जग्गा बिद्यालयलाई दिएर ओडारमा बास

958 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 निवुवाटार ( धादिङ), – दुईचार जोर पुराना भईसकेका लगाउने कपडा, ओढ्नेको नाममा एउटा पुरानो पछ्यौरा, सुत्नका लागि एक टुक्रा चाईनिज म्याट…. यति नै हो उहाँको जाय जेथा भने पनि, धन सम्पति भने पनि ।

salanagh ghaat 2पृथ्वीराजमार्गको सलाङघाटबाट त्रिशूली नदीको झोलुङ्गेपुल तरेर केहीबेरको पैदलयात्रापछि पुगिने सलाङ गाविसको निबुवाटारको ओडारमा गएको  ६ वर्षदेखि गोपाल परियार निकै कष्टका साथ जीवनयापन गरिरहनुभएको छ । परियारको वासस्थल बनेको ओडारमा पुग्दा वरिपरी बनमाराको बाक्लो झाडी, झाडीभित्रको सानो ओडार देखिन्छ । परियार बस्ने ओडारले न घाम छेक्छ, न पानी ।

परिवारमा रमाउने, धेरै खेतवारीको मालिक बनेर त्यसबाट आएको आयस्ताले गुजारा चलाई दुईचार हजार कमाई गर्दै राम्रो घरमा बस्ने, ऐश आराम गर्ने, मिठो मसिनो खाने र सुख सयलमा रमाउने रहर सबैलाई हुन्छ । मनभित्र रहर भएर पनि त्यो सबैले पूरा गर्न सक्दैनन । केहि समय अघिसम्म सामान्य जग्गाजमिन भएका गोपाल परियार अहिले यहि अनकन्टार स्थलको ओडारमा बस्दै आउनुभएको छ ।

 ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका परियारको थोरै जग्गा पनि साहुले हडपेपछि उनी ओडारको बास बस्न बाध्य हुनुभएको हो । ५७ वर्षिय परियार धादिङको सलाङ गाविस वडा नं ५ निवुवाटारमा रहेको ओडारलाई  आश्रय स्थल बनाउँदै आउनुभएको छ । ओडारको बास भएपनि  परियारलाई काम दिनेको भने खाँचो छैन । बिहान दिउँसो काम गर्नेको घरमा  खाना खाएपनि रात बिताउन भने आफु ओडारमै आउने गरेको गोपाल बताउनुहुन्छ ।

अरुको घरमा सुत्दा चाँडै उठ्नुपर्ने, निन्द्रा नपर्ने जस्ता कारणले अफ्ठ्यारो लाग्ने गरेकोले पुस माघको ठण्डी होस् या असार साउनको झरीमा पनि आफु ओडारमा बास बस्न आईपुग्ने गरेको परियारले बताउनुभयो । ‘भन्न त काम गरेको ठाउँमा बस्न भन्छन् तर चांडै उठ्नुपर्ने, हल्लीखल्ली हुने हुंदा निन्द्रा पर्दैन, दिनभरी काम गरेकोले ज्यान दुखेको हुन्छ त्यही भएर ओडारमा आयो मस्त सुत्यो, कसैले हल्लाखल्ला पनि गर्दैन, आनन्दसँग सुत्यो यसैमा आंफुलाई आनन्द छ’ उहाँले भन्नुभयो ।

परियार नियमित जसो काममा जानुहुन्छ । जसको काम गर्ने वा गरेको हो त्यसकैमा त्यही खाना खानुहुन्छ । दिनभरी काम गरे बापत दैनिक ४ सय रुपैँया पनि बुझ्नुहुन्छ । काम थोलेपछि नसकुञ्जेल छाडेर अर्कोको काममा पनि  लाग्दैनन् । त्यसकारण पनि उहाँलाई इमान्दार कामदारका रुपमा स्थानीयले माया गर्दछन् ।

केही समय स्थानीयबासिन्दाले खान, बस्न र लगाउन दिएर काम लगाए । तर उहाँ केही दिनमै ओडारमै फर्कनुभयो । गाउँ छाडेर ओडारमै फर्केपछि गाउँलेहरुले कामको ज्याला र खाना खाजा दिन थालेको परियारले बताउनुभयो । गाउँघरमा काम नपाएको बेला नजिकै रहेको सलाङघाट बजारका होटलमा भाँडा माझ्ने काम गरी खाने व्यवस्था मिलाउँदै आएको उहाँ बताउनुहुन्छ  । पुस महिनाको मुटु नै कमाउने चिसोमा पनि खुल्ला ओडारमा एउटा पातलो पछ्यौराको भरमा रात गुजार्दै आईरहेका परियार भाग्यमा भएको कुरा मात्रै आफ्नो हुने बताउनुहुन्छ ।

सानैमा बावु आमा गुमाएपछि  टुहुरो बन्नपुगेका परियारको पुख्र्यौली जमिन आफ्नै काकाले हडपेका कारण मुद्दा गरेर आफ्नो बनाएपछि स्थानीय पञ्चमुखी प्रा.वि (हालको मावि) लाई २०३७ सालतिर दान दिएको बिद्यालयका प्राधानाध्यापक डिल्ली पाठकले बताउनुभयो । श्रीमतीले पनि विवाह गरेको १५ महिनामा छाडेर  गएको र पुख्र्यौली सम्पत्तिबाट  वाँकी रहेको १ रोपनी जग्गा पनि आफ्नो बनाउन नसकेपछि विरक्तिएका परियार  पुख्र्यौली गाउं छाडेर निवुवाटार झर्नुभएको हो । निवुवाटार झरेको पनि २० बर्ष बितिसकेको परियार बताउनुहुन्छ । आफ्नो भन्ने कोही र साथमा केही नभएपछि  ६ वर्षदेखि ओडारको बास बस्नु परेको  परियारले बताउनुभयो ।

ओडारको बास भएपनि परियार ओडारमा खानेकुरा बनाएर खानुहुन्न । काकासँगबाट २ रोपनी जग्गा पनि पाउनुभएको थियो । एक्लो अवस्थामा रहेपछि जग्गा जमिन भएर मात्र पनि स्याहार पु¥याउन नसक्दा बाँझो बस्न थाल्यो । यस्तो अवस्थामा आफ्नो मनमा समाज सेवाको भाव पनि पलाएपछि १ रोपनी स्थानीय पञ्चमुखी प्रा.वि (हालको मावि) लाई २०३७ सालतिर नै दान सहयोग गरेको परियारले बताउनुभयो ।