तरकारीबाट वार्षिक एक अर्ब कमाइ

1126 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ— कृषक सुधार फलफुल तथा तरकारी उत्पादक सहकारी चरौंदीको रेकर्डमा बेनिघाट–५का राजन उप्रेतीले गत वर्ष तरकारी खेतीबाटै १९ लाख आम्दानी गरे। धुषा–१ का टेकबहादुर बस्नेतले गत वर्ष १४ लाख लिए। यो वर्ष १४ लाख त बन्दा बाटै लिइसके करेला र भण्टाबा ६ देखि ७ लाख थपिंदा यो वर्षको आम्दानी २० लाख पुग्नेछ नागरिक न्यूज डट कमले खबर लेखेको छ ।
1ec5e7d6541ab1da34a05071e294bbca_Lव्यवसायिक खेतीमा संलग्न टेकबहादुर भन्छन्, ‘तरकारी खेती गर्न थालेदेखि राम्रो आम्दानी लिँदै आएको छु। छोरालाई इञ्जिनियर र छोरीलाई फार्मेसी पढाएको छु । काठमाडौंमा घर घडेरी जोडेको छु । सहकारीबाट सात वर्ष देखि पुरस्कृत पनि हुँदै आएको छु।’राजन र टेकबहादुर जस्तै व्यवसायिक खेतीमा संलग्न कृषकहरुले उत्पादन गरेको तरकारीबाट धादिङ जिल्लामा वार्षिक एक अर्ब रुपियाँ भित्रिने गरेको छ। व्यवसायीक खेतीबाट लाखौं आम्दानी गर्न सफल कृषकको जीवनस्तरमा समेत निकै नै सुधार आएको छ । तरकारी खेती बाटै राजमार्ग क्षेत्र आसपासका बासिन्दा समेद्ध बनेका छन् ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार धादिङबाट दैनिक १८–२० ट्रक तरकारी काठमाडौं भित्रिने गर्छ। काठमाडौंबाट मात्रै दैनिक २५ देखी ३० लाखको हाराहारिमा नगद भित्रिने धादिङमा वार्षिक एक अर्व भन्दा बढी आम्दानी तरकारी बाटै हुने गरेको छ । राजधानीसंग जोडिएको धादिङले काठमाडौंको तरकारी बजारमा एक तिहाई बढी हिस्सा ओगट्दै आएको नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघका उपाध्यक्ष गिताप्रसाद आचार्य बताउँछन् । चितवन, पोखरा, बुटवल र भारतका विभिन्न सहरमा समेत धादिङको तरकारीले बजार पाएको छ ।

एक दशक अघिसम्म निर्वाहमुखी तरिकाले खेती गर्ने कृषक गाउँ गाउँमा मोटर बाटो खुलेसंगै व्यवासायीक तरकारी तथा नगदेबाली खेतीमा जुर्मुराएका छन्। हरिया सागपात तथा ताजा तरकरीका निम्त प्रख्यात रहेको धादिङले काठमाडौंको बजारमा ३१ प्रतिशत हिस्सा ओगट्न सफल छ । पृथ्वी राजमार्ग आसपासका फाँटबाट फैलिएको व्यवसायीक तरकारी खेती जिल्लाको उत्तरी भेगसम्म पुगेको छ । धादिङमा खासगरी घिउसिमी, बोडी, काउली, बन्दागोभी, गोलभेंडा, भण्डा, मटरकोसा, भेंडे खुर्सानि, काँक्रो, फर्सी, रामतोरी, बरेला, करेला, स्कुस, लसुन प्याज, अदुवा लगायत २५ देखि ३० प्रकारका हरियो तरकारीको खेती हुने गरेको छ ।

टायलघर, खानीखोला, नौबिसे, धार्के, महादेवबेसी, सिम्ले, बैरेनी, मासटार, आदमघाट, घाटबेसी, गजुरी, मलेखु, बुङचुङ, सलाङघाट, बेनिघाट, चरौदी र मझिमटारमा बाहै्र महिना तरकारी संकलन गरिन्छ । पोखरा, चितवन, काठमाडौं जस्ता ठुला शहरको बीच भागमा रहेको धादिङले उत्पादन गर्न सके मात्र पुग्छ यहाँ बजारको कुनै चिन्ता छैन जिल्ला कृषि विकास कार्यालयका प्रमुख होमराज विष्ट भन्छन स्वदेशी शहरको अलावा भारतका विभिन्न शहरमा धादिङको तरकारी पुग्ने गरेको छ ।

दुई दशक अघिसम्म ढुवानीको समस्याले पृथ्वी राजमार्ग वरपरका फाँटहरुमा मात्र गर्ने गरिएको तरकारी गाउँमा बाटो खुलेसंगै गाउँ गाउँमा फैलिएको छ । गाउँमा कच्चि सडक निर्माण हुँदा व्यवसायी तरकारी खेती गाउँसम्म पुग्न मद्दत मिलेको छ । काठमाडौंसंग जोडिएका नौबिसे, छत्रेदेउराली, जिवनपुरका बासिन्दा व्यवसायीक तकारी खेती गर्नेमा पहिलो स्थानमा पर्छन् ।

कृषकको पौरखबाट तरकारीमा समृद्ध बनेको धादिङमा राज्यको लगानी र प्रोत्साहन चित्त बुझ्दो नरहेको किसानहरुको गुनासो छ । मल विउ, किटनासश औषधी र ढुवानीमा सहुलियत पाए मात्र पनि आफैं अगाडी बढ्ने मनस्थितिमा कृषकहरु छन् । हामीले राज्यबाट सिपमुलक तालिम पाउन पनि सकेका छैनौं गोगनपानी गाविसको पुर्व अध्यक्ष एवं व्यवसायीक गोलभेंडा खेतीमा आवद्ध अगुवा कृषक भरत तामाङ भन्छन् । खानीखोला र गजुरीमा सिमित कर्मचारी रहेको सेवा केन्द्र छ, त्यो पनि परम्परागत रुपमा खद्यान्नको विउ वितरण, सामान्य परामर्श दिन बाहेक व्यवसायीक रुपमा खेती गर्ने कृषकको पहुँचमा छैन ।

अहिले पनि सिंचाई हुने खेत तथा फाँटहरुमा हिउँदमा र वर्षादको मौसममा टार तथा पाखो बारीमा खेती हुँदै आएको छ । आधुनिक प्रणालीको खेती गर्ने सिप नहुँदा परम्परागत रुपमा रुमल्लिन बाध्य छन् । घर खर्च चलाउन सजिलोका निम्ति सुरु भएको तरकारी खेती जिल्लाको प्रमुख आम्दानीको स्रोतको रुपमा परिणत भैसकेको छ । पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघले एक जिल्ला एक उत्पादन घोषणा कार्यक्रम अन्तर्गत धादिङलाई तरकारीको पकेट क्षेत्र बनाउने लक्ष्य लिएको छ । धादिङ उद्योग वाणिज्य संघसंग साझेदारीमा गोलभेंडाको सस, पेष्ट, अचार बनाउने मेसिन र कोल्ड स्टोरमा लगानी गर्न करिव चार करोड बजेट खर्च गर्न लागिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

पछिल्लो समय केही संघ संस्थाको पहलमा जिल्लामा प्लाष्टिक घर भित्र तथा टनेल बनाएर खेती सुरु भएको छ । प्याक्टको सहयोगमा अर्गानिक कृषि सहकारी संस्था महादेवबेसीले ३८ जना कृषक मार्फत बेमौसमी अर्गानिक गोलभेंडा खेती गर्दै आएको छ । कृषककै अगुवाईमा अर्गानिक उत्पादन पनि सुरु भएको छ । अर्गानिक उत्पादनमा लम्किन खोजेका किसान लगानी अनुसार बजारको ग्यारेण्टी नहुँदा निराश भएको अगुवा कृषक शिव अर्याल बताउँछन् ।

स्वतस्फुर्त खेती गर्दै आएका करिव १५ प्रतिशत किसानले मात्र तरकारी खेती गर्दे आएका छन् । जिल्ला विकास समिति धादिङले आवधिक योजनामा जिल्लाको कुल गार्हस्थ उत्पादनमा ४६ प्रतिशत आम्दानी कृषिबाट हुने उल्लेख गरेको छ । यसमा सबै भन्दा बढी तरकारी खेतीबाटै आम्दानी हुने गरेको छ ।

धादिङमा ५७९५ हेक्टर जमिनमा व्यवसायीक तरकारी खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । खाद्यान्न तथा तरकारी उत्पादनका दृष्टिले धादिङ समृद्ध मानिन्छ । यहाँको ४६ प्रतिशत खेति गरिएको जमिनमा सिंचाई पुगेको छ ।