अन्यौलका बिच धादिङ महोत्सवको तयारी अघि बढ्दै

635 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१ शुरु हुन केही घण्टा मात्रै बांकी रहेपनि धादिङ जिल्ला सदरमुकाम र यहांका व्यवसायीलाई महोत्सवको रौनकले छुन सकेको छैन । वजार क्षेत्रमा महोत्सवको प्रचार प्रसारको रौनक नदेखिएपनि महोत्सव स्थल नीलकण्ठ नगरपालिकाको रायटारमा मञ्च तथा स्टल निर्माण,रमाइलो मेलाको तयारी भने अघि बढिरहेको छ ।
SAM_6742 SAM_6746 SAM_6753 SAM_6756 SAM_6760दुई बर्ष देखि छुट्टाछुट्टै कार्यालयवाट गतिविधि संचालन गरिरहेका धादिङका दुई वटा उद्योग वाणिज्य संघ मिलेर संयुक्त रुपमा आयोजना गर्न लागिएको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१ भन्दा पनि दुई संस्था कसरी एउटै हुने भन्ने बिषयले व्यवसायीको ध्यान तानेको छ ।
धादिङ जिल्लामा २०४८ सालमा स्थापना भएको धादिङ उद्योग वाणिज्य संघमा आवद्ध एक हजार भन्दा बढी व्यवसायीहरु संस्थाको अधिबेशन तथा साधारण सभास्थलबाटै नितिगत एवम अन्य समस्या देखाउंदै २०६९ मंसिर ३० गते संस्था छाडेर वाहिरिएपछि सोही दिन उद्योग वाणिज्य संघ धादिङको गठन गरिएको थियो । समान उद्धेश्य र कार्य क्षेत्र भएका दुईवटा संस्था जिल्लामा सक्रिय भएपछि जिल्लाका उद्यमी व्यवसायीहरु पनि विभाजित हुन पुगेका थिए । दुई बर्ष सम्म एकले अर्काको विरोध गर्दै व्यवसायी हक हितका निम्ति एउटै उद्धेश्यका साथ काम गरिरहेका संस्थाहरु २०७१ मंसिर २२ गते एउटै भएर अघि बढ्ने दुई संस्थाका नेत्तृत्व बिच लिखित सहमती भएको थियो ।
दुई संस्था एक हुनु अघि दुईवटा महोत्सवको तयारीमा जुटेका उद्योग वाणिज्य संघले दुवै महोत्सवलाई एउटै वनाएर संचालन गर्ने बिषयमा पनि सहमती जनाएपछि पुस ७ देखि १७ गते सम्म मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१ हुन लागेको हो । दुई संस्था एकीकरण हुनु अघि धादिङ उद्योग वाणिज्य संघले पुस २ गते १३ गते सम्म धादिङबेसीमा चौथो धादिङ महोत्सवको घोषणा गरेको थियो भने उद्योग वाणिज्य संघ धादिङले पुस ७ गते देखि १७ गते सम्म मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ को घोषणा गरेको थियो । सदरमुकाम धादिङबेसीमा एउटै समयमा दुईवटा महोत्सव हुने तयारी बढ्दै गएपछि स्थानीय प्रशासन,सुरक्षा निकाय,राजनैतिक दल,अगुवा उद्यमी व्यवसायी तथा अन्य सरोकारवालाको पहलमा दुवै संस्थालाई एउटै वनाउन पहल गरिएको थियो । मंसिर २२ गते सांझ दुवै संस्था एकहुने लिखित सहमती भएपछि मंसिर २३ गते धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा दुवै संस्थाका अध्यक्षहरुले हात मिलाएर संस्था एकीकरण प्रक्रिया शुरु भएको घोषणा गरेका थिए ।
दुवै संस्था एक भएर आयोजना गर्न लागिएको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१ को तयारीमा तिव्रता नदेखिएपछि जिल्लाका उद्यमी व्यवसायी तथा अन्य सरोकारवालहरु समेत अन्यौलमा परेका छन । दुई संस्था एकीकरणका लागि आवश्यक नितिगत बिषयमा संस्थाका प्रतिनिधिहरु पटक पटक छलफलमा जुटेपनि निचोडमा पुग्न नसक्दा महोत्सवको तयारीमा प्रभाव पर्न गएको व्यवसायीहरु वताउंछन ।
अन्तिम समयमा आएर महोत्सवको तयारीलाई व्यवसायीहरुले तिव्र पारेपनि सोमवार सम्म तयारी सकिने हो या होइन भन्ने जिज्ञासा धेरैमा पलाएको छ । शनिवारवाट केही गति लिएको तयारीले निर्धारित मितिमा महोत्सव हुने संकेत देखाएपनि दुई संस्था एकीकरणका बिषयमा देखिएको नितिगत समस्या समाधान कसरी हुन्छ भन्ने धेरैको चासो बनेको छ । उद्योग वाणिज्य संघ धादिङमा आवद्ध रहेका ११ सय ५० भन्दा बढि सदस्यहरुलाई धादिङ उद्योग वाणिज्य संघमा कसरी व्यवस्थापन गर्ने, उनिहरुको सदस्यताको अवधि, मतदानको अधिकार,दुई संस्था बिचको सदस्यता शुल्कको अन्तरको कारण कुन शुल्कलाई आधार मान्ने भन्ने बिषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन ।