श्यामैडांडाका विपन्न चेपाङलाई सिरक र ज्याकेट

840 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0311धादिङ, १० पुस- धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने पिंडा गाविस श्यामैडांडाका विपन्न चेपाङलाई जाडोमा सिरक,ज्याकेट र चामल वितरण गरिएको छ । प्रवासी नेपाली मञ्च युके र दुवईको सहयोगमा विहीवार चेपाङ गाउँमै पुगेर ६८ थान सिरक,७२ थान ज्याकेट र २३ बोरा चामल वितरण गरेको हो ।
युके र दुवई वस्दै आईरहेका नेपालीहरुको पहलमा सिरक,ज्याकेट र चामल खरिद गरी अभियानकर्मीको तर्फवाट समाजसेवी शुष्मा राई र सूर्य चन्दको टोलीले पिडा गाविसको वडा नम्बर ६ श्यामैडाँडामा पुगेर बुधवार सहयोग सामाग्री वितरण गरेका थिए । अभियानका लागि अअमेरीका बस्ने झरना थापा र दुवई वस्ने सूर्य चन्दको बिशेष सहयोग रहेको र यस अघि काठमाण्र्डौका सडक वालवालिका र विभिन्न आश्रममा रहेका बृद्धबृद्धालाई पनि जाडोको कपडा र सिरक लगायतका सामग्रीहरु वितरण गरिसकेको अभियानकर्मी राईले वताउनु भयो ।
जिल्लामै सवैभन्दा बढी चेपाङ बसोवास रहेको क्षेत्र भएर पनि श्यामैडांडाका चेपाङलाई कुनै पनि सहयोगी संस्थाले सहयोग नगरेकोमा पहिलो पटक गाउंमै आएर विपन्न परिवारलाई सिरक, ज्याकेट र चामल बितरण गरेको भन्दै चेपाङहरुले खुसी व्यक्त गरेका थिए । श्यामैडांडाको चेपाङवस्तीका वारेमा जानकारी गराएर अभियान गाउँ सम्म ल्याउन धादिङ मुलपानीका उमेश थापाले बिशेष पहल गर्नुभएको अभियान टोलीका सदस्य राईले वताउनु भयो ।
सिरक पाएपछि चेपाङ परिवार खुसीले गद गद भएका थिए । सहयोग सामाग्री बितरणका लागि स्थानीय अगुवाहरुका साथै शशस्त्र प्रहरी वल आदमघाटका प्रहरी नायव उपरिक्षक हरिकृष्ण गिरी,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतको उपस्थिती रहेको थियो ।