाध्यक्ष हुन् ।

सरकारी तथा गैरसरकारी संस्थाबाट व्यापकता नभएसम्म कामदार कहाँ जानकारी नपुग्ने उनको ठम्माई छ । ‘दिवसको कार्यक्रममा  पाहोर जो आए, अहिले तिनै आउँछन्, कामदार आउँदैनन्’ उनी भन्छन्, ‘जनस्तरमा नगएसम्म महत्व हुँदैन ।’

श्रम मन्त्रालय, सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा ‘सुरक्षित आप्रवासको आवश्यकताः हामी सबैको प्रतिवद्धता’ नाराका साथ आप्रवासी कामदार दिवस मनाईदै छ ।

दिवस आयोजक समितिकै एक सदस्यले वैदेशिक रोजगारका समस्या हल गर्ने प्रतिवद्धता सहित कामदारका वीच नलगी ‘कस्मेटिक’ रुपमा दिवस मनाईनुको औचित्य नभएको बताउँछन् । ‘गोष्ठी, कार्यशाला, अन्तर्कयामा पनि तिनै मान्छे , कामदारको नाममा विदेश जाने पनि तिनै मान्छे, र्‍यालीमा पनि तिनै मान्छे’ उनले कान्तिपुरलाई भने, ‘यो श्राद्ध गरे जस्तै भयो, फरक ढंगले मनाउनुपर्छ ।’

आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षण गर्ने उद्येश्यले राष्ट्र संघले १९९० डिसेम्बर १८ मा महासन्धी पारित दिनलाई स्मरण गर्दै ४ डिसेम्बर २०००को  महासभाले दिवस मनाउने निर्णय गरेको थियो ।

राष्ट्र संघबाट १९९० मा पारित महासन्धी २००३ जुलाई १ देखि लागु छ । नेपालले महासन्धी अनुमोदन गरेको छैन । दक्षिण एसियाका बंलगालादेश र श्रीलंका सहित ४७ पक्ष राष्ट्र छन् । नेपालीको प्रमुख गन्तब्य खाडीका मुलुक र  मलेसियाले अनुमोदन गरेका छैनन् ।

महासन्धीमा आप्रवासी कामदार अधिकारलाई मानवअधिकारकै रुपमा लिन,  कुनै प्रकारको विभेद नगरी सम्मानपुर्व व्यवहार गर्न, उत्पत्ति, बाटोमा पर्ने राष्ट्र तथा गन्तब्यमा कामदार र तिनका परिवारको हक संरक्षण गर्न, गन्तब्य देश कुनै पनि बेला छाडेर मुलुक फर्किन पाउनु पर्ने छ ।

आयोजक समितिका अनुसार डिसेम्बर १८ मा कामदारको स्वागत, विदाई, र्‍याली, मृतक कामदारका वालबालिकालाई छात्रवृत्ति, विशेष उद्वारा कोषको स्थापना गरिदैछ । स्थानीय नेपाली संस्थाको सहयोगमा कतार र संयुक्त अरब ईमिरेट्समा पनि दिवस मनाइने भएको छ ।

नेपाली श्रम बजारमा प्रत्येक वर्ष साढे ४ लाख नेपाली प्रवेश गर्छन्, जसमध्ये अधिकांशको बिकल्प बैदेशिक रोजगार बन्दै आएको छ । श्रम स्वीकृत लिएर कार्तिकसम्म ३४ लाख ९७ हजार कामदार बाहिरिएका छन् । आर्थिक वर्ष २०७०/०७१ मा ५ खर्ब ४३ अर्ब भन्दा बढी रुपैया रेमिट्यान्स भित्रिएको छ ।

-इ कान्तिपुर डट कमवाट