एउटै गोडाको भरमा छमछमी नाच्दै रोमा

727 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
DSC_0014धादिङ-सामान्य अवस्थाका मानिसलाई एउटा खुट्टाको भरमा केहि बेर उभिनु पर्दा निकै सास्ती हुन सक्छ तर एउटामात्रै खुट्टा भएकी रोमा न्यौपाने भने त्यहि एउटा खुट्टाको भरमा छमछमी नाचेर लोकप्रिय बन्न सफल हुनुभएको छ ।
नेपालका विभिन्न शहर र गाउंबस्तिमा मात्रै होइन विदेशमा समेत पुगेर आफ्नो प्रतिभा प्रर्दशन गर्दै आइरहनुभएकी रोमा न्यौपानेले शनिवार धादिङमा आफ्नो प्रतिभा प्रस्तुत गरेर धेरैको मन पगाल्नु भएको छ । बैशाखीको सहारामा स्टेजमा उक्लिएर रोमाले कम्मर मर्काउन थालेपछि दर्शकहरुले तालीकोे पर्रा दिन थालेका थिए । धादिङबेसीमा जारी रहेको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा न्यौपानेले आफ्नो प्रतिभा देखाउनु भएको हो । विगतका बर्षमा पनि धादिङका धेरै कार्यक्रममा देखिनुभएका न्यौपाने शनिवार स्टेजमा आउनसाथ दर्शकहरु खुसीले रमाएका थिए ।
सुनसरी जिल्लाको इटहरीमा जन्मिएकी रोमाको एउटा खुट्टा दुर्घटनामा परेर गुमेको हो । इटहरीको जनता माविमा अध्ययनरत अवस्थामा ८ वर्षको उमेरमा सडक दुर्घटनामा परि खुट्टा गुमाउनु परेपनि रोमा दुवै खुट्टा भएकाहरुले जस्तै नाचेर देखाउनुहुन्छ । अपाङ्ग (फरक शारिरीक क्षमता भएका) हरुमा समेत विभिन्न प्रतिभाहरु लुकेर रहेको हुन्छ । तर उनीहरुलाई अपाङ्गता भएकै कारण बेवास्ता गर्नाले अगाडी आउन नसकेको कुशल नृत्यांगना न्यौपाने बताउनुहुन्छ । आधुनिक, लोक र राष्ट्रिय गीतमा नाच्ने गर्नुभएकी न्यौपानेले शनिवार मेरो बारुली कम्मर लचक्कै, नेपालकी छोरी हुँ म, आज बाह्र हाते पटुकीले, जस्ता गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो । ।
एउटै खुट्टाको भरमा सार्वजनिक कार्यक्रममा नाच्न थालेको पनि एक दशक भया रोमाले वताउनु भयो । पहिलोेपटक प्रज्ञा भवनमा गुराँस फुल्दा वनै घमाइलो बोलको गीतमा नाच्दा दर्शकतिर हेर्न नसकेर भुइँमा हेरेर एक खुट्टाले नाचेको अहिले पनि सम्झना रहेको रोमाले वताउनु भयो । पहिलो नाचवाट आंफुले पाएको दर्शकको मायाले गर्दानै आज सम्म यहि क्षेत्रमा रहन सकेको रोमाको भनाई छ । नाच्दै जांँदा धेरै मेहनत गरेकाले अहिले नाच्दा दर्शकलाई आफूतिर तान्न सक्ने भएको उहांको अनुभव छ । गुन्यु चोलीमा छमछमी नाचेको पहिलोपटक देख्नेहरू रोमाको एउटा खुट्टा छैन भन्ने पत्तै पाउँदैनन, उहाँको देब्रे खुट्टा छैन, दाहिने खुट्टाका भरमा नाच्ने गर्नुहुन्छ ।
शारीरिक अपांग भएकाले पहिला नाच हेर्नेहरू बिचरा भनेर सहानुभूति देखाउँथे, अहिले नाचमा निखार आएकाले सहानुभूति भन्दा पनि कलाप्रति सम्मान दर्शाउनेहरुको संख्या बढ्दै गएको उहांको बुझाई छ । एउटा मात्रै खुट्टा भएका कारण नाचेर जिवन निर्वाह गर्न सकिंदैन होला भन्ने लागेकोमा अहिले आएर त्यहि नाचले जिवन परिवर्तन ल्याईदिएको रोमाले बताउनु भयो । जन्मथलो इटहरी छाडेर काठमाण्डौं पसेपछि जीवनमा धेरै संघर्ष गर्नुभएकी रोमाले २०६० सालमा स्टेजमा नाच्ने अवसर पाउनु भएको थियो । २०६२ को नयाँ वर्ष नै उहाँका लागि जीवनको नयाँ मोड बनेर आएको हो । रोमाले टुँडिखेलमा देखाएको नृत्य तत्कालिन इजरायली राजदुत डन विन एलिजरले निकै मन पराएकाले । चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रमका अतिथि राजदुत एलिजरले इजरायलमा खुट्टाको उपचार र नाच देखाउने चाँजो मात्रै मिलाईदिएनन महिना दिनको उपचारपछि नक्कली खुट्टा राखेर रोमालाई नेपाल फर्काएका थिए । नाच्दा नक्कली खुट्टा लगाउन नमिल्ने भएकाले अरुवेलामा त्यहि नक्कली खुट्टाले हिंडडुल गरेपनि धेरैजसो बैशाखीकै भरमा हिँड्न मनपर्ने गरेको रोमा वताउनुहुन्छ ।
नृत्यमा मात्रै होइन रोमाले केही म्युजिक भिडियोमा पनि अभिनय गर्नुभएको छ । सकुन्जेल नाच्ने र अपांगता भएकाहरूको हितमा पनि काम गर्दै जाने उहांको योजना छ । देशको विभिन्न भागहरुमा भ्रमण गर्ने, मानिसहरुसँग भेटघाट र कुराकानी गर्ने शौख रहेको रोमाले वताउनु भयो । नृत्य प्रस्तुत गर्ने क्रममा छिमेकी राष्ट्र भारतका विभिन्न शहरहरु, मलेसिया , बेल्जियम, जर्मन, कुवेत, कोरीया लगायतका राष्ट्रहरुको भ्रमण गरिसकेको रोमाले जानकारी दिनु भयो ।