रामकोट सहकारीले एस.एम.एस सेवा दिने

658 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ramkot2धादिङ ,-धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर – ८ मा रहेको रामकोट बचत तथा ऋण सहकारी संस्था जिल्लामै पहिलोपटक आफ्ना सदस्यहरुलाई एस.एम.एस सेवा दिने भएको छ । संस्थाको शनिवार सम्पन्न ५ औं बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष हेमराज श्रेष्ठले सदस्यहरुको सुविधालाई मध्येनजर गरी एस.एम.एस सेवा प्रदान गर्न लागिएको बताएका हुन । यस सुविधाबाट सदस्यहरुले आफ्नो वचत, ऋण, ब्याज आफ्नै मोबाईलबाट जुनसुकै समयमा जानकारी लिन सक्ने श्रेष्ठले बताए ।
संस्थाले यस आर्थिक वर्ष देखी सहकारीहरु बीच आपसी समन्वय तथा सहकारीको सदस्यहरुलाई सेवा प्रदान गर्ने मुल उदेश्यले सदस्यहरुलाई ग्रामिण यातायात सहकारीसँग सहकार्य गरी धादिङ–काठमाडौ रुटमा १७ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

संस्थाले गत अर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७०÷०७१ मा ३६ प्रतिशतले कुल आम्दानी बृद्धि गरेको छ । यस आ.ब.मा संस्थाले कुल आम्दानी १४ लाख ११ हजार ८ सय ६८ रुपैँया गरेकोमा १२ लाख ४८ हजार ३ सय १४ रुपैँया खर्च भएको संस्थाका कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । जसबाट खुद मुनाफा २ लाख १३ हजार ५ सय ५४ रुपैँया भएको उनले जानकारी दिए । संस्थाले यस बर्ष जगेडा कोषमा ५३ हजार ३ सय ५२, शेयर लाभांस कोषमा ३२ हजार ३३, संरक्षित पुँजीफिर्ता कोष ६४ हजार ६६, कर्मचारी बोनस कोष ८ हजार ८, सहकारी विकास कोष २४ हजार २५, सहकारी शिक्षा कोष १६ हजार १७, घाटापुर्ती कोष ८ हजार ८ र डुवन्त ऋण कोष ८ हजार ८ रुपैँया यस वर्ष व्यवस्था गरेको संस्थाले जनाएको छ ।
आर्थिक वर्ष २०७०÷७१ को अषाढ मशान्त सम्ममा कुल पुँजी तथा दायित्व १ करोड ११ लाख ९३ हजार ८ सय ९६ रुपैँया भएको छ । जुन गत बर्षको तुलनामा ७० प्रतिशतले बृद्धि भएको हो । जसमा कुल शेयर पुँजी १५ लाख ८९ हजार ५ सय, जगेडा कोष २ लाख ३५ हजार ९ सय १९, अन्य कोष हिसाबमा ३ लाख १४ हजार ६ सय ३८, सदस्यहरुबाट बचत प्राप्ति ८८ लाख ४५ हजार ६ सय ३० रुपैँया, ऋण सुरक्षण कोष १ लाख ६४ हजार ३ सय ८१, भुक्तानी दिनुपर्ने हिसाब ४३ हजार ८ सय २८ रुपैँया रहेको जनाएको छ ।
संस्थामा हाल महिला ३ सय २६ जना र पुरुष २ सय ४५ जना सदस्य रहेका छन् । संस्थाले मातृशिशु स्याहार कार्यक्रम, सदस्यहरुलाई ५० हजारको आकस्मिक कोष लगायतका सामाजिक कार्य गर्दै आएको छ ।

संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरोन्नती गर्दै स्वावलम्बी, दिगो र आत्मनिर्भरता बढाउने अभिप्रायले २०६६ साल कार्तिक १० गते डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भएको थियो । ४ रुपैँया गाडिभाडाको बचतबाट शुरु भएको यो सहकारी हाल १ करोड ३० लाख हाराहारीमा कुल सम्पती र पुँजी तथा दायित्व रहेको वताईएको छ ।